दलहरुबीच सहमति हुन नसकेपछि मतदानबाट टुंगो लाग्दै प्रदेश २ को राजधानी

जनकपुरधाम, ४ चैत। प्रदेश २ को स्थायी राजधानी र नामाकरण टुंग्याउनका लागि दलहरुबीच सहमति हुन नसकेपछि मतदानबाट टुंगो लाग्ने भएको हो ।
प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न आज बिहान ८ बजे प्रदेशसभाको बैठक बोलाइएपनि अझ १०ः३० बजेसम्म सुरु हुन सकेको छैन् । बैठकमा प्रदेशसभाका सदस्यहरुलाई अनिवार्य उपस्थितिका लागि सभामुखले रुलिंग समेत गरेका छन् ।

विभिन्न दलका प्रतिनिधि सम्मलित समितिले जनकपुरधामलाई स्थायी राजधानी तोक्न सर्वसम्मतले निर्णय गरे पनि नामाकरणमा भने सहमति जुट्न सकेको छैन । स्थायी राजधानीबारे समितिमा सहमति जुटे पनि प्रक्रिया पूरा गर्न मतदान गर्नुपर्ने संबैधानिक व्यवस्था छ ।

प्रदेशको नामकरणको लागि सत्तापक्ष पार्टी समाजवादी र राजपा नेपालले ‘मधेश प्रदेश’, प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ‘जानकी’ र प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘मिथिला’प्रस्ताव गरेको छ । तर पछि गएर समितिको बैठकमा नेपाली कांग्रेस र नेकपाले आ-आफ्नो प्रस्तावमा लचकता देखाउँदै आफुले प्रस्ताव गरेको नाममा मधेश जोडन सहमत भए तापनि सत्तापक्षको अडान कायम नै रहेपछि समितिमा प्रदेशको नाममा सहमति जुटन सकेको छैन् ।

नामकरण सम्बन्धमा सत्तापक्षको अडान कायम रहेपछि गणितीय हिसाबले दुई तिहाइ पुग्ने सम्भावना न्यून देखिएको छ । नामकरण र राजधानीको प्रस्ताव पारित गराउन दुई तिहाइ संख्या र्पुयाउनु पर्ने संवैधानिक व्यवस्था छ । प्रदेश २ मा सत्तासीन समाजवादी पार्टीको ३०, राजपाको २५, नेकपाको ३२, नेपाली कांग्रेसको १९ र नेपाल संघिय समाजवादी पार्टीका एकजना प्रदेशसभा सदस्य छन् । दुई तिहाइको संख्या पुर्याउन कम्तीमा ७१ मत आवश्यक पर्नेछ ।

Loading...