कोरोनाभाइरस (कोभिड–२०१९) त्रास विश्वभरि नै

कोरोनाभाइरसको उच्च जोखिममा नेपाल पनि रहेको बताइएपनि उक्त सङ्क्रमणको रोकथामका लागि पूर्वतयारीमा चुनौती देखिएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य आपत्‌कालीन कार्यसञ्चालन केन्द्रका प्रमुखका अनुसार सरकारले पूर्वतयारीका लागि देखिएका जटिलता अध्ययन गर्ने क्रम जारी रहेको छ।

कोभिड–२०१९ नाम दिइएको खतरनाक कोरोनाभाइरसको उद्गम मानिएको चीनमा कोरोनाभाइरस सङ्क्रमितहरुको सङ्ख्या दिनानुदिन घट्दै गइरहेको सुखद् खबर आउँदै गर्दा सोही भाइरसको सङ्क्रमण विश्वका अन्य विभिन्न देशहरुमा नसोचेको ढङ्गले देखापर्न र फैलिन थालेको दुःखद् खबर पनि सँगसँगै आउन थालेको छ ।

कोरोनाभाइरस सङ्क्रमणको फैलावटको अहिलेको गति अत्यन्तै अप्रत्यासित, खतरनाक र अकल्पनीय बन्दै गइरहेको छ । यो स्थितिमा नियन्त्रण पाउन भइरहेको कठिनाइलाई हेर्दा चाँडै नै विश्व कोरोनाभाइरसको खतरनाक महामारीको चपेटामा पर्न सक्ने सम्भावना बढ्दै गइरहेको छ ।

कोरोनाभाइरस सङ्क्रमणको अहिलेको स्थितिलाई विश्व स्वास्थय सङ्गठनले औपचारिक रूपमा ‘वैश्विक महामारी’ (धयचमि उबलबमझष्अ) को स्थिति घोषित त गरिसकेको छैन तर स्वास्थ्यविज्ञहरुले अहिले विश्व कोरोनाभाइरस महामारीको सँघारैमा पुगिसकेको चेतावनी दिन थालेका छन् । अहिलेको दरमा कोरोनाको सङ्क्रमण फैलिँदै जाने हो भने यसले विश्वमै ठूलो सङ्कट निम्त्याउने चिन्ता प्रकट हुन थालेको छ ।

सुरुमा चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोनाभाइरसको सङ्क्रमण विश्वका थुप्रै मुलुकमा फैलिइसकेको छ । यतिखेर यो सङ्क्रमण युरोप मध्यपूर्व र संसारका अन्य भागलाई चीनभन्दा पनि बढी गाँज्दै लगेको छ । पछिल्ला तथ्याङ्कअनुसार यो सङ्क्रमणले दक्षिण कोरिया, इरान, इटालीलाई चीनपछि सबैभन्दा बढी गाँजेको छ । महादेशको हिसाबले भन्दा यो अन्टार्कटिकाबाहेक बाँकी ६ वटै महादेशमा फैलिइसकेको छ ।

हालसम्म संसारभरि ८३,३८१ जनामा कोरोना सङ्क्रमण देखापरिसकेको छ भने २,८५८ जनाको मृत्यु भइसकेको छ । त्यसो त सङ्क्रमितमध्ये पनि बिहीबारसम्मा ३६,५८७ जना निको पनि भएका छन् । तीमध्येमा ३६,११७ जना त चिनियाँ नै छन् । स्मरण रहोस्, चीनमा हालसम्म सङ्क्रमितको सङ्ख्या ७८,८२४ र मृत्यु हुनेको सङ्ख्या २,७८८ पुगिसकेको छ ।

यतिखेर संसारभरिकै स्वास्थ्य विज्ञहरुलाई चिन्तित तुल्याएको एउटा तथ्य के हो भने कोभिड–२०१९ को उद्गमस्थल मानिएको चीन आफैमा सङ्क्रमणको दर घट्दै जाँदा त्यो सङ्क्रमणले चीनलाई नै माथ गर्ने गरी विश्वका विभिन्न भागहरुमा चाहिँ फैलिँदै गइरहेको छ ।

Loading...