हुम्लामा अझै पुगेनन पाठ्यपुस्तक

हुम्ला, ९ फागुन । शैक्षिक सत्र शुरु भए पनि हिमाली जिल्ला हुम्लाका विद्यार्थीहरुले अझै पर्याप्त पाठ्यपुस्तक पाउन सकेका छैनन् ।

पाठ्यपुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रले पुस्तक ढुवानी तथा बिक्रीको जिम्मा दिएका स्थानीय एजेण्टहरुले माग गरेको भन्दा निकै कम पुस्तक उपलब्ध गराएका छन् । एजेन्टहरुले माग गरेअनुसार पुस्तक नपाएको गुनासो गरेका छन् ।

विद्यार्थी संख्याका आधारमा भन्दा पनि पुरानै फ्ल्यास रिपोर्टलाई आधार मानी पुस्तक उपलब्ध गराउँदा जिल्लाको माग अनुसार पाठ्यपुस्तक अभाव भएको हो ।

माथिल्लो हुम्लाका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकामा रहेका विद्यालयहरुको पाठ्यपुस्तक ढुवानी तथा बिक्रीको लागि जिम्मा पाएको रोकाया पुस्तक पसलले कक्षा २ देखि १० कक्षासम्मका लागि तीन हजार ८५० सेट पुस्तक माग गरेकोमा जम्मा दुई हजार सात सय सेट पुस्तक मात्र पाएको पसलका प्रोपाईटर धनजवा रोकायाले बताइन् ।

सो क्षेत्रका विद्यालयहरुका लागि एक हजार एक सय पचास सेट पुस्तक अपुग भएका छन् । जनक शिक्षा सामाग्री केन्द्रले अहिले पुस्तक ढुवानी तथा बिक्रीको जिम्मा पाएको एजेण्टले माग गरेको भन्दा केन्द्रमा यस अघि नै पेश भएको फ्ल्यास रिपोर्टलाई आधार मानेर मात्र पुस्तक उपलब्ध गराउने गरेको छ ।

बाँकी अपुग पुस्तकका लागि सम्बन्धित गाउँपालिकाको सिफारिस, शिक्षा बिकास तथा समन्वय इकाईको सिफारिस र प्रदेश मन्त्रालयको समन्वयमा मात्र उपलब्ध गराउने बताएको उनले बताइन् ।

बिक्री केन्द्रले जिम्मा पाएका पुस्तक सबै नेपालगंजबाट तीन फ्लाईट हवाई ढुवानी गरेर सिमकोट पुगेको र हाल बिक्री भइरहेका छन् ।

चंखेली र सर्केगार्ड गाउँपालिकामा पुस्तक बिक्रीको जिम्मा पाएको अर्को पुस्तक ज्ञानु भण्डारका प्रोपाईटर दुर्पता शाहीले दुवै गाउँपालिकाका ५६ वटा बिद्यालयहरुका लागि चार हजार दुई सय सेट पुस्तक माग गरेपनि जनक शिक्षा र नीजि छपाई केन्द्रबाट दुई हजार ७२५ सेट पुस्तक मात्र पाएको बताइन् ।

पुस्तक सबै नेपालगंजमा बुझेर ट्रकमा ढुवानी गरिएको बताउनु भयो । यी पुस्तक सुर्खेत, कालिकोट, जुम्ला र मुगु हुदै हुम्ला जिल्लामा पुग्नेछन् । निजी क्षेत्रले माग अनुसार दिए पनि जनक शिक्षाले नदिएको उनको गुनासो छ ।

ती दुबै गाउँपालिकाहरुले पाठ्यपुस्तक खरिदमा बजेट पनि आबश्यकता भन्दा कम बिनियोजित गरेको पाइएको छ ।

यता जिल्लाको दक्षिणी क्षेत्रका अदानचुली र ताँजाकोट गाउँपालिकाका विद्यालयहरुको पाठ्य पुस्तकको ढुवानी तथा बिक्रीको जिम्मा लिनु भएका लोकेन्द्र भण्डारीले गत वर्ष भन्दा कम पुस्तक बुझेको र बुझेका पुस्तक कवाडीमा पुगेको बताए । उनले पनि माग अनुसार पुस्तक नपाएको गुनासो गरे ।

कक्षा १ को पुस्तक आएन

हुम्लामा तीन वटा पुस्तक बिक्रेताहरुले निजी क्षेत्रले छपाईको जिम्मा पाएको कक्षा १ को पुस्तक नछापिएकोले जिल्लाा पठाउन नसकिएको बताएका छन् । फागुन १२ गते अगाडी छापिने संभाबना नरहेको जानकारी प्राप्त भएको छ । यो निजी क्षेत्रको लापरवाही देखिएको बताइन्छ । कर्णाली उच्च हिमाली क्षेत्रमा शैक्षिक सत्र फागुन १ गतेबाट सुरु हुने गरेको छ ।

विद्यालयद्वारा भर्ना मात्र सुरु

पुस १५ गतेबाट जाडाे  बिदा सुरु भएर फागुन २ गते सकिएपछि ४ गतेबाट हुम्लाका केही विद्यालयहरुले भर्ना सुरु गरेका छन् । तर अधिकाँश विद्यालयहरु सो भर्ना पनि खोल्न सकेका छैनन् । ४ गतेबाट १७ गतेसम्म भर्ना गरेर १८ गतेबाट पढाई सुरु गर्ने भएको छ । यसरी नयाँ शैक्षिक सत्रको भर्नाका लागि सूचना सार्वजनिक गर्नेमा मानसरोवर, सीता मावि लगायका विद्यालयहरु रहेका छन् ।

Loading...