कोरोना संक्रमणबाट विश्वभर ज्यान गुमाउने सात हजार १५७ पुग्यो

एजेन्सी, ४ चैत । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड- १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वव्यापी महामारी घोषणा गरेको छ । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि कडा प्रतिबन्ध र अन्य प्रयासहरु भइरहँदा पनि युरोपेली देशहरुमा संक्रमण फैलने र ज्यान गुमाउनेको संख्या तीब्र रुपमा बढिरहेको छ ।

इटलीमा एकै दिन थप ३४९ जनाले ज्यान गुमाउँदा भाइरसका कारण इटलीमा ज्यान गुमाउनेको संख्या दुई हजार १५८ पुगेको छ । सङ्क्रमित हुनेको संख्या २७ हजार ९८० पुगेको छ । स्पेन, जर्मनी, फ्रान्स, बेलायत, स्विजरल्याण्ड, नेदरल्याण्ड, नर्वे लगायतका देशमा ज्यान गुमाउने र नयाँ सङ्क्रमित थपिने क्रम बढिरहेको छ । युरोपियन युनियन (ईयू) ले सबै सदस्य देशहरुमा नाका बन्द गर्ने घोषणा गरेको छ ।

बेलायतमा सबैलाई सामाजिक जीवनबाट टाढा बस्न भनिएको छ भने फ्रान्सले पनि सबैलाई घरमै बस्न र पारिवारिक जमघट समेत नगर्न भनेको छ । जर्मनीले पसल तथा सामाजिक ठाउँहरु बन्द गराएको छ । यस्तै युरोप बाहिरका देशमा पनि कोरोनाको सङ्क्रमण बढेसँगै कडा प्रतिबन्धहरु लगाइएका छन् । अमेरिकाले १० जनाभन्दा धेरै मानिस भेला हुन रोक लगाएको छ भने रेस्टुरेन्ट, होटल तथा भिडभाडमा नजान सबैलाई अनुरोध गरेको छ ।

वुहानबाट शुरु भएको भाइरसको सङ्क्रमण अहिलेसम्म विश्वका एक सय ६२ देशमा पुगेको छ । मङ्गलबार बिहानसम्म एक लाख ८२ हजार चार सय १२ जनामा सङ्क्रमण भएकोमा ७९ हजार सय ११ जना सङक्रमित उपचारपछि निको भएका छन् । ज्यान गुमाउनेको संख्या सात हजार एक सय ५७ पुगेको छ ।

यसैबीच अमेरिकामा मानिसमा कोरोना भाइरसविरुद्धको खोपको परीक्षण शुरु गरिएको छ । उच्च प्रविधिको प्रयोग गरेर बनाइएको खोप ४५ जना स्वस्थ मानिसमा प्रयोग थालिएको बीबीसीले जनाएको छ । तर खोपले काम गर्ने वा नगर्ने बारेमा थाहा पाउन अझै केही महिना लाग्ने बताइएको छ ।

Loading...