बा ! अर्थात परिवारको ज्येष्ठ सदस्य, परिवारको अभिभावक हुन बा,पारिवारिक समस्याका समाधान कर्ता हुन बा,आर्थिक संकटका पहिचान कर्ता हुन बा,परिवारमा आफुलाई सर्वश्रेष्ठ व्यक्तिको उपाधी हासिल गर्ने अधिकार केवल बालाई मात्र छ अरुलाई छैन ।
समस्या पर्यो भने बालाई आसुँको वर्षात आउन कुनै युद्ध,दुख,पीडा नै आवश्यक पर्दैन बस यति भए पुग्छ । पारिवारिक पिडालाई लिएर खाइन खाइ,भ्याइ नभ्याइ,आफ्नो स्वास्थ्यको ख्यालै नगरी केबल समस्यालाई सामाधान देख्ने हरेक बाहरुलाई सलामी ठोक्न मन लाग्छ ।
परिवारमा हरेक सदस्य एक रथका दुई पांग्रा हुन्छन ।हरेकको आ-आफ्नो भुमिका हुन्छ . दायित्व हुन्छ, अनि जिम्मेवारी पनि हुन्छ। ती सबै भुमिका,दायित्व र जिम्मेवारीको असल मार्गदर्शक बा मात्र हुन । यति गरिसकेपछी पनि बालाई परिवारप्रतिको कर्तव्य पूरा भएको महसुस हुदैन । त्यो कर्तव्य पूरा गर्न बालाई न दिन भन्नू छ न रात भन्नू छ। न भोक भन्नू छ,न निद्रा भन्नू छ ।
पारिवारिक समस्या हल गर्दागर्दा बाको आधा मानसिक सन्तुलन गुमिसकेको हुन्छ सायद । तैपनि बा परिवारको उन्नति र प्रगतिका लागि हिडेर,झुकेर कहिल्यै थाक्नु हुन्न। हाम्रो समाज त्यसै पनि परम्परागत नै छ । बाले हिडेको बाटो सन्तानले पहिल्याउन सकेन भने समाजले बाउको सपनाको विरुद्धमा लागेको संज्ञा दिन्छ । आफ्ना सन्तान भुलबस विकृती,विसंगतिमा सरिक भए भने त्यसको सम्पुर्ण हिस्सा बाको काधमा आइपर्छ । अर्थात समाजले गलत सन्तानलाई होइन बालाइ देख्छ ।
समाजलाई बाले उति सजिलै नकार्न सक्नु हुन्न कारण त्यै समाज जन्ती र मलामी,सुख दुःखको सारथि अनि सहयोग आदान प्रदानको बलियो खम्बा लाग्छ बालाई । त्यसैले बा आफ्ना सपनालाई गोजीमा राखेर सन्तानका सपना साकार पार्न सबै कुरा सहजै त्याग्न पछि कहिल्यै पर्नुहुन्न ।
नेपाली समाज अलि पृथक खालको छ । परिवारमा अग्रज अभिभावक नहुने हो भने त्यस्तो परिवार यो समाजका लागि टुहुराको बोझ बन्न पुग्छ । त्यसबखत समाजले त्यस्तो परिवारप्रती गर्ने व्यवहार र हेर्ने दृष्टिकोण नितान्त भिन्न खालको हुदोरहेछ ।
हरेक दृष्टिकोणबाट समाजमा यस्तो परिवार अलि हेपाहा,डाहा,आवेग गर्नेहरुको जमातबाट पिडित बन्दोरहेछ ।म अर्थात नरेन्द्र महतारा पनि त्यही टुहुरो परिवारको एक सदस्य हु। मेरो बा अर्थात पदमे महतारा । उहाँको करिब २० वर्षअघि अकस्मात रोगका कारण निधन भयो।
त्यतिबेला म जम्मा ३ महिनाको नाबालक थिए । मेरा बालाई सदाका लागि म र हामीबाट खोसेर लाने त्यो दुश्मन रोग के थियो थाहा भएन तर ठुलाबडाबाट सुनेको उहाँलाई दिशा र पिसाब रोकिने समस्या थियो रे । उक्त रोगको निदानका लागि उहाँलाई अस्पताल लगिएछ। त्यतिबेला अहिलेको जस्तो सुविधा थिएन । यदि त्यस्तो सुविधा हुदो हो त हामी आफ्नो बालाई देख्ने थियौ ।
म देख्ने थिए,चिन्ने थिए। अहिलेको जस्तो यातायात,अहिलेको जस्तो अत्याधुनिक अस्पताल हुदा हुन त हामी बालाई गुमाउने थिएनौँ । रोगको निदानका लागि अस्पताल हिडेका मान्छेहरु जब मान्छे होइन बाको मलामी बनेर घर फर्किए।त्यसपछी मेरो परिवारमा खुसिको एक अध्याय समाप्त भयो ।
रुवाबासी,क्रन्दन,पिडाका छालहरु छरपस्ट भए । परिवारको ज्येष्ठ सदस्य गुमाउदाको पीडा,समाजले टुहुराको ट्याग भिराइदिदाको पीडा ज्यादै गह्रौ थियो । ठूलो बज्रपात आयो हामीमा। अब अभिभावक गुमाउनुको पीडा मात्र रहेन,परिवारलाई कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो काडेतारको बारले हामीलाई नराम्रोसँग घेर्यो । पिडामाथी पिडाको राजधानी यस्तो देख्दा लाग्छ भगवान सार्है निर्दयी रहेछन ।
हाम्रो सबथोक लिएर पनि गए साथमा यतिका पिडाका छालहरु पनि हामीलाई नै बर्साइदिए । त्यतिबेला यदि कसैले हामीलाई बुझ्दो हो त त्यो मान्छेलाई मात्र हाम्रो बेदना थाहा हुन्थ्यो,छ होला । यसरी हाम्रो परिवार बालाई गुमाएपछि पिडैपिडाबाट बल्झिन थाल्यो ।
समय बित्दै गयो हिजो बा हुँदा र आज बा नहुदाको हाम्रो परिवार बिल्कुलै फरक थियो । फरक यस अर्थमा थियो कि उहाँ हुदा परिवारमा त्यति समस्याहरु थिएनन । उहाँले आफुलाई भुलेर परिवारका समस्या भुल्न सक्नु भएन सायद ।त्यसपछिका चुनौती र समस्याहरुसँग मुकाबिला गर्न हामीलाई त्यति सहज थिएन र भएन पनि ।
परिवार कसरी ब्यबस्थित गर्नेरु ? आर्थिक जोहो कसरी पूरा गर्ने ? घरखेत कसरी चलाउने ? यस्ता तमाम समस्या र चुनौतीका चाङ हाम्रासामु नितान्त खडा थिए । अग्रज शुन्य परिवार थियो । अग्रज दुइटा दिदी त्यस पछाडी दाइ अनि म।हाम्रो ६ सदस्यको संयुक्त परिवार थियो । परिवारमा अग्रज दाइ हुनुभएन त्यसैको परिणाम बालाई गुमाइसकेपछी हामीलाई झन समस्याले झेल्न थाल्यो ।
आर्थिक संकट हाम्रो परिवारले नराम्रोसँग झेलेको छ। अझ अग्रज दाइ नहुदा अग्रज दिदिहरुले ती समस्याहरुसँग कसरी औठे जोडी खेल्नुभयो म बयान गर्न सक्दिन । यदि मैले गर्ने प्रयास गरे भने त्यो केवल काल्पनिक मात्र हुनेछ । हाम्रा समस्याका अगाडि डटेर लडने पर्दापछाडी एउटा अर्को नाम थियो । तुला महतारा अर्थात हाम्रो हजुरआमा ।
हो हजुरआमा ! जो अहिले वृद्ध अवस्थाको हुनुहुन्छ।अहिलेसम्म पनि हाम्रालागी उहाँ मरिहत्ते गर्नुहुन्छ। हामीप्रती उहाले देखाउनुभएको सहानुभूतिको चर्चा जति गरेपनी सायद कमै हुन्छ । म त्यो गर्न सक्ने सामर्थ्य पनि राख्दिन। किनकी त्यो सम्भव पनि छैन । नाताको हिसाबले उहाँ हाम्रो घरको हजुरआमा होइन मामाघरको हो।
हाम्रा बा र हाम्री आमाबिच उहिल्यै मागी बिबाह भएको रहेछ। हुन त उहिलेको परम्परा नै उस्तै थियो। बाको स्वर्गवासपछि परिवारमा अभिभावकत्व समहाल्नु भयो हजुरआमा र जेठी दिदिले । आमा घरगृहस्थीको अभिभावक हाटबजार धाउने,समस्याहरु पहिल्याउने जिम्मेवारी अब यी तीन नारीको काधमा आइपर्यो ।
जिम्मेवारी वहन गर्न त्यति सहज थिएन तैपनी उहाँहरुले कसरी वहन गर्नुभयो म हामी सबै पुरुषहरुका लागि चुनौतीको विषय हो । यसका पछाडि हाम्रो समाजले पनि हाम्रा लागि थुप्रै प्रशंसनीय कामहरु गरेको छ। हामी त्यसका लागि ऋणी छौ ।
आवश्यक पर्दा सहयोग आदानप्रदान गर्ने त्यही समाज हो,दुस्खद परिस्थितिमा पनि सुखको अनुभुती दिलाउने त्यही समाज हो,मर्दाको मलामी र जिउदाको जन्ती त्यै समाज हो।यस अर्थमा समाज सबथोक हो । त्यसमा पनि समाजमा बस्ने मानव समुदाय बा बिनाका हाम्रा लागि समस्याहरु सहजै पार गर्न निकै जटिल विषय थियो ।
अरु समाजभन्दा हाम्रो समाज अलि पृथक अवश्य थियो अझै छ।उसै समाजले नारीलाई हरेक कुरामा असक्षम,अयोग्य देख्ने गर्छ तर हाम्रो समाज त्यस्तो थिएन । बा पछाडि परिवार हाकेका यी तीन नारीलाई समाजले कहिल्यै असक्षम,अयोग्य देखेन बरु उल्टै राहत दिने काम गर्यो।समाज आफैमा राम्रो,नराम्रो हुने होइन त्यसलाई कस्तो बनाउने त्यो सबै हाम्रो हातमा छ।त्यहा बस्ने मानिस सबै हामीजस्तै त हुन।
त्यसैले मैले मेरो समाज अनि गाउलाई उच्च सम्मान गर्न चाहन्छु।भोलिका दिनमा म यदि असल मान्छे बनेछु भने म मेरो गाउघर र समाजलाई अवश्य केही दिने नै छु। समाज जसले हामीलाई सुखको अनुभुति दिलाइदियो।सायद त्यसैले पनि मान्छेहरु समाजलाई जिउदाको जन्ती,मर्दाको मलामी भनेर चिन्ने गर्छन।
समाजबिना जो कोही अधुरो अपुरो हुन्छ। हामीलाई पनि समाज त्यही भयो । वर्षभरी गरिने निर्वाह मुखी कृषिले जीवन धान्न हम्मेहम्मे पर्थ्यो । हलो समात्नुपर्थ्यो,खेत जोत्नुपर्थ्यो । जसका लागि गोरु आवश्यक पर्थे।हामीसँग त न हलो समात्ने मान्छे थिए न त गोरु नै । नारीले हलो समात्न थाले भने त्यो केवल उपहास मात्र हुन्छ र त्यसलाइ समाजले स्विकार गर्न सक्दैनथ्यो ।
त्यसकारण बरु नारीले गर्ने अरु काम समाजलाई सघाउने अनि समाजका पुरुषहरुलाई हलो समात्न पैचो सापटी लिनुहुन्थ्यो हजुरआमा,आमा अनि दिदिहरु।यस अर्थमा मेरो खेतका प्रत्येक आलिहरुमा मेरो गाउघरले हलो समातेको छ,कोदाली गाडेको छ। मैले बिर्सेको छैन।आखिर जति परिश्रम गरेर खेतिपाती गरेपनी अन्त्यमा अरुकै भर पर्नुपर्ने।आफुले गर्ने खेतिपातिमा जीवन निर्वाह गर्ने आशा रत्तिभर पनि हुदैनथ्यो ।
तैपनी पुर्खाको बिडो थाप्न गर्नैपर्ने।यदि नगर्ने हो भने समाजले अल्छी भए भन्दै गिज्याउथ्यो।त्यसपश्चात हामी अलि बुझ्ने भयौ।म त्यही साढे २ वर्षको थिए। मेरो आमाले परपुरुषसँग मिलेर एक सन्तान जन्माउनुभयो अर्थात भाइ।जुन भाइ अहिले हामीसँग छुट्टिएर गैसकेको छ यो उसको रहर थिएन बाध्यता थियो ।
उ हामीसँंग रहदासम्म कसैले हेरेनन अझ प्रष्ट भनौ सहयोग गरेनन जो उसको आफ्ना हु भन्दै नाक ठूलो बनाउथे।हामीले उसको पालनपोषण गर्यौ । पढायौ पनि।अहिले तिनीहरु उ ठूलो भैसकेपछी उसको श्रम खादै छन। जेसुकै गरुन त्यो मतलब भएन तर उसको पढाइ बिगारेका छन तिनले । यो कुरा अब मैले गरे भने पटक्कै सह्य हुदैन । म आफ्नै कथामा फर्किन्छु।
त्यतिबेला पाठशालाहरु थिएनन।धुलोमा बसेरै पढिन्थ्यो।अहिले हामी पढनका लागि सुबिधा खोज्छौ,धुलोमा बस्दा हाम्रो पढाइ हुदैन तर त्यतिबेला त्यही धुलोमा क्या गज्जबले पढन मन लाग्थ्यो।मन लाग्ने सबै कुरा पूरा गर्ने अवसर सबैले कहाँ पाउछन र१हामीलाई पनि त्यही थियो।
अग्रज दिदिहरुले राम्रोसँग पढ्न पाउनु भएन । बाकी थियौ हामी दुई भाइ।विद्यालयमा परिक्षा शुल्क तिर्नुपर्थ्यो। हाम्रा निम्ति यो निकै असम्भव कुरा थियो। शुल्क तिर्न सकिएन भने परिक्षामा सहभागी हुन पनि आफैलाई पछुतो लाग्ने। तर हामीलाई त्यस्तो अवस्था सायदै आयो। त्यो शुल्क दिदीहरुले कसरी तिर्नुहुन्थ्यो थाहा छैन तर तिरेकै हुन्थ्यो।
पढाइ राम्रै थियो।उहिले लेख्ने कापी र कलम खासै हुन्नथे त्यो मैले पनि भोगे। पढाइ अघि बढ्दै थियो साथसाथै पढाइमा मेरो प्रगती पनि भएकै थियो। यहि बिचमा मलाई एउटा ठूलो रोगले सताउन थाल्यो त्यो पनि एक्कासि । म ग्रस्त हुन थाले । हिड्नै नसक्ने अवस्थामा अलिकति हिडेपनी दुबै हात र खुट्टा एक्कासि सुन्निने । पहिलेको म र बिरामी भैसकेपछिको म मा बिल्कुलै भिन्न थियो।
त्यसपछी म त्यति राम्रोसँग बिद्यालय जान सक्दिनथे । तैपनी लठ्ठीको सहायताले नियमित विद्यालय जाने प्रयास गर्थे र छोडिन पनि । मेरो यो रोग मेरा लागि मात्र घातक थिएन परिवारका लागि पनि त्यत्तिकै घातक थियो।परिवारमा अनेक चिन्ता,अनेक आपत्ती अनि अनेक समस्याहरु आउन थाले।एक किसिमले मैले मेरो परिवारलाई धेरै सताएको छु । यसको हिस्सा म सजिलै ग्रहण गर्न सक्छु । हजुरआमा,आमा अनि दिदिहरु सार्है अतालिनुहुन्थ्यो।अनि बालाई स्मरण गर्नुहुन्थ्यो ।
आज बा भैदिएको भए हामी यी दुख झेल्ने थिएनौ सायद म पनि बालाई स्मरण गर्थे तर मलाई बाको अनुहार कस्तो थियो थाहा थिएन । मेरो रोगलाई निको पार्न कति धामीझाँक्री गरिए,कति घरेलु ओखती गरिए अनि कति अस्पताल धाइए पत्तो छैन तैपनी रोग सकिएन झन बढ्न थाल्यो। ओखतीका नाममा मैले परिवार मात्र होइन गाउघरलाई समेत सताएको छु।अस्पतालको सुविधा थिएन गाउघरतिर ।
त्यसका लागि सदरमुकाम अर्थात खलंगा,जाजरकोट नै धाउनुपर्थ्यो।सदरमुकाम पुग्न कम्तीमा १ दिन पुरै लाग्थ्यो।बाटो पनि त सहज थिएन।घोडेटो बाटो अप्ठ्यारो अनि डरलाग्दो पनि।म एक्लै जान सक्दिनथे।दिदिहरु साथमा जानुहुन्थ्यो । अलिकति हिड्यो कि मेरा हातखुट्टा सुन्निएर हिड्नै नसक्ने हुन्थे ।
त्यसपछी बिचरा दिदिहरु संकोच नमानी मलाई पिठ्युँ हाल्नुहुन्थ्यो त्यो पनि रुदै।यसका लागि म मेरा दिदिहरुप्रती ऋणी छु।मलाई थाहा छ दिदिलाई लाती हान्नु हुदैन पाप लाग्छ।तर परिस्थिति त्यस्तो थिएन।म कयौंपटक दिदिहरुको पिठ्युँमा रुदै अस्पताल पुगेको छु।दिदिहरुको पिठ्युँले आज म यो ठाउमा छु भन्न म कति पनि पछि हट्दिन।
समय परिस्थिति सधै एकैनासको हुदैन । न यसलाई बनाउन सकिन्छ । छोरी भएर जन्म लिइसकेपछी एकदिन पराइ घर जानू पर्छ नै । सधै माइतीघरमा बसिरहदा समाजले हेर्ने दृष्टिकोण पनि निकै भिन्न हुन्छ । हामीमा त्यस्तै भयो।दिदीहरु त्यति सजिलै हामीलाई छोडन सक्नुहुन्नथ्यो ।
त्यसैले करिब आधाभन्दा धेरै उमेर माइतीघरमा नै खर्चिनुभयो।तर सधै बसिरहन पनि भएन भन्ने मानसिकता दिदीहरुले बनाउनुभयो होला । यसै क्रममा कान्छी दिदीको पहिले बिहे भयो त्यो पनि निकै टाढा।कान्छी दिदीको बिहेको लगत्तै १ महिनापछी जेठी दिदीले पनि बिहे गर्नुभयो।
एउटै घरका दुइजना यसरी एकैचोटि पराइ घरमा जादा निकै उराठ लाग्दो रहेछ।हामीलाई त्यो महशुस भएको थियो।अब हामी घरमा मात्र दुई भाइ,आमा अनि हजुरआमा रहयौ।दिदीहरुको बिहे भैसकेपछी हामीमाथी थप जिम्मेवारी आयो।त्यसपछी समयका परिवर्तित छालहरुले हामीलाई झन चुनौती दिन थाले।हामी आत्तिएका थिएनौ।सहज तरिकाले अगाडि बढिरहयौ।
परिस्थिति जुनै होस त्यसलाई सहज तरिकाबाट हेर्न सक्नु,मुकाबिला गर्न सक्नु नै ठूलो कुरा हो।यो कुरा हामीलाई पछि थाहा भयो । म त्यतिबेला ८ कक्षामा अध्यनरत थिए।कान्छी दिदीको बिहे सहरमा भएको थियो अर्थात दाङ जिल्ला।दिदी र भिनाजुले मलाई सहर ल्याएर आफुसँगै राख्ने योजना बनाइसक्नुभएको रहेछ ।
मैले पनि त्यो प्रस्ताव सहर्ष स्विकार गरे।मलाइ लाग्यो यहाँ बसेर मेरो पढाइ त्यति राम्रो हुनेछैन।सहरको पढाइ अलि गुणस्तरीय होला । त्यतै जान्छु।पढाइ थप सशक्त बनाउछु।अनि म सहर पसे।गाउले जीवनशैलीमा लडिबुडी गर्दै हुर्किएको म सहरसँग कसरी मुकाबिला गर्न सकुला,कसरी घुलमिल हुन सकुला मेरा लागि चुनौती थियो।
बिस्तारै बुझ्दै गए,सिक्दै गए।सुरुवाती चरणमा मलाई सहरसँग मुकाबिला गर्न निकै गाह्रो भयो।विद्यालय भर्ना भए।गुरु जजुर नमुना माध्यमिक विद्यालयमा।अबको गन्तव्य भनेको केबल पढाइ मात्र हो मैले पढाइलाई निरन्तरता दिनै पर्छ त्यसमा पनि म गाउँ छोडेर सहर आएको छु।
निर्दयी सहर एउटालाई पीडा हुदा अर्को हेरिरहन्छ,एउटालाई चोट लाग्दा अर्को गल्ल हासिरहन्छ।कसैलाई कसैको मतलब नहुने।त्यसै भनिएको होइन रहेछ गाउमा घरहरु टाढाटाढा हुन्छन मन नजिक हुन्छन तर सहरमा घर नजिक हुन्छन मन टाढाटाढा हुन्छन।यो सत्य लाग्यो।
मनै नभएका मान्छेहरु।हामी भाडामा बस्थ्यौ।भिनाजु वैदेशिक रोजगारीको छुट्टीमा हुनुहुन्थ्यो।छुट्टी सकिएपछी भिनाजु विदेश जानुभयो।अब म र दिदी एक्लै भयौ।समय बित्दै गयो मेरो पढाइ प्रगतिमा नै थियो।म विद्यालयमा त्यति परिचित थिइन।बिस्तारै सबैलाई चिन्न थाले,परिचय हुन थाल्यो।
विद्यालयमा हुने अतिरिक्त क्रियाकलापमा म सधैजसो सहभागी हुन्थे।यसले पनि मेरो परिचय थप बढाउन सहयोग गर्यो।त्यसपछी मैले हरेक क्रियाकलापमा सहभागिता जनाउन थाले।साथीहरू बन्दै गए,बनाउदै गए।ती प्रतियोगिताहरु मैले नजिते पनि त्यहाबाट मैले थप संघर्ष गर्नुपर्ने पाठ सिके।
अभ्यास गरे,अध्ययन गरे।थप प्रगती हुने कुरामा म विश्वस्त थिए।अब म विद्यालयमा हुने प्रतियोगितामा लगभग सबैलाई पछि पार्ने हैसियतमा पुगिसकेको थिए।विद्यालयमा मात्र होइन अब जिल्लामै प्रतियोगिता मैले जित्नुपर्छ भन्ने ममा मानसिकता हावी हुन थाल्यो।
योजना बनाए,अभ्यास गर्दै गए निरन्तर।मेरो उद्देश्य वक्तृत्वकलामा जिल्लामै प्रथम हुने थियो।उद्देश्य लिएर मात्रै हुन्छ र त्यसका लागि आवश्यक तयारी,आवश्यक अध्ययन चाहिन्छ।मैले निरन्तर अध्ययन,निरन्तर अभ्यास गर्दै गए।यो निरन्तरताको अभ्यासले मलाई आखिर सफलताको शिखरमा पुर्याइदियो।मैले कतै पढेथे अभ्यासले नै मानिसलाई पुर्ण बनाउछ भन्ने कुरा।लगभग ४२ जनालाई पछि पार्दै मैले जिल्लास्तरीय वक्तृत्वकला जितेरै छाडे।
हिजो विद्यालयमा हुदा आफ्नो नाम चिनाएको म आज जिल्लामा नै विद्यालयको नाम चिनाउन सफल भए।खुसीको सिमा नै थिएन।सपनाजस्तो लाग्दै थियो मलाई। भोलिपल्ट जिल्लामा विद्यालयको नाम चिनाएको भन्दै मलाई विद्यालयले सम्मान गर्यो।म झन परिचित भए। सफलता पाउदा मात्तिने अनि सफलता नपाउदा आत्तिने मेरो स्वभाव थिएन।त्यसपछी मैले अब पढाइलाई ध्यान दिनुपर्छ। किनकी त्यतिबेला एसएलसीलाई फलामे ढोकाको रुपमा हेर्ने गरिन्थ्यो।साथसाथै मेरो वक्तृतालाई पनि निरन्तरता दिइरहेको थिए।
केही महिनापछी फेरि जिल्लाले विद्यार्थी प्रतिभा पहिचानको कार्यक्रम आयोजना गरेको रहेछ। जसमा मेरो विद्या वक्तृत्वकला प्रतियोगिता पनि समावेश थियो । संयोग भनौ उक्त प्रतियोगिता पनि मैले जितेरै छाडे । यो तयारी त्यति पुर्ण अवश्य थिएन मेरा लागि तर अरु प्रतियोगिहरुका लागि यो नै पर्याप्त रहेछ । पछि थाहा भो निरन्तर दुई पटक झनै हौसला बढेर गयो । फेरि पनि विद्यालयले उहीँ सम्मान दियो।
म यो ठाउमा पुग्नुमा मेरो पर्दापछाडिका नायक दुइजना गुरुहरु हुनुहुन्थ्यो जसले मलाई हौसला,प्रेरणा दिनुहुन्थ्यो।सिकाउनु हुन्थ्यो बोल्न । आदरणीय गुरुहरु नारायण भट्टराई र प्रमोद न्यौपाने म उहाहरुलाई कहिल्यै भुल्न सक्दिन र भुल्ने पनि छैन ।
जसले मेरो जिवनमा आमुल परिवर्तन ल्याइदिनुभयो । यस अर्थमा अभ्यासजती सबै मैले गरेको हु उहाहरु मात्र उचित पथप्रदर्शक बनिदिनुभयो।त्यसपछी मैले एसएलसी दिए । परिक्षा राम्रै गरेको भान भयो।त्यसपछिको ३ महिने बिदालाई मैले ब्रीज कोर्समा बिताए।एसएलसीपछिको मेरो गन्तव्य अन्योलमा नै थियो।के गर्ने मैले योजना बनाएको थिएन।
केही समयपछी नतिजा प्रकाशित भयो।विडम्बना मेरो नतिजा मैले सोचेभन्दा बिल्कुलै फरक आयो।सोचेजस्तो नतिजा नआएपछी म मरेतुल्य भए । मलाइ पढाइप्रती घृणा जाग्न थाल्यो।मेरो कापी जाँच्ने मान्छेलाइ मैले अयोग्यताको उपनाम दिए।हाम्रै पालादेखी फेरि एसएलसीमा नया पद्धति सुरु भयो अर्थात ग्रेडिङ प्रणाली २०७२ साल यो प्रणालीले मजस्ता सबै विद्यार्थीहरुलाई अन्योलमा पारिदियो ।
पहिलेको जस्तो कुन विषयमा कति अंक आयो हेर्न नमिल्ने।कमसेकम अंक हेर्न पाएको भए चित्त बुझ्ने त थियो।´A+` ग्रेड,´A` ग्रेड,´B+` ग्रेड,´B` ग्रेड,´C+` ग्रेड,´C`ग्रेड क्रमशः श्रेणीक्रममा थियो।यसमा मेरो जम्माजम्मी प्राप्ताङ्क झब्ञ ग्रेड आयो।ग्रेड ठिकै आएपनी मलाई विषयको प्राप्ताङ्कमा कत्ती चित्त बुझेकै थिएन।अब पढाइलाई निरन्तरता दिनै पर्छ। जे हुनु भैगयो आखिर बिग्रेको चिज सोचेर सुधार हुने त पक्कै होइन भन्ने लाग्यो । मैले आफ्नै विद्यालयमा आन्तरिक तह बिज्ञान विषयबाट गर्ने निधो गरे ।
दशै तिहार बिदा हुने समय आयो।हामी घर नगएको पनि झण्डै ३ वर्ष बितिसकेको थियो।अरु त अरु जेठी दिदीको बिहेमा पनि हामी घर जान पाएनौ।हिजो घर सम्हालेको मान्छेको बिहेमा जान नपाउदा धेरै पछुतो लाग्यो । उता दिदीलाई झनै के भयो होला ? परिस्थिति त्यस्तै थियो ।२०७२ साल असोजको समय म र दिदी दशै तिहार मनाउन घर जाने भयौ।खुसियाली थियो मनमा यत्रो ३ वर्षसम्म घर नगएका हामी आज घर जादैछौ ।
मनमा हर्ष र खुसी थियो।उहिल्यैदेखी दिदी र भिनाजुको झगडा निरन्तर भैरहन्थ्यो।म त्यति चासो दिन्नथे यो झगडामा बुढाबुढीको झगडा परालको आगो हो भन्ने मलाई थाहा थियो। त्यही सोच्दै म समहालिन्थे।तर हामी घर गैसकेपछी दिदी र भिनाजुको झगडा सदाका लागि अन्त्य भैसकेछ अर्थात सम्पर्कविहिन मलाई यो कुरा थाहा थिएन,म सहर फर्किए।दिदी आउन मान्नुभएन ।
दुइजना बिचको त्यो मनमुटाव मलाई थाहा नभएर पनि होला मैले दिदीलाई पछि आउन अनुरोध गरे सहर आइसकेपछि मैले बल्ल थाहा पाए यो कुरा । बुढाबुढीको कुरामा त्यति ध्यान पनि दिइएन भनौ न । तर यहाँ त विनाशकारी आँधिबेहरी नै आइसकेछ। त्यसपछी दिदी कहिल्यै फर्केर सहर आउनुभएन।
भिनाजुले फोनै गर्नुभएन, मसँग भने उहाँ नियमित फोन गर्नुहुन्थ्यो। पैसा पठाउनुहुन्थ्यो मलाई उहाले मेरो पढाइमा बाधा ल्याउनुभएन। मलाई सहयोग गर्नुभएको छ।म कुनै दिन मान्छे बने भने उहालाई विशेष रुपमा हेर्नेछु।लगभग पुर्ण रुपमा उहाहरुको सम्बन्धमा दरार आइसकेको थियो अझै प्रष्ट भनौ बिछोड पक्कापक्की ।
मैले उहाहरुको सम्बन्धलाई सुधार गर्न हरतरहबाट प्रयास गरे तर अन्त्यमा म असफल भए।दिदीलाई यसो नगर्न बिन्ती गर्थे,भिनाजुलाई बिन्ती गर्थे अनि समाजका ठुलाबडासँग यो सम्बन्ध मिलाइदिन बिन्ती गर्थे तर सकिएन।अन्ततः उहाँहरु छुट्टिनु नै भयो । त्यो पनि सदाका लागि।एउटा माइतीका लागि योभन्दा ठूलो पीडा के हुन सक्छ र
म धेरै तनावग्रस्त हुन थाले।अब तनावग्रस्त भएर पनि के गर्नु समस्या आफैलाई हुने।आखिर छुट्टिदा उहाहरु खुसी हुनुहुन्छ भने मलाई के को तनावरुरुमैले तनाव लिनै छोडे।आन्तरिक तह अर्थात सकिसकेपछी मैले फार्मेसीमा सानोतिनो जागिर गर्न थाले। अब आफै पालिनुपर्छ,आफै पढनुपर्छ भन्ने मनशाय बन्यो मेरो यो मनशाय नबनाएर यो सहरमा बाच्न सम्भव पनि थिएन मलाई ।
दिदी भिनाजुको सम्बन्ध पुर्ण रुपले टुटेपछि मैले दाङ बस्न त्यति उचित ठानिन। दाङ तुलसीपुर मेरो कर्मथलो थियो अर्थात सपनाको सहर जुन सहरमा म बाल्यकालदेखी लडिबुडी गर्दै यहासम्म आएको छु। सपनाको सहर छोडने मन थिएन । नछोडी पनि सम्भव थिएन, मैले अन्ततः सपनाका चाङ बुनेको सहर छोड्नै पर्यो ।
मैले अब सपनाको अर्को सहर खोजे संघीय राजधानी काठमाडौ खासै ठूलो सपना थिएन । राजधानीसँग मेरो जति दाङ तुलसीपुर सहरसँग थियो । पढछु साथसाथै जागिर गर्छु भन्ने सोच लिएर म राजधानी छिरे हिजोको म र आजको ममा त्यसपश्चात बिल्कुलै फरक परिस्थिति भैसकेको थियो। म काठमाडौ आइसकेपछी दिदीले गाउमै बिहे गर्नुभएछ। दिदीको बिहे नै गर्ने मनशाय हुदो हो त यत्रो ३ र ४ वर्षसम्म भिनाजुलाई कुर्नु हुन्थेन। आजसम्म कुर्नु भयो।दिदीलाई लाग्यो होला अब जिन्दगी यसरी चल्दैन।
जुन मान्छेलाई उहाले कुर्नुभएको छ त्यो मान्छे उहाको सम्पर्कभन्दा बाहिर छ भने उसैलाई पर्खेर आफ्नो जिन्दगी धरापमा पार्नु त भएन नि यस्ता अनेकन खुल्दुलीहरु थिए होलान दिदीको मनमा। आखिर जुन सम्बन्ध सुधारै हुदैन त्यो सम्बन्धलाई सुधार्न खोज्नु बिल्कुल गलत हो। दिदीले यसैको परिणाम बिहे गर्न बाध्य हुनुभयो मलाई लाग्थ्यो राजधानीमा म कसरी व्यवस्थापन हुन सकुला ? कसरी पढन सकुला? कसरी खर्च जुटाउला ? सपना देखेर मात्रै भयो र त्यो सपना पूरा गर्ने आधार चाहिदैन ? यस्ता अनेकन प्रश्नहरु मेरो मानसपटलमा उब्जिए।जसोतसो दाइ र जेठा भिनाजुले ऋण लिएर भएपनी पैसा पठाउनुहुन्थ्यो । कति दिन म पैसाको अभावमा मानसिक सन्तुलनसम्म पुगेको छु तर मेरो मानसिक सन्तुलन मात्रै गुमेन । अहेव अंकल हुनुहुन्थ्यो अलिअलि सहयोग गर्ने। उहाँ पैसा अभाव भएको बेला मलाई सहयोग गर्नुहुन्थ्यो अझै गर्नुहुन्छ। मैले सके भने उहाको त्यो ऋण र गुण दुबै तिर्ने छु । यस अर्थमा म मेरा अंकलप्रती पनि ऋणी नै छु ।
काठमाडौ आउदा कुनै सपना थिएनन। त्यही पढौला,जागिर गरौला भन्ने सोच थियो । यहाँ आइसकेपछी अब स्नातक तह पढने सोच बनाए। पढन त पढने तर के पढने ? कस्तो विषय पढने ? कति शुल्कमा पढने ? केही थाहा थिएन।सरकारी क्याम्पस बाहेक गैह्रसरकारी क्याम्पस पढन आर्थिक अवस्थाले पट्टक्कै दिन्नथ्यो। त्यसपछी म काठमाडौका हरेक सरकारी क्याम्पस धाउन थाले।
कुन संकायको शुल्क कति बुझ्न थाले। क्याम्पसपिच्छे फरक फरक शुल्क यस्तो भएपछी म रनभुल्लमा परे । अन्धाधुन्ध भयो । त्यसमा पनि काठमाडौमा नौलो नै थिए।त्यति विधि सबै कुरा थाहा थिएन पनि ।अझै कुन विषय पढने आकाश पातलजस्तै थियो । यसरी रनभुल्ल परेर हुदैन त्यो पनि यो काठमाडौमा एउटा लक्ष्य लिनुपर्छ मैले जुन लक्ष्यले मेरो मात्र सपना होइन मेरो परिवारको सपना पूरा गर्न सकोस ।
आवाजविहिनहरुको आवाज बन्न सक्ने सपना होस अनि मैले एउटा महान पत्रकार बन्ने लक्ष्य लिए। मैले पत्रकार बन्ने सपना बुनिरहदा म पत्रकारिता क्षेत्रमा लाखौ जनताको आवाज बोलेर जनताको मन जित्न सफल आदरणीय पत्रकार रबि लामिछानेलाई मेरो प्रेरणाको स्रोतको रुपमा लिन्छु। हरेक मान्छेका आआफ्ना क्षेत्र छन । मान्छे जुन क्षेत्रमा लाग्ने अठोट गर्छ उ त्यो क्षेत्रको अग्रजबाट प्रेरित हुन चाहन्छ,प्रभावित हुन चाहन्छ ।
म पनि उहाको त्यो काम गर्ने शैलीबाट निकै प्रभावित भए अनि मैले पत्रकारिता बन्ने आफ्नो सपनालाई अघि बढाए।पत्रकार बन्ने सपना त बुनियो यसको अध्ययन कता हुन्छ ? कता अन्यत्रभन्दा अलि पढाइ राम्रो हुन्छ मलाई थाहा थिएन। मैले कतै सुनेको थिए रबि लामिछानेले रत्न राज्य लक्ष्मी क्याम्पसबाट पत्रकारिता अध्ययन गरेका हुन । सुनेकै भरमा म यो क्याम्पसमा पुगे । नभन्दै पत्रकारिता विषय पढाउने केन्द्रिय विभाग रहेछ यो क्याम्पस मेरो रोजाइको एउटा विषय भयो यो सँगै अर्को विषय पनि रोज्नै पर्ने रहेछ।
फेरि म दोधारमा परे सोचे पत्रकार बन्न राजनीति बुझेकै हुनुपर्छ चाहे त्यो राष्ट्रिय होस या अन्तर्राष्ट्रिय अनि म पत्रकारिता र राजनीतिशास्त्र विषय लिएर स्नातक पढन थाले। मैले काठमाडौमा जागिरका नाममा के के गरिन ? कुनकुन ठाउँ धाइन ? अनि कुनकुन मान्छेहरु भेटिन ? जागिर भेट्टाउन मलाई धौधौ भयो। अझै उहीँ हाल छ जागिर हुनलाई त मान्छे चिन्नुपर्दो रहेछ,पावर हुनुपर्दो रहेछ।
बिडम्बना मसँग दुबै थिएनन । थिएनन भनेर म चुप लागेर बसिन मान्छे चिन्ने प्रयास गरे,पावर बनाउने प्रयास गरे तर यी दुबै मेरो जागिरका लागि असफल बनिदिए । दुबैले काम गर्न सकेनन।अन्त्यमा मैले लेबर काम गर्ने निर्णय गरे। यो पनि त्यति सहजै पाइदो रहेनछ । अन्त्यमा घर भत्काउने काम मिल्यो। म र एकजना साथीले त्यो घर भत्काउने काम ३ दिनसम्म गर्यौ।
काम गर्न त्यति सहज नहुदोरहेछ तैपनि नगरी नहुने।दिनभरी काम गरेर साझ कोठामा फर्किदा हातमा फोका उठेका हुन्थे । कति गाह्रो थियो । त्यसपछी मैले पत्रकारिता गर्दै पढने निधो गरे तर बुर्जुवा बर्गको मिडियामा म कसरी अटाउन सक्थे ? मलाई यो झन चुनौती नै भयो । मैले यो इच्छा पूरा गर्न सकिन अझै सकेको छैन । जसोतसो सापटी,ऋण लिएर खर्च धानिरहेको छु।
आत्तिएको अझै छैन म । जुनदिन मेरो लक्ष्य पूरा हुनेछ त्यो दिन म कसैका लागि प्रेरणाको स्रोत बन्ने छु। यी सबै भोगाइ र समस्याहरु बा नहुदाका हुन,बालाई नचिन्दाका हुन। बा नहुदा भोग्नुपर्ने समस्याहरुसँग हामी कसरी लड्यौ त्यो समिक्षाको विषय होला तर यत्ती कुरा चाहिँ थाहै भयो कि बा नहुदैमा पनि आफ्ना सपना कहाँ टुट्दारहेछन र बा सधैभरिलाई जिवित हुन पनि त सक्नुहुन्न ।गन्तव्य सबैको त्यही हो।
तर हाम्रा बाले अलि हतार गर्नुभयो।३५ वर्षको कलिलो उमेरमा नै उहाँको निधन भयो।मलाई अहिलेसम्म पनि मेरा बाको अनुहार राम्रोसँग थाहा छैन। म बालाई अझै चिन्दिन।जम्मा ३ महिनाको नाबालकले कसरी मान्छे चिन्न सक्छरुरुत्यो सम्भव थिएन । अहिले ठूलो भएपछी चिन्थे तर घरमा बालाई चिन्न सक्ने एउटा तस्बिर नै छैन न त अरु सामग्री नै।बाको सम्झनाका नाममा त्यै एउटा नेपाली नागरिकता छ त्यै पनि पुरै धमिलो फोटा,चिन्नै नसकिने ।
मलाई अहिले लाग्छ मेरा बा कस्तो हुनुहुन्थ्यो होलारुरुउहालाई चिन्न खोज्छु तर मसँग कुनै माध्यम नै छैन।कहिलेकाही गाउँ जादा ठुलाबडासँग बालाई बुझ्ने प्रयास गर्छु।बा हरेक कुरामा सिपालु हुनुहुन्थ्यो रे सबैसँग मित्रवत व्यवहार गर्नुहुन्थ्यो रे१एक किसिमले गाउको ठूलो मान्छे,मुखिया । उहाँ नगएको ठाउँ हुदैनथ्यो,नभेटेका मान्छे हुन्नथे।कला र गलामा भुक्तभोगी सायद त्यसैले होला गाउलेहरु अझै पनि बालाई सम्झिने गर्छन । बाको योगदान समाजले अझै भुल्न सकिरहेको छैन। यसबाट हामीले पनि सिक्नुपर्ने धेरै छ।बाको समाजमा जुन छाप छ त्यसलाई जोगाइराख्नु हाम्रो कर्तव्य हो र म निरन्तर लागिरहेछु।
अहिले दुबै दिदीहरुको अवस्था राम्रो छ।जेठी दिदीका २ सन्तान र कान्छी दिदीका १ सन्तान भैसकेका छन। दाइ पनि आर्थिक संकट टार्ने भैसक्नुभयो एक किसिमले घरको अभिभावक।म पनि लगभग आर्थिक जोहो गर्न सक्ने भैसके गाउँ जादा बा बित्नुभएको घर,बाको अन्त्येष्टि गरिएको ठाउँ देख्दा रुन मन लाग्छ । बालाई सम्झिन मन लाग्छ,बालाई चिन्न मन लाग्छ,बालाई आफ्नै अगाडि देख्न मन लाग्छ।तर सम्भव छैन ।
अब बाका सपना कस्ता थिए,के थिए म जान्दिन तर म मेरो सपना पूरा गरेर बिर्सिएको बाको अनुहार र नाम चर्चित बनाउने छु,बाको अनुहार यत्रतत्र चिनाउन मैले भगिरथ प्रयत्न गर्नेछु।हाम्रा लागि मरिमेटने दिदीहरु,आमा अनि हजुरआमाको शिर झुक्न दिने छैन। यो मेरो वचन मात्र होइन परम कर्तव्य पनि हो।मैले गर्नैपर्छ यो सबै।यसरी बाको अनुपस्थितिमा यहाँसम्म आइपुग्दा अनेकन अप्ठ्यारा पहाडका जञ्जिरहरु पार गरिएको छ,चुनौती सामना गरिएको छ। अनि केहि पाठ पनि सिकिएकै छ । यी सबै कुराहरुबाट सिकिएको एउटै पाठ हो संघर्ष।
मान्छेमा यदि संघर्ष गर्ने साहस नहुदो हो त जुनसुकै बेला पनि जुनसुकै कुरामा असफल भइदोरहेछ।यदि हामीले कठिन संघर्ष नगरेको भए सायद आज हामी यो ठाउँमा हुन्थेनौ।त्यसैले मैले भोगेको भोगाइबाट अरुलाई दिने प्रेरणा केवल संघर्ष मात्र हो।बा नहुदा झेल्नुपर्ने समस्यासँग कोहि मुकाबिला गर्न गाह्रो मान्छन भने त्यो व्यर्थ हो।मेरा बा१म,परिवार अनि समाजका लागि सदा अमर छन। सलाम बालाई !