पाल्पा, ३ माघ । बिहीबारदेखि परेको वर्षाले पाल्पा, गुल्मी र स्याङ्जाको संगम रूरू क्षेत्रमा चलेको महोत्सव प्रभावित बनेको छ । वर्षासँगै रिडी खोला बढेपछि पाल्पा र गुल्मीतर्फ राखेको २० भन्दा बढी स्टलमा क्षति पुगेको छ । केही पसल राख्न नमिल्ने गरी नै बगाएको छ । रिडी खोलाले कतिपय स्टलका सामान पनि बगाएको छ । केही पसलको सामानसमेत रिडी खोलाले बगाएको तानसेन नगरपालिका–१४, अर्गलीका सञ्जय भट्टराईले बताए ।
सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्दारमा खटिएको छ । स्टल राखेका व्यवसायी वर्षाका कारण लाखौं क्षति पुगेको गुनासो गरेका छन् । बिहीबार राति रिडीखोला एक्कासि ठूलो भएपछि मेलाको लागि बनाइएको ह्यृुम पाइपसहितको अस्थायी पुल समेत बगाएको छ ।
नौ दिने रूरू महोत्सव गुल्मीतर्फ चलेको छ । पाल्पातर्फ भने कम्तीमा तीन दिनसम्म मेला लाग्छ । मेलामा १ सय ५० बढी स्टल रहेको अर्गलीका वडाध्यक्ष कमल रानाले बताएमा छन । स्टलवालाहरु वर्षाका कारण आफूहरुलाई ठूलो क्षति भएको गुनासो राखेका छन् ।
महोत्सव र मेलाका लागि कालीगण्डकी नदीमा बनाएको अस्थायी पुलको केही भाग बगाएपछि स्याङ्जातर्फ आवातजावत ठप्प भएको छ । कालीगण्डकी नदी बढ्ने क्रम जारी छ भने रिडी खोला पनि बढ्ने क्रम रोकिएको छैन ।