कोरोना त्रास: नेकपाको प्रदेश १ कार्यकर्ता भेला स्थगित

काठमाडौं, २० फागुन । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रदेशस्तरीय भेला तथा प्रशिक्षण स्थगित गरेको छ । पार्टी केन्द्रीय किमिटीको निर्णय अनुसार मङ्गलबार झापामा प्रदेश १ स्तरीय भेला तथा प्रशिक्षण आयोजना गरिएको थियो ।

सरकारले आइतबार मात्रै सभा, सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्न आह्वान गरेकाले प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण स्थगित गरिएको नेकपा प्रदेश १ का अध्यक्ष देवराज घिमिरेले जानकारी दिए । ‘अहिले यस्तो अवस्थामा भेला तथा बैठक गर्न उपयुक्त नहुने देखेर पुर्व निर्धारित कार्यक्रम स्थगित गरिएको हो ।

उपयुक्त समयमा फेरि अर्को निर्णय गरेर कार्यक्रम राखिनेछ’, अध्यक्ष घिमिरेले रातोपाटीलाई जानकारी दिए । नेकपाले प्रदेश १ को कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम झापाको बिर्तामोडमा आयोजना गरेको थियो । त्यसका लागि अगुवा कार्यकर्ता झापा पुगिसकेका थिए ।

Loading...