(कोभिड–१९ ) को संक्रमण दक्षिण पूर्वी एसियामा फैलन सक्ने डब्लुएचओको चेतावनी

एजेन्सी, चिनबाट फैलिएको कोरोना भाइरसको संक्रमणलाई लिएर विश्व स्वास्थ्य संगठनले दक्षिण पूर्वी एसियाली देशका लागि कडा चेतावनी जारी गरेको छ । कोभिड–१९ को संक्रमण बिस्तार हुन नदिनका लागि गरिएका प्रयासहरुलाई तत्काल सघन र प्रभावकारी बनाउन नसकिए अवस्था भयावह हुने भन्दै डब्लुएचओले दक्षिण पूर्वी एसियाली देशलाई सचेत गराएको हो ।

संक्रमण तीव्र गतिमा बिस्तार हुँदै गएको र अवस्था नाजुक बनेका लागि तत्काल कोरोना भाइरसविरुद्धका प्रयासहरुको दायरा फराकिलो बनाउनु पर्ने उसको भनाई छ । डब्लुएचओको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले भनेकी छन्, ‘अवस्था तीव्र गतिमा बिग्रँदै गएको छ । हामीले तत्काल भाइरस धेरै मानिसमा फैलिन नदिनका लागि अपनाउने सावधानीहरुलाई बढाउनु पर्छ ।’

(कोभिड–१९) को संक्रमण केही क्षेत्रमा तीव्र गतिमा बिस्तार भएको देखिएको र अहिले निगरानी गरिएको भए पनि थप बिस्तार हुन नदिनका लागि राष्ट्रिय तथा समुदाय स्तरमा एकीकृत प्रयासको खाँचो रहेको उनले बताएकी छन् । उनले भनेकी छन्, ‘हामीले स्पष्ट रुपमा धेरै काम तत्काल गर्नु पर्ने देखिएको छ।’

डब्लुएचओले दक्षिण पूर्वी एसियाली क्षेत्रका रुपमा परिभाषित गरेका ११ मध्ये ८ देशमा कोरोना भाइरसको संक्रमण देखिएको छ । थाइल्याण्डमा सबैभन्दा धेरै १७७ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै इन्डोनेशियामा १३४, भारतमा १२५, श्रीलंकामा १९, माल्दिभ्समा १३ तथा बंगलादेशमा पाँचजनामा संक्रमण पुष्टि भएको छ । यस्तै नेपाल र भुटानमा एक–एकजनामा संक्रमण देखिएको डब्लुएचओले जनाएको छ । नेपालमा चीनबाट आएका एक व्यक्तिमा कोरोनाको संक्रमण देखिएको थियो, तर उनी उपचारपछि निको भएर यसअघि नै घर फर्किएका छन्।

Loading...