रातारात राजपा र समाजवादी मिलेर जन्माए नयाँ पार्टी, मध्यरातमा कसरी भयो यस्तो निर्णय

काठमाडौं, १० बैशाख । बहुनेतृत्वमा चलिरहेका तराइ मधेशमा आधार बनाएका दुई दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच मध्यरातमा अप्रत्यासित एकीकरण गर्ने निर्णय भएको छ । आन्तरिक रुपमा विवादले फुट्न थालेका दुई दल एकाएक मिलेपछि धेरैले यसप्रति आश्चर्य व्यक्त गरेका छन् ।

मध्यरातमा गरिएको सहमति अनुसार अब एकीकृत पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल हुनेछ । त्यसैगरी ‘एकिकृत पार्टीको झण्डा समाजवादी पार्टीले प्रयोग गर्दै आएको आयातकार आकारमा रातो र हरियो रंगको बीचमा तारा हुनेछ’ । त्यस्तै एकीकृत पार्टीको चुनाव चिन्ह राजपा नेपालले प्रयोग गर्दै आएको छाता हुनेछ।

सहमति पत्रमा समाजवादी पार्टीका तर्फबाट बाबुराम भटराई, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ र राजपा नेपालका तर्फबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव र शरत सिंह भण्डारीले हस्ताक्षर गरेका छन् । सहमति पत्रमा राजपा नेपालको अध्यक्षमण्डलका सदस्यहरु राजकिशोर यादव र अनिल झाको हस्ताक्षर भने छैन।

सहमति पत्रमा हस्ताक्षर गरेर सबैले फोटो समेत खिचेर सार्वजनिक गरेका छन् । तर, हस्ताक्षरपछि खिचाइएको सामुहिक फोटोमा राजपाका दुई नेता राजकिशोर यादव र अनिल झा भने देखिएका छैनन्।

दलहरु टुक्राउन भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अचानक ल्याएको अध्यादेशले राजनीति तरंगित भइरहेका बेला यी दुई दलले भने एकीकरण गर्ने निर्णय गरेका हुन् । यसअघि पनि यी दुई दलकाबीच एकीकरणको प्रयास हुँदै आएको थियो । तर, यसअघिको सहज अवस्थामा हुन नसकेको एकीकरण कोरोना महामारीका कारण गरिएको यस्तो लकडाउनको बेला कसरी भयो धेरैले आश्चर्य मानेका छन् । राष्ट्रपतिले समेत सत्तारुढ दल तथा अन्य राजनीतिक पार्टीहरुसँग सुइको नै नदिएर सुटुक्क प्रमाणित गरी जारी गरेको अध्यादेशले राजनीतिक पार्टीहरुलाई फुटाउन सहज बनाइएको थियो । सरकारले सोमबार पारित गरेको अध्यादेशले कुनै पार्टीको केन्द्रीय कमिटी वा संसदीय दलको ४० प्रतिशत सदस्यले चाहेमा सो पार्टी विभाजन गर्न सक्ने प्रावधान ल्याएपछि पार्टी विभाजन सहज भएको हो।

यसअघिको प्रावधानअनुसार कुनै पार्टीको केन्द्रीय सदस्य र संसदीय दल दुवैतर्फका ४० प्रतिशतले चाहेमा मात्र कुनै दल विभाजन गरी नयाँ दल गठन हुन सक्थ्यो । नयाँ प्रावधानअनुसार समाजवादी पार्टीका सांसदहरुले ४० प्रतिशत पुर्‍याई नयाँ पार्टी गठन गर्ने तयारी गरेको सुइँको पाएर राजपा र समाजवादीबीच एकीकरणको सहमति भएको हो।

यसअघि राजपा नेपाल धेरै पटक विभाजनको संघारमा पुग्दै रोकिएको थियो भने समाजवादी पार्टीकी उपाध्यक्ष रेणु यादव, सचिव इस्तियाक राइ लगायतले नयाँ दल गठन गर्ने तयारी गरेको बताइएको थियो। उनीहरुले नयाँ दल गठन गर्नुअघि नै दुई दलबीच एकीकरण गरिएको हो। अब नयाँ पार्टी दर्ता भएपछि त्यसबाट छुट्टिन चाहनेले एकिकृत पार्टीको ४० प्रतिशत पुर्याए मात्र दलको मान्यता पाउनेछ । तर, रेणु पक्षले पनि प्रयास जारी राखेको बताइएको छ।

एकीकरण गर्ने पक्षभन्दा पहिले नै नयाँ दल गठन गर्ने पक्ष निर्वाचन आयोग गएर दर्ता गर्न भ्याएमा त्यसले मान्यता पाउनेछ।

स्रोतहरुका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादीबाट फुटेका सांसदहरुको पहिले नयाँ दल गठन गर्ने र त्यसपछि नेकपामै प्रवेश गराउने योजना अनुसार अध्यादेश ल्याएका हुन्। त्यहि चाल पाएर राजपा नेपाल र समाजवादीबीच एकीकरण गरिएको हो।

Loading...