काठमाडौं । एकहप्ता चल्ने भनिएको कारखाना शैक्षिक मेला स्थगित भएको छ । सार्वजनिक जमघटबाट टाढा रहन सरकारले गरेको अपिललाई ध्यानमा राखेर सुरक्षालाई प्राथमिकता दिँदै मेला स्थगित गरिएको आयोजकले जनाएका छन् ।
फाल्गुन २४ गतेदेखि चैत १ गतेसम्म मेला सञ्चालन हुने तय भएपनि स्थगित गरिएको हो ।
मेला स्थगित भएपनि कारखानाको कार्यालयमा आएर शैक्षिक साम्रगीको अवलोकन भ्रमण गर्न सकिने कारखानाले स्पष्ट पारेको छ ।
बालबालिकाहरुका लागि सिकाइका अनुभवहरू डिजाइन गर्ने मेकरस्पेसको रुपमा चिनिएको कारखानाले पाठ्यक्रममा आधारित भएर शैक्षिक सामग्री निर्माण गर्ने र सिकाइलाई फरक ढङ्गले अगाडि बढाउन प्रयास गर्दै आइरहेको छ ।
हाल काठमाडौंका अलावा पोखरा, विराटनगर, बुटवल, चितवन साथै भारत, बंगलादेश, दुबई तथा अन्य दक्षिण एसियाली देशहरुमा पनि कारखानाका कार्यक्रमहरु फैलिएका छन् ।
६० जना उस्तै विचारधाराका भएका व्यक्तिहरूको टोलीले यो संस्था चलाउँदै आएका छन् । कारखानाले प्रत्येक हप्ता लगभग ६००० जना विद्यार्थीहरूलाई स्टीमका (STEAM-Science, Technology, Engineering, Arts & Design, Mathematics ) कार्यक्रमहरू संचालन गरी, पढाइ सामग्री (किट्स)का मध्यमबाट सिकाइलाई सहजीकरण गर्दै आइरहेको छ ।
सन् २०१२ सालमा स्थापना गरिएको कारखानाको मुख्य उद्देश्य भनेको बालबालिकाहरूलाई विज्ञान र प्रविधि प्रयोग गर्ने रचनात्मक तरिकाहरू देखाउँदै, केही बनाउदै पढ्न सिकाउने भएको जनाइएको छ ।
हरेक कक्षाकोठा नै ल्याब हुन् भन्ने मान्यता बोकेको कारखानाले किताब र विज्ञान विषयको पढाइ सामग्री विशेषगरी शिक्षकले भोग्ने चुनौतीलाई सोचेर तयार पार्दै आइरहेको छ ।
बालबालिकाले आफ्नो ज्ञानलाई किताबभन्दा बाहिर पनि विस्तार गर्नुपर्छ भन्ने कुरा कारखानाले जोड दिँदै आएको छ ।
बालबालिकालाई रमाइलो लाग्ने खालका विषय प्रविधि, गेमिङ, रोबोटिक्स, एनिमेसन, क्राफ्ट जस्ता कार्यक्रम तयार परेर बालबालिकाहरुलाई सफ्ट स्किल र क्रिटिकल थिङ्किङ सिकाउन काम कारखानाले गर्दै आइरहेको छ ।