प्रअ र उनकी छोरीको मृत्युपछि काभ्रेमा अनिश्चितकालीन कर्फ्यु

भक्तपुर, ४ फागुन । टिपरको ठक्करबाट आमाछोरीको ज्यान गएपछि तनावग्रस्त बनेको काभ्रेको पनौतीमा कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले पनौतीको चारकिल्लामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले कर्फ्यु आदेश जारी गरिएको बताए । बिहान ९ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको उनको भनाइ छ । प्रजिअ तिमिल्सिनाका अनुसार पनौतीको पूर्व शंख जानेबाटोको चौकीसम्म ८०० मिटर क्षेत्र र पश्चिममा कुशादेवी जानेबाटोको १ किलोमिटरसम्म कर्फ्यु आदेश जारी गरिएको छ । त्यस्तै, बनेपा जाने ठाडोबाटोको १ किलोमिटर क्षेत्र र देखाञ्चोकतर्फको १ किलोमिटर मिटर क्षेत्रमा पनि कर्फ्यु लगाइएको छ ।

सोमबार पनौतीमा बा५ख ५४८० नम्बरको टिपरले ठक्कर दिँदा खानीखोला गाउँपालिका–१ की २६ वर्षीय जुनीमाया तामाङ र ३ वर्षीय छोरी स्मारिकाको मृत्यु भएको थियो। मृतक जुनीमाया खानीखोला–१ स्थित कालिका प्राथमिक विद्यालयकी प्रधानाध्यापक समेत हुन् । जुनीमाया र उनकी छोरीको मृत्युपछि आक्रोसित आफन्त र स्थानीय प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शन उत्तेजित बनेपछि प्रहरीले नियन्त्रणमा लिन बल प्रयोग गरेको थियो । सोमबार प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा प्रहरी हवल्दारसहित ६ प्रहरी र ३ स्थानीय घाइते भएका थिए भने प्रहरीले अश्रुग्यास प्रहारका साथै हवाई फायर समेत गर्नु परेको थियो ।

Loading...