संक्रमणको त्रास बढेसँगै सरकारले दैनिक १० हजार मास्क उत्पादन गर्ने

काठमाडौं, २७ फागुन । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको त्रास बढेसँगै सरकारले दैनिक १० हजार मास्क उत्पादन गर्ने भएको छ । बजारमा भइरहेको मास्क अभाव टार्न सरकारले सो उत्पादन सुरु गरेको छ ।

स्वास्थ्य मन्त्रालय र नेपाल चेम्बर आफ कमर्ससँगको सहकार्यमा दैनिक १० हजार थान मास्क उत्पादन हुनेगरी तयारी भइसकेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठका अनुसार मास्क उत्पादनका लागि कच्चा पदार्थको व्यवस्थापन भइसकेको छ । दुई दिनपछि नै दैनिक १० देखि २० हजार मास्क उतपादन हुने उनले बताए ।

मास्क मात्रै होइन (कोभिड-१९) संक्रमित बिरामीको नजिक जाने चिकित्सक र अन्य व्यक्तिले प्रयोग गर्नैपर्ने पीपीई अर्थात व्यक्तिगत सुरक्षा सामग्री पनि नेपालमा उत्पादन हुन थालिसकेको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले बताए । उनका अनुसार उत्पादित पीपीई हाल विश्व स्वास्थ्य संगठनमा गुणस्तर जाँचका लागि पठाइएको छ ।

Loading...