काठमाडौं । बुधबार रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि पत्रकार तथा उनीहरूका परिवारका सदस्यसमेत सम्पर्कविहीन भएको भन्दै नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले तत्काल खोजी तथा उद्धार गर्न सरकारसँग अपिल गरेको छ।
महासंघ उपत्यका प्रदेश समितिले शनिबार प्रेस विज्ञप्तिमार्फत बाढीमा सम्पर्कविहीन पत्रकार तथा नागरिकको तत्काल खोजी र सकुशल उद्धार गर्न सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको हो।
महासंघका महासचिव आशिष गजुरेलद्वारा प्रकाशित विज्ञप्तिमा भोटेकोशी बाढीपछि नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका सदस्य पत्रकार शेखर ढुंगाना र उनका परिवारका तीन सदस्य, नयाँ पत्रिका दैनिकका पत्रकार टेकबहादुर (टेकराज) थामी, शिलापत्र मिडिया नेटवर्कका प्रकाशक सुरेश सिंखडा तथा राटोपाटीकर्मी निराजन पौडेलको परिवारका पाँच सदस्य सम्पर्कविहीन रहेका छन्।
त्यस्तै, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य पत्रकार केशव न्यौपानेसहित ठूलो संख्यामा नागरिक रसुवाको कालिकामा उद्धार तथा राहतको प्रतीक्षामा रहेको र खाद्यान्न अभाव भएको समेत महासंघले जनाएको छ।
महासंघले सम्पर्कविहीन पत्रकार तथा नागरिकको तत्काल खोजी गरी सकुशल उद्धार गर्न र बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, औषधि तथा अत्यावश्यक राहत सामग्री तत्काल पुर्याउन आग्रह गरेको छ।
त्यसैगरी बाढी प्रभावित क्षेत्रमा समाचार संकलन तथा रिपोर्टिङका लागि खटिएका पत्रकारलाई सहज र सुरक्षित वातावरण उपलब्ध गराउन महासंघले सम्बन्धित निकायसँग आग्रह गरेको छ। साथै, महासंघका सम्पूर्ण सदस्यलाई पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै आवश्यक सुरक्षा सावधानी अपनाएर मात्र पत्रकारिता गर्न अपिल गरिएको छ।
महासंघ उपत्यका प्रदेश समितिकी अध्यक्ष रोजिना थापा कार्कीले विपद्को समयमा पत्रकार तथा नागरिकको जीवनरक्षालाई प्राथमिकतामा राख्दै खोजी, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन विज्ञप्तिमार्फत आग्रह गरिएको बताइन् । उनले पत्रकारलाई पनि सुरक्षा सावधानी अपनाउन सचेत गराइएको जानकारी गराइन् ।






