प्रदेश ५ सरकारले भारतबाट आउने गाडीलाई नाकामा कडाइ

काठमाण्डौँ, ३० फागुन । प्रदेश ५ सरकारले भारतबाट आउने गाडीलाई नाकामा कडाइ गर्ने भएको छ । कोरोना संक्रमण रोक्न पूर्व तयारीका लागि आवश्यक सबै संयन्त्र परिचालन गरेको छ । कोरोना संक्रमण रोक्न सामाजिक विकास मन्त्रालय तथा त्यस अन्तर्गतका स्वास्थ्य निर्देशनालय तथा सुरक्षाकर्मीहरु सकृय भएका छन् ।

प्रदेश ५ मा भारतको सीमा क्षेत्रबाट ठूलो संख्यामा आवतजावत हुने भएकाले प्रदेश ५ मा कोरोना संक्रमणको जोखिम उच्च छ। दाङ, बाँकेको रुपैडिया नाका, रुपन्देहीको बेलहिया नाका, नवलपरासी, कपिलवस्तु र बर्दियाबाट सहजै भारत आउन जान सकिने भएकाले यी नाकामा कडाइ गर्न थालिएको छ ।

प्रदेश सरकारले संक्रमणको जोखिमबाट बच्‍न भारतबाट आउने गाडीलाई प्रदेशमा प्रवेश नदिने जनाएको छ । भारतमा कोरोना संक्रमण देखिएकाले भारतबाट आउने र नेपालबाट भारत जाने सार्वजनिक सवारीका साधन रोक्न प्रदेश सरकारले निर्देशन समेत दिएको छ। भारतमा कोरोना संक्रमणबाट एक जनाको मृत्यु भइसकेको छ ।

कोरोना संक्रमण रोक्नका लागि सामाजिक विकास मन्त्रालयले हालसम्म गरेका क्रियाकलाप तथा निर्णयहरु जानकारी गराउँदै मन्त्री सुदर्शन बरालले नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण भने देखा नपरिसकेको जानकारी दिए।

प्रदेश ५ अन्तर्गत पर्ने प्रादेशिक स्तरका ४ वटा सरकारी तथा ४ वटा मेडिकल कलेज र प्रदेशका १२ वटै जिल्ला अस्पतालहरुसँग आवश्यक परेको खण्डमा बेड खाली गराई संक्रमितलाई राख्न सक्ने गरी तयारी गरिएको बताए ।

Loading...