सिन्धुपाल्चोकमा भीषण पहिरो, फेरि थुनियो भोटेकोशी, जम्बु बजार नै बग्यो, १६ जना वेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबिसेमा भीषण बाढी आएको छ । बाढीले अरनिकाे राजमार्ग ठाउँ ठाउँमा अवरुद्ध भएकाे छ । साथै जम्बु बजार नै बगाएकाे बताइएकाे छ । बाढीमा परेर कम्तिमा १६ जना वेपत्ता भएका छन् । बाढीले भाेटेकाेशी नदी थुनिएकाे र हाइड्रोपावरमा पनि क्षति पुर्याएको छ ।

जिल्ला प्रहरी कार्यालयले जिल्लाकाे जम्बु र भोटेकोशी गाउँपालिकामा पहिराे गएकाे क्षेत्रमा प्रहरी परिचालन गरिएकाे र क्षतिकाे विवरण संकलन तथा उद्धार कार्य जारी राखेकाे जनाएकाे छ । बाढीले जम्बु बजारका अधिकांश घर बगाएकाे र बजार नै प्रभाव पारेकाे बताइएकाे छ ।

बाढीले अरनिको राजमार्ग अन्तर्गत जुरे पहिरो नजिक क्षति पुर्याएकाे छ । सडक भत्किएपछि अरनिको राजमार्ग अवरुद्ध भएकाे छ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल र डाडे खाेलकाे पुल नै बाढीले बगाएकाे छ । पक्की पुल नै बगाएपछि त्यहाँ आवतजावत पूर्णरुपमा बन्द भएको छ । पुलभन्दा करिब आधा किलोमिटर अगाडि वडा नं. ५ र ८ को बीचमा पनि केही घरहरु बाढीले बगाएको छ ।

अहिलेसम्म २ जनाकाे शव भेटिएकाे र बाँकी वेपत्ता भएकाे प्रहरीले जनाएकाे छ । भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले बर्कुटे भन्ने स्थानमा एक घर परिवार वेपत्ता भएको जानकारी दिएका छन् । त्यस क्षेत्रबाट १० दिनको एक शिशु र अर्का एक बच्चाको उद्धार गरिएको प्रहरीले जनाएकाे छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार बाह्रबिसेमा राति साढे १२ बजे भोटेकोशी नदीको जलसतह ०.५ मिटर घटेर १२ः५० बजे एक्कासी १.१ मिटर बढेको थियो ।

माथिल्लो तटीय क्षेत्रमा भोटेकोशी केहीबेर थुनिएको र बाँध फुटेर आकस्मिक बहाव आएको हुन सक्ने अनुमान बाढी सूचना केन्द्रले गरेको छ । केन्द्रले भोटेकोशी–सुनकोशी नदी तटीय क्षेत्रमा विहान १० बजेसम्मै सतर्कता अपनाउन आग्रह गरेको छ ।’

बिहीबारदेखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान मौसमविदले गरेका छन् ।

Loading...