निजी विद्यालयलाई सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्न माग गर्दै इस्टुको धर्ना


काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले सबै निजी विद्यालय र त्यसमा कार्यरत शिक्षककर्मचारहिरुलाई सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्न माग गर्दै कोषमा धर्ना दिएको छ ।

देशैभरीका ८ हजार ५ सय बढी निजी विद्यालय र त्यसमा कार्यरत २ लाख बढी शिक्षक कर्मचारीहरुलाई कोषमा सूचिकृत गरिनुपर्ने माग राख्दै इस्टुले सोमबार कोषको सचिवालयमा धर्ना दिएको हो ।

संस्थागत विद्यालयहरुमा कार्यरत शिक्षक, कर्मचारीहरुलाई सरकारले तोकेको पारिश्रमिक तथा सबैखालका सुविधा अनिवार्य प्रदान गरिनुपर्ने, शिक्षा ऐन, नियमावलीमा व्यवस्था भएबमोजिम विद्यालय व्यवस्थापन समिति बनाइनुपर्ने तथा ऐनमा नबाझिने गरी विद्यालय विनियमावली बनाएर हकअधिकारको सुनिश्चितता गरिनुपर्ने इस्टुको माग छ ।

निजी विद्यालयका सञ्चालकहरुले कोषमा सुचिकृत हुन आनाकानी गरेपछि सृचिकृत हुन दबाब दिने उद्देश्यले कोषको सचिवालयमा एकदिने  धर्ना बसेको इस्टुका अध्यक्ष होमकुमार थापाले जानकार दिए ।

सामाजिक सुरक्षा आफुहरुको मौलिक अधिकार भएकाले आफ्नो मौलिक अधिकार प्राप्तिका लागि हामी कडा आन्दोलनमा जान तयार रहेको अध्यक्ष थापाले चेतावनी दिए ।

इस्टुको यस मागहरुलाई पूरा नगरिए प्याब्सन, एनप्याब्सन र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा धर्ना दिने र अन्तिममा देशभरका निजी विद्यालय बन्द गरिने इस्टुका उपाध्यक्ष भोला चालिसेले जानकारी दिए ।

एसइइ परीक्षा र भर्ना अभियान नजिकिएकाले सरकारले त्यसमा कडाइ गरेर भएपनि प्याब्सन र एन प्याब्सनलाई कोषमा सुचिकृत हुन दवाव देओस भनेर धर्ना बसेको चालिसेले स्पष्ट पारे ।

उता, नीजि तथा संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन र एन प्याब्सनले भने केही नीतिगत अस्पष्टताका कारण सबै नीजि तथा संस्थागत विद्यालयहरु तत्काल योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचिकृत हुन नसकेको जनाएका छन् ।

यस्तै, सामाजिक सुरक्षा कोषले भने रोजगारदाताहरुलाई कोषमा सूचिकृत गराउन बिस्तारै विश्वस्त पार्दै लगेको जनाएको छ । कोषकी निर्देशक रमा भट्टराईले कोषले रोजगारदाता तथा श्रमिकहरुलाई कोषमा सूचिकृत गराउन कन्भिन्स गर्दै लगेको जानकारी दिइन् ।

सामाजिक सुरक्षा नयाँ नीति भएकाले पनि यसबारे आम मानिसलाई बुझाउन अझै केही समय लाग्ने उनको भनाइ छ । जबरजस्ती गर्ने भन्दा पनि सामाजिक सुरक्षा योजनाको महत्व बुझाएर कोषमा ल्याउने अभियानमा आफूहरु रहेको उनले जानकारी दिइन् ।

भट्टराईका अनुसार कोषमा हाल १२ हजारभन्दा बढी रोजगारदाता र १ लाख ५० हजारबढी श्रमिक सूचिकृत भएका छन् ।

इस्टुको धर्ना कार्यक्रममा एक्यबद्धता जनाउन नेपाल शिक्षक महास.घको टोली धर्ना स्थल पुगेको थियो । महासंघको टोलीमा महासंघका अध्यक्ष बाबुराम थापा, सहअध्यक्ष पूर्ण दवाडी, महासचिव लक्ष्मीकिशोर सुवेदी, उपमहासचिव झम्क चौलागाई, एकीकृत नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारीलगायत थिए । महासंघका महासचिव सुवेदीले इस्टुको धर्ना र मागमा एक्यबद्धता जनाएका थिए ।

Loading...