कुलिङ अफ पिरियड’ मा संसदीय छानबिन समिति, यी हुन् सात सदस्यहरु

काठमाडौं । ‘कुलिङ अफ पिरियड’ प्रकरणमा अन्ततः संसदीय छानबिन समिति गठनमा सहमति भएको छ ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे पहलमा बसेको कार्य ब्यवस्था समितिको बैठकमा ७ सदस्सीय छानबिन समिति बनाउने सहमति भएको हो ।

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम (८) बमोजिम ‘संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समिति’ गठन गरिएकाे हाे । साे समितिले २१ दिनकाे समय सिमा पाएकाे छ । 

सो छानबिन समितिमा दलीय आधारमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य रहनेछन् ।

जसअनुसार नेपाली कांग्रेसवाट जीवन परियार र सुशिला थिंग, एमालेवाट सांसद नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती रहेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट माधव सापकोटा, राप्रपावाट रोशन कार्की र रास्वपाबाट गणेश पराजुली समितिमा परेका छन् ।  

संघीय निजामती सेवा बिधेयकमा सहमति बिपरित ‘कुलिङ अफ पिरियड’ हटाएर संसदमा प्रतिबेदन पेश गरेको भन्दै राज्य ब्यवस्था समितिका सभापति रामहरी खतिवडा र सचिव दुरा माथी छानबिन गर्न माग पछि सो समिति गठन गरिएको हो ।