विश्वभर (कोभिड-१९) संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ सय ७५ जनाको मृत्यु

काठमाडौँ, ५ चैत । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड -१९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय युरोपेखि मुलुकहरुमा तीव्र गतिमा फैलिरहेको छ । अहिले चीनमा नयाँ संक्रमण लगभग शून्य जस्तै भएको छ । तर युरोपको इटाली र स्पेनमा भने महामारीको रुप लिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर एक लाख ७९ हजार ११२ जनामा संक्रमण पुष्टि भएका छ ।

त्यसमध्ये पछिल्लो २४ घण्टामा ११ हजार ५२६ जना नयाँ संक्रमित थपिएका हुन् । यस्तै विश्वभर हालसम्म ७ हजार ४ सय २६ जनाको मृत्यु भएकोमा पछिल्लो २४ घण्टामा ४ सय ७५ जनाको मृत्यु हो । क्षेत्रगत हिसाबमा हेर्दा पश्चिमी प्यासिफिक क्षेत्रमा हालसम्म ९१ हजार ७७९ जनामा संक्रमण पुष्टि भएकोमा पछिल्लो २४ घण्टामा २८९ जनामा नयाँ संक्रमण देखिएको डब्लुएचओले जनाएको छ ।

सो क्षेत्रमा हालसम्म तीन हजार ३५७ जनाको मृत्यु भएकोमा पछिल्लो २४ घण्टामा २३ जनाको मृत्यु भएको हो । यस्तै हाल विश्वव्यापी महामारीको इपिसेन्टरका रुपमा रहेको युरोपेली क्षेत्रमा अहिलेसम्म ६४ हजार १८९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा युरोपेली क्षेत्रमा ८ हजार ५०७ जनामा नयाँ संक्रमण देखिएको हो ।

युरोपमा अहिलेसम्म तीन हजार १०८ जनाको मृत्यु भएको छ । सो क्षेत्रमा पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या ४२८ रहेको छ । डब्लुएचओले सावधानी अपनाउन सचेत गराएको दक्षिण पूर्वी एसियामा अहिलेसम्म ५०८ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । यो क्षेत्रमा पछिल्लो २४ घण्टामा १२४ जना नयाँ संक्रमित भेटिएका छन् । यस्तै कुल ९ जनाको मृत्यु भएकोमा पछिल्लो २४ घण्टामा दुईजनाको ज्यान गएको हो ।

पूर्वी भूमध्यसागरमा अहिलेसम्म १६ हजार ७८६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये पछिल्लो २४ घण्टामा ३३० जना संक्रमित थपिएका हुन् । यस्तै यो क्षेत्रमा हालसम्म ८७३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या तीन रहेको डब्लुएचओले उल्लेख गरेको छ । अमेरिकी क्षेत्रमा हालसम्म चार हजार ९१० जनामा संक्रमण पुष्टि भएको मध्ये पछिल्लो २४ घण्टामा २२ सय ३४ जना संक्रमित थपिएका हुन् । यस्तै यो क्षेत्रमा कुल ६८ जनाको मृत्यु भएकोमा पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको संख्या १८ रहेको छ ।

अफ्रिकी क्षेत्रमा भने हालसम्म सबैभन्दा कम २२८ जनामा संक्रमण पुष्टि भएको छ । तर पछिल्लो २४ घण्टामा ४२ जना नयाँ संक्रमित भेटिएका हुन् । यस्तै यो क्षेत्रमा कुल चारजनाको कोरोनाका कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा यो क्षेत्रमा मृत्यु हुनेको संख्या एक रहेको डब्लुएचओले उल्लेख गरेको छ ।

Loading...