कोरोना महामारीको प्रभाव र सामाजिक मनोविज्ञानको अवस्था

करिव साढे पांच महिना अघि देखी चिनको वुहान प्रान्तबाट फैलिएको कोभिड 19 अर्थात कोरोना भाइरस ले विस्वभर ४४३४६५३ मानिसहरु संक्रमित भएका छन भने यसको संक्रमणबाट बाल बच्चा, दिर्घरोगी, वृद्ध उमेर समुहका मानिसहरु आजसम्म कूल ३०२१६९ जना संक्रमितले कोरोना संक्रमणबाट मृत्यु हुन पुगेका छ्न । यस महामारीले मानिसको जिवन लाइ लामो समय सम्म असर पर्ने गरी नै विस्वभर कोरोना फैलिएको छ । यसको मुख्य चपेटामा विस्वका अधिकांश मुलुक र शक्तिसाली मुलुक नै शुरुमा चीन र हाल अमेरिका, इटाली, स्पेन, फ्रान्स लगायत भारत समेत गरी शक्तिशाली मुलुकले नै यस महामारीको सामना गरिरहेका छन् । नेपाल जस्तो अल्पविकसित र स्वास्थ्य क्षेत्र अन्य देशको तुलनामा निकै कमजोर रहेको हाम्रो मुलुकमा हिजोसम्म २९५ संक्रमित र २ जनाको मृत्यु समेत भएको छ भने भयावह फैलिने निश्चित जस्तै देखिन्छ ।

लेखक

यो विषम परिस्थितीबाट हाम्रो समाज गुज्रिरहेको छ । कोरोनाको कारणले गर्दा दिनहुँ मानिसको मानसपटलमा अनेकौ कुराले घचघचाइरहेको यो अवस्थामा नेपालमा यसको न्यूनीकरणका लागी अवलम्बन गरिएको पहिलो चरणको लकडाउन ले खासगरी श्रमजीवी वर्ग र विपन्नताको संकटबाट गुज्रिएका परिवार नै यसको मुख्य चपेटामा परेका छ्न । दिनभर काम गरेर छाक टार्ने समुहका मानिस नै यसको मुख्य शिकार भएको देख्न र सुन्न पाइन्छ । शुरु चरणमा गरेको लकडाउनको आकारलाइ सिंगो समाजले यसको आकार कस्तो होला आँकलन गर्न सक्दैनथे नै । यो जब बढ्ने संकेत देखा पर्दै गयो त्यसपछि स्थानीय तहमा रहेका सरकारका जनप्रतिनिधिले यसको भविष्यको भारबारे आउने दिनमा के होला भन्ने अन्दाज गर्न नखोज्नु र लकडाउन को साता नपुग्दै सस्तो लोकप्रियताको लागि चालीस पचास रुपैयाँको खुद्रा सामान बाँढेर सामानको तस्विर सामाजिक संजालमा राखेर रमिता देखाउनुले समेत भन्न सकिन्छ हामीले संकटको अवस्थामा समेत आफ्नो समाजलाइ निराश हुन नदिने भविष्यद्रष्टा भिजनरी नेतृत्व पाउन सकेनौ । यसको मार जनताले खेप्नुपर्ने निश्चित जस्तै देखिन्छ । जसको कारणले गर्दा खान नपाएर आत्महत्या गरेका थुप्रै अप्रीय घटना सुन्नुपर्यो र देख्नु पर्यो । करिव दुइ महिनाको लकडाउनको मार खेप्नुपर्ने यो अवस्थासम्म आइपुग्दा झेल्नु परेका थुप्रै समस्याका चाङ हाम्रो सामु छ्न भने लकडाउन भएको एक हप्तामै खुद्रा राहत बाँड्ने नेतृत्वले अब समाजलाइ कुन दिशातर्फ लैजाला ? मुख्य सवाल अब देखिनेछ । जनताको हरेक चिन्तनले सोच्नुपर्ने अवस्था नयाँ ढङ्गले विकसित हुनुपर्ने देखिन्छ ।

पहिलो चरणको लकडाउनको कारणले सामाजिक रुपमा मानिसको कोरोनाप्रतिको दृष्टिकोण निकै नै डरलाग्दो थियो भने केही हल्का रुपमा लिनेको ठूलै जमात समेत थियो । यसको मुख्य कारण सामाजिक संजाल टिभी रेडियो लगायतका संचारका साधन नै सिंगो विश्वलाइ एउटा गाउँ बनाइदिएकै कारणले थियो । सबैखाले सुचना प्रवाह क्षणभरमै संसारभर पुग्थे । त्यही क्रममै चीन, इटाली, स्पेन, फ्रान्स, अमेरिका र भारत लगायतका मुलुकमा पछिल्ला दिनमा संक्रमितको संख्या ह्वातै बढ्नु र मानिसहरु सो संक्रमणबाट मृत्यु भएका लासहरु छरपस्ट देखिनुले मानिसको अन्तिम अस्तित्वको लडाइसँग मानिस जुधिरहेको छ भन्ने लाग्दथ्यो । जताततै लास गाड्ने ठाउँ समेत नपुग्ने घटनाले हाम्रो समाजको मनोविज्ञान र यसबाट कसरी बच्ने र स्वास्थ्य क्षेत्रका विज्ञहरुबाट यसबाट बच्ने कुरा अवलम्बन गर्नुपर्ने कुरामा बढी ध्यान केन्द्रित थियो। हाम्रो देशमा विश्वमा कोरोनाको चपेटामा परेको देशको उदाहरणले हामीलाइ सिक्नुपर्ने पाठ र समय प्रशस्त नै दिएको थियो । तर पनि यसको रोकथाममा ब्रेक गर्ने उपाय रोज्न राज्यले नसक्नु र नागरिक स्वयम नसक्नुले नागरिकले स्वतन्त्रताको नाममा कर्तव्य बिर्सनुले नेपाली समाज यसको मुख्य चपेटामा पर्ने खतराका संकेतहरु देखा परेका छ्न।

नेपालमा खासगरी कोरोनाको मनोवैज्ञानिक सामाजिक असरलाइ अझ बढी मजवुत भएर जीवन निर्वाह गर्ने र उत्पादनसँग जोडिने प्रेरणा त कोरोनाबाट प्राप्त भएको पाउन सकिन्छ । सामान्य भन्दा सामान्य रुपमा यस रोगलाइ लिनुपर्ने सामाजिक धाराणा समेत निर्माण भएर मानिस बाँच्न सकिन्छ भन्ने दृढ्ता पैदा भएको केही सामाजिक मनोविज्ञान सजिलै पाउन सकिन्छ। कोरोनाको कारणले मानिसलाइ हरेक कुरा सापेक्षतामा निर्भर हुने कुरातर्फ डोर्याएको र नकारात्मक भन्दा सकारात्मक तवरले लिँदा संक्रमित भैहाले पनि ठीक हुन्छ भन्ने मनोविज्ञान र आत्मविस्वास थपिदै गएको छ। तसर्थ केही दिर्घ रोगी बृद्ध मानिस सुत्केरी महिला शल्यक्रियाका बिरामी भने यसबाट जोगिनु नै उनीहरुको मुक्ति हुने र जीवन बाँच्ने छ भन्ने आम धारणा पाइन्छ ।

दोश्रो अन्तिम पटकको लकडाउनसम्म आइपुग्दा सामाजिक मनोविज्ञान सकारात्मक नै थियो भने पछिलो संक्रमित संख्या एकै दिन सयको हाराहारीमा पुग्ने गरी बढ्नुले थप चिन्ता थपिदै गएको छ । यसको मुख्य जिम्मेवारी पक्ष नै लकडाउन खुकुलो हुनु र नागरिकले संकटमा आफ्नो स्वतन्त्रता खोज्नु नै मुख्य जिम्मेवार रहेको छ । कोरोनालाइ रोकथाम गर्नुपर्ने अवस्थाका माझमा अधिकांश समस्या थपिनुले ढोका बन्द गर्ने र झ्याल खुल्ला राख्ने प्रवृति राज्यको निकायबाट नै भएको देखिन्छ । अस्पतालमा आउने शल्यक्रिया लगायतका बिरामी र संभावित जोखिमयुक्त ठाउँबाट आएका बिरामीको पिसिआर नगरी उपचार अघि बढाइनुले थप समस्या देखिने र थप कोरोना फैलिन सक्ने सम्भावना बढेर जाने देखिन्छ । उपचारमा संलग्न स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न राज्यले नसक्नु नै कोरोनाको संक्रमण फैलिन दिने प्रमुख कारक हुन भन्न सकिने प्रशस्त आधार रहेका छ्न । यसरी हेर्दा उपचारमा संलग्न स्वास्थ्यकर्मी घर आउने जाने गर्दा उसमा देखिएको संक्रमण देखिन थाले भने उसको परिवार छरछिमेक पसल लगायतका ठाउँमा यसको जोखिम बढदै जाने देखिन्छ । यसको मुख्य दोषी को हुने ? उदाहरणका लागि त्रिवि शिक्षण अस्पतालमा छ वर्षीय बालिकामा संक्रमण देखिएसँगै त्यहाँको न्युरो वार्ड शील गरेको र स्वास्थ्यकर्मीलाइ क्वारेन्टाइनमा राखेको समाचार त आयो । तर वार्डपिच्छे स्वास्थ्यकर्मी आवतजावत गर्ने सवारी साधन त त्यहाँ थिएनन । त्यसो हुँदा सो वार्डमा आउनेजाने र अन्य वाडमा काम गर्ने समेत सँगै आवतजावत गर्दा कति सम्भावित जोखिम बढ्यो ? यतातर्फ पटक्कै ध्यान नदिएको पाइयो। तसर्थ यस्ता सामान्य कुरामा समेत ध्यान नदिँदा स्वास्थ्यकर्मी सुरक्षित राख्न नसक्नाले रोग भयावह फैलिने हो भने त्यसको जिम्मेवार को हुने ? तसर्थ निश्चित रोग र वार्ड पिच्छेका स्वास्थ्यकर्मीलाइ निश्चित परिधिमा रहने गरी अस्पताल वा कुनै होटलमा राख्ने र आवतजावत सहज हुने गर्न किन नसकिने ? राज्य, अस्पताल प्रशासन र स्वास्थ्य विज्ञको सल्लाह अनुसार कन्ट्र्याक ट्रेसिङ गरेर सम्भावित जोखिमका स्वास्थ्यकर्मी कोरोना देखिएको वार्ड बाहेक अन्य वार्डमा हुँदैनन भन्ने आधार के ? सँगै आवतजावत गर्ने र एउटै यातायातको साधन प्रयोग गर्दै अस्पतालसम्म सबै वार्डमा कार्यरत स्वास्थ्यकर्मी जाने भएपछि वार्ड फरक भएर संक्रमित हुने सम्भावना कम हुने आधार के ? सोही वार्डमा मात्र सम्भाव्य कोरोना संक्रमित खोज्ने तरिका अवलम्बन गर्दै गर्दा कति मानिस थप संक्रमित हुन्छ्न बेलैमा ध्यान दिनु जरुरी छ । साथै अझै थप चुनौती अवश्य नै निम्तिने देखिन्छ। स्वास्थकर्मी नै उच्च जोखिममा रहेका छन् भन्दै जाने र बुझेकै आधारमा उनीहरुको व्यवस्थापनमा चुकियो भने यसको परिणाम सिङ्गो देशले भोग्छ । तसर्थ स्वास्थ्यकर्मी नै संक्रमित भए भने उनीहरुको परिवार समाज हुँदै छरछिमेक कसरी बच्न सक्ला भन्नेतर्फ सरकारले ध्यान दिनु जरुरी छ । अन्यथा कोरोनामा ब्रेक लगाउन सकिएला भन्ने आधार देखिदैन । तसर्थ सम्भावित जोखिमलाइ ध्यान दिएर कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीको व्यवस्थापन र उनीहरु प्रति उत्तरदायी बन्नु नै हो । यसरी हेर्दा अस्पतालमा आउने संभावित जोखिमयुक्त ठाउँका बिरामीहरुको पिसिआर गरी स्वास्थोपचारतर्फ ध्यान दिनु जरुरी छ । यो पनि एक कोरोना ब्रेक गर्ने काममा बहु उपयोगी सूचक मानिने नै देखिन्छ। तसर्थ स्वास्थ्यतर्फका स्वास्थ्य सिपाहीको व्यवस्थापनमा ध्यान नदिंदा पारिवारिक वातावरण सामाजिक वातावरण कस्तो हुन्छ सोच्नु पर्दैन ? मनोविज्ञान उच्च राख्नेतर्फ ध्यान दिँदा राम्रो हुने कि ? यी बाहेक उत्पादनतर्फ प्रत्यक्ष जीवन निर्वाहसँग जोडिएका उत्पादनका साधन र कृषि उत्पादनतर्फ ध्यान नदिँदा भोकमरि व्यहोर्नु नपर्ला भन्न सकिदैन ।

कोरोनाको प्रभाव खुल्ला सीमानाको कारणले गर्दा पनि थप चुनौतीको रुपमा हाम्रो सामु खडा भएको छ । यसलाइ ब्रेक गर्न पछि आउने दिनमा के कुरालाइ आधार मानिएको थियो भन्ने कुरा स्पष्ट नहुने र कोरोनाको यात्रा कहाँ पुगेर ठप्प होला ? आँकलन गर्न नसकिने हुँदा केही गरी खाने वर्गले यस लकडाउनको पालना गर्लान् भन्ने लाग्दैन । मान्छे आफ्नो स्वतन्त्रता खोज्नेतर्फ उत्प्रेरित गर्नेतर्फ लाग्ने अनुमान लगाउन सकिन्छ । कोरोना संक्रमणकाे समयाबधि निकै लामो हुन सक्ने हुँदा अहिले आम जनता राज्यको अनुशासनलाइ पालना गरेका छन् । व्यक्तिगत स्वतन्त्रतालाइ कैद गराएका छ्न । तसर्थ सामाजिक मनोविज्ञानलाइ हेर्दा गरिखाने समूहका लागि ठोस कदम चाल्नुपर्ने बाँझो जमिन उपयोग निति प्रारम्भ गर्नुपर्ने बिउविजन बितरण कार्यलाइ तीव्रता दिनुपर्ने जस्ता कार्यहरु अवलम्बन गर्ने कुरामा ध्यान जानुपर्छ भन्ने आम नागरिक र खास गरिखाने वर्गको माग देखिन्छ । सामान्यतया सामाजिकिकरणको अभ्यास गर्नु नै कोरोना पराजित गर्ने शुत्र र जीवन निर्वाहको बाटो हुन सक्छ ।

संंसार जीवित छ । श्रोत र साधन देश अनुसार फरक छ्न । राज्य व्यवस्थामा थप जिम्मेवारी पर्न सक्ने हुँदा केही समयावधिको लागि मानवीय अस्तित्व, मानवीय सक्रियता शरिरको कृयाशीलता अनुसन्धानमूलक खोज फरक बिधामा तर्क र बहस उत्पन्न भइरहेको छ भन्ने कुरा कोरोनाकै प्रभाव हो भन्न सकिन्छ । यस संकटमा स्वास्थ्यमा हुने समस्यालाइ मध्यनजर राखी दीर्घ रोगी, वृद्ध मानिस र बालबच्चाको राम्रो स्याहार सुसार गर्ने गरी स्वास्थ्य उपचार वर्गिकरण गरी गर्नुपर्ने देखिन्छ । खासगरी ब्ल्याक डेथ र प्लेग रोग जस्ता महामारीले करोडौं मानिसको मृत्यु भएको इतिहास विश्व समुदाय माझ छ । यसलाइ सम्झिएर कोरोना मुक्त पार्ने अभिभारा र सक्रिय जीवनशैली निर्धारण गर्ने कार्यतर्फ ध्यान जानु जरुरी देखिन्छ । यसरी कोरोनाको प्रवृतिलाइ हेर्दा यसको आकार र गति अनुमानभन्दा बाहिर रहेको हुँदा थप चुनौती बन्दाबन्दी रहिरहनु पर्ने अवस्थाले मनोरोग बढ्ने, गरिबी बढ्ने, सामाजिक कलह उत्पन्न हुने, लागु औषध दुर्व्यसनीमा फस्ने, खाद्य सन्तुलनको भण्डारमा ह्रास आउने, जी.डी.पी. ओरालो लाग्ने, राजस्व घट्ने, आर्थिक वृद्धिदर करिव एक दशमलव पाँचमा झर्ने, अर्थतन्त्र धरासायी हुने, कालो बजारी बढ्ने, उद्याेग धन्दाको पुनर्जीवन नहुने, जस्ता दुरगामी असर भोग्दै लामो समयको महामारीका कारण शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र, राजनीतिक क्षेत्र, आर्थिक क्षेत्र लगायतका क्षेत्रमा निकै ह्रास आउन सक्ने र समाज गुज्रनुपर्ने देखिन्छ । यिनै खाले प्रवृतिले सामाजिक मनोविज्ञान निकै खतरामा पुग्न सक्ने देखिन्छ। तसर्थ यसबाट बच्नका लागि अनुशासन, समन्वयकारी नीति, जागरण अभियान, अन्य मुलुकले अबलम्बन गरेका कोरोना विरुद्धको गतिविधि अवलम्बन गर्ने, सहुलियत बैंकिङ ऋण प्रदान र ब्याजदर घटाउने, स्वास्थ्य क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीको रोकथाम नहुन्जेल अस्पतालमा बस्ने वातावरण मिलाएर हौसला प्रदान गर्ने, सुरक्षा क्षेत्रमा खटिएका सुरक्षाकर्मीलाइ अन्य कर्मचारीको तलब काटेर भए पनि उचित प्रोत्साहन प्रदान गर्ने जस्ता कार्यले कोरोनालाइ जित्न सकिने आधार सूचक निर्माण हुन सक्छ्न। यसतर्फ राज्यको ध्यान जानु आजको जरुरी छ । सामाजिक न्याय हुने मार्ग पनि यही हो भन्न सकिन्छ।