कोरोनाभाइरस: हप्तौँपछि दर्जनौँ विदेशी कूटनीतिज्ञले उत्तर कोरिया छोडे

क्वारन्टीनको अवधि सकिएपछि स्वीडनका राजदूतले आफ्नो तस्बिर ट्विटरमा हाल्दै आफू खुसी भएको उल्लेख गरेका छन् कोरोनाभाइरस सङ्क्रमण फैलिने आशङ्कामा उत्तर कोरियामा केही हप्तादेखि क्वारन्टीनमा बस्न बाध्य पारिएका झन्डै ६० विदेशी नागरिकहरूले प्योङ्‌याङ छोडेका छन् । उनीहरूलाई लिएर एक महिनाभन्दा बढी समयपछि एउटा विमान रुस गएको एनके न्यूजले जनाएको छ ।

उत्तर कोरियाको उक्त राष्ट्रिय ध्वजावाहक विमान सुदूरपूर्वी रुसको भ्लादिभोस्तोकमा सोमवार बिहान अवतरण गरिसकेको छ । कोरोनाभाइरस सङ्क्रमण फैलिने डरले उत्तर कोरियाले राजधानी प्योङ्‌याङमा भएका सयौँ  विदेशी नागरिकलाई क्वारन्टीनमा बस्न निर्देशन दिएको थियो । उत्तर कोरियामा अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमण फेला परेको पुष्टि भएको छैन । तर केही विज्ञहरू त्यसप्रति शङ्का व्यक्त गर्छन्।

उत्तर कोरियाको सीमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप खेपिरहेका चीन र दक्षिण कोरियासँग जोडिएको छ। स्थानीय समायनुसार बिहान ८:४० बजे प्योङ्‌याङबाट उडेको र भ्लादिभोस्तिकमा १०:४७ मा अवतरण गरेको विवरण फ्लाइटअवेअर वेबसाइटले प्रकाशित गरेको छ । उक्त विमानमा कम्तीमा ६० कूटनीतिज्ञ र कूटनीतिक नियोगका कर्मचारीहरू भएको बताइन्छ। उनीहरू कसरी र कहिले आफ्नो देश जान्छन् भन्ने स्पष्ट छैन।

धेरै दूतावास बन्द
उत्तर कोरियाका लागि ब्रिटिश राजदूतले सोमवार बिहान ट्वीट गर्दै जर्मन दूतावास र फ्रान्सको कार्यालयका सहकर्मीहरूलाईू बिदा गर्दा आफू दुस्खी भएको लेखेका छन् । राजदूत कोलिन क्रूक्सका अनुसार अन्य दूतावास अस्थायी रूपमा बन्दै हुने भए पनि ब्रिटिश दूतावास खुला रहनेछ । उनले कर्मचारीहरूलाई विमानस्थल लैजाँदै गरेका दुईवटा सवारीसाधनको तस्बिर ट्विटरमा प्रेषित गरेका छन्।

उत्तर कोरिया सरकारले झन्डै ३८० विदेशीलाई कम्तीमा ३० दिन क्वारन्टीनमा बस्न लगाएको थियो । तीमध्ये अधिकांश प्योङ्‌याङस्थित विदेशी नियोगमा कार्यरत कूटनीतिज्ञ र कर्मचारी थिए । तर अहिले पनि विदेशीहरूलाई रेस्टुराँ, पसल, व्यायामशाला र होटलमा जान तथा स्थानीय बासिन्दासँग भेटघाट गर्न नदिइएको एनके न्यूजले उल्लेख गरेको छ।

अन्तर्राष्ट्रिय समुदायबाट विभिन्न प्रतिबन्ध खेपिरहेको उत्तर कोरियामा ठूलो महामारी फैलिए बिरामीको उपचार गर्न पर्याप्त क्षमता नभएको आशङ्का व्यक्त गरिएको छ । अहिलेसम्म विश्वभरि १,०७,००० भन्दा बढी मानिसमा कोरोनाभाइरसको सङ्क्रमण र झन्डै ३,६०० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

Loading...