कांग्रेस केन्द्रीय कार्यालयमा झडप, देउवा प्रवेश गर्नै लाग्दा भयो यस्तो हातपात

काठमाडौं, १३ माघ । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ । कांग्रेसको विद्यार्थी संगठनका दुई समूहबीच झडप हुँदा सानेपामा तनाव उत्पन्न भएको छ । 

नेपाली कांग्रेसको पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले उमेरको हदबन्दी तोकिनुपर्ने माग राख्दै पार्टी कार्यालयमा अनसनमा बसेपछि देउवा समूहले हातपात गरेको हो ।

नेविसंघमा अहिले नै ३२ वर्ष उमेर हद लागू गर्नुपर्ने र लागू गर्न नहुने पक्षबीच विवाद चलिरहेको छ । काफ्ले समूहबाट पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी अनसनमा बसेका छन् । विधान लागू गर्न माग गर्दै महिना दिनदेखि रिले अनसन पनि जारी छ ।

शुक्रबार नेपाली कांग्रेसका नेताहरुबिच नेविसंघमा १२७ जनाको तदर्स समिति हुने सहमति भएको थियो । नेविसंघको अध्यक्षमा विद्यार्थी नेता राजीव ढुंगानाको नाममा सहमति भएको छ । त्यसैगरी अन्य नामहरुको टुङ्गो भने आ–आफ्नो समूहमा छलफल गरी सोमबार बस्ने कांग्रेस केन्दीय कार्यसमितिको बैठकबाट अनुमोदन गर्ने तयारी रहेको स्रोतले जानकारी दिएको छ ।

समितिमा अध्यक्षसहित दुई उपाध्यक्ष, तीन महामन्त्री, दुई सहमहामन्त्री र कोषाध्यक्षसहित ४९ जना कांग्रेस सभापति शेरबहादुर देउवा निकट रहने छन् । त्यसैगरी दुई उपाध्यक्ष, दुई महामन्त्री र दुई सहमहामन्त्री बरिष्ठ नेता रामचन्द्र पौडेल निकट रहनेछन् । सहमति अनुसार दुई उपाध्यक्ष, दुई महामन्त्री र दुई सहमहामन्त्री अर्का नेता कृष्ण प्रसाद सिटौला निकट रहने सहमति भएको छ । त्यस्तै एक महामन्त्री कांग्रेस उपसभापति विजयकुमार गच्छदार निकटलाई दिइने भएको छ ।

Loading...