बलिउडका किंग खान अर्थात शाहरुख खानकी छोरी सुहाना खान इन्डस्ट्रीको सबैभन्दा प्रसिद्ध स्टार बच्चाहरूमध्ये एक हुन् ।शाहरुख खानले भने छोरीको बारेमा यस्तो ‘मेरा सन्तानहरुले फिल्ममा अभिनय गर्नैपर्छ भन्ने छैन, तर जे गर्छन् असल काम गरिदिउन् भन्ने हो’, एउटा पत्रकार सम्मेलनमा बलिउड अभिनेता शाहरुख खानले भनेका छन्, ‘छोरीको विषयमा म अझै सचेत र जिम्मेवार छु।
किन कि ऊ छोरी हो।’तर, रजतपटीय मैदानमा नउत्रदै शाहरुख पुत्री सुहाना खान भने ‘ग्लामर गसिप’की खास पात्र बनिरहेकी छन्।सार्वजनिक समारोहमा उनले लगाएको पहिरन मात्र होइन ‘मेक अप’ र ‘हेयर स्टायल’ पनि चर्चाको विषय बन्छ। अमेरिकाको न्यूयोर्क विश्वविद्यालयमा अध्ययन गरिरहेकी सुहानाले सार्वजनिक गर्ने तस्बिरहरुबारे कतिपय मिडियाहरुले समाचार बनाउन थालेका छन्।
उनका प्रशंसकहरु पनि बढिरहेका छन्। सुहाना ‘फ्यान क्लब’का नाममा खुलिरहेका फेसबुक, ट्वीटर या इन्स्टाग्राम ‘अकाउन्ट’को संख्याबाट उनको सामाजिक सञ्जालमा उकालो लाग्दो चर्चा र चासो बुझ्न सकिन्छ। उनका नयाँ-नयाँ तस्बिरहरु सञ्जालमा बहसका विषय बन्छन् । सार्वजनिक समारोहमा पुग्दा उनको हाउभाउ र फोटो सुटका ‘भिडियो क्लिप्स’ भाइरल बनिरहेका हुन्छन्।
तस्बिरमा आएका प्रतिक्रियाहरु हेर्दा लाग्छ, प्रशंसकहरुले सुहानाले छिटोभन्दा छिटो फिल्ममा अभिनय गरिदिउन् भन्ने चाहन्छन्। तर, उनी अहिल्यै पर्दामा देखिने भने छैनन्।
साँचो के हो भने, उनले फिल्मकै लागि भनेर न्यूयोर्क विश्वविद्यालयमा अभिनय बिषय पढिरहेकी छन्। ‘उनी तत्कालै फिल्ममा देखिने त छैनन्, तर कुनै पनि बेला उनी अभियन गर्न सक्ने भएर फर्किने छिन्’ सुहानाका बाबु शाहरुखका शब्दमा, ‘सुहानाको फिल्मयात्राका लागि परिवारका सबै सदस्यहरुको सहयोग र सद्भाव रहनेछ।’
हालै मात्र सार्वजनिक भएका १९ वर्षिया सुहानाका तस्बिरहरु फेरि एकपटक उनका प्रशंसक र आलोचक सबैका लागि चर्चाका विषय बने।सामाजिक सञ्जालमा आएका कतिपय उनका तस्बिरहरु ‘हट’ भएको भन्दै उनका प्रशंसकहरुले छिटोभन्दा छिटो फिल्ममा देखिन आग्रह गरेका छन्। ‘तिमी जस्तो पहिरनमा पनि क्युट देखिन्छौ।
त्यसैले फिल्मको तयारी गर’, उनको फ्यान क्लबका नाममा खोलिएको इन्स्टाग्राममा एक प्रशंसक लेख्छन्, ‘राम्रो अभिनेताको छोरी पक्कै राम्रो अभिनेत्री हुन सक्छ। हामीलाई यही विश्वास छ।’
आफ्ना साथीहरुसँग निलो रङको पहिरनमा रमाइरहेकी सुहानाका कतिपय आलोचकहरुले उनलाई पहिरन र त्यसको वनावटमा ध्यान दिन सुझाव दिएका छन्।‘यसले पटक्कै शोभा दिँदैन, यो सुहाएको पनि छैन,’ अर्का एकजना इन्स्टाग्राम प्रयोगकर्ताले लेखेका छन्, ‘बाबुले आर्जेको इज्जतको ख्याल गर्नु।’ यसअघि पनि सुहानाका तस्बिरहरु पटकपटक भाइरल भइसकेका छन्। कतिपय अवस्थामा उनी तस्बिरहरुकै कारण ट्रोलको शिकार पनि भइसकेकी छन्।
रंगीन दुनियाँका भारतीय मिडियाहरुले पनि उनलाई अझै संयम् हुन र बाबुको पदचाप पछ्याउन सुझाव दिइरहेकै हुन्छन्। यद्यपि सुहाना आफैंले भने आफ्ना विवादहरुबारे अहिलेसम्म कहिँकतै केही बोलेकी या लेखेकी छैनन्। उनकी आमा गौरीका अनुसार सुहानाले आफ्ना आलोचनालाई भन्दा बढी आफ्नो करिअर र आफूले के गर्नुपर्छ भन्ने विषयमा ‘फोकस’ हुन्छिन्।
‘हुर्केका सन्तानहरु आफ्नो रुचि पछ्याउन सक्षम हुन्छन्,’ एक म्यागेजिनसँग वार्ताका क्रममा गौरीले भनेकी छन्, ‘यस विषयमा हामीले बोल्नु बेकार छ। हामीले हाम्रो अभिभावकीय जिम्मेवारी चाहिँ पूरा गरिरहेका छौं।’
झण्डै डेढ वर्ष अगाडि भारतीय मिडियामा शाहरुखकी छोरी सुहाना र अमिताभ बच्चनका नाति अगस्त्यबीच ‘अफेयर’ भन्दै सृजना भएको गसिपका कारण खान परिवार चिन्तामा परेको खबर सतहमा आएको थियो। तर, यो विषय विस्तारै सेलाउँदै गएपछि उनको चर्चा सामाजिक सञ्जालहरुमा बढी केन्द्रित हुन थाल्यो।