काठमाडौं, ३ माघ । बुधबार साँझबाट नेपाल प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै देशको माथिल्लो भागमा हिमपात र अन्य स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । ‘बुधबार बिहानदेखि प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण अहिले उच्च हिमाली भेगमा हिमपात तथा देशका अन्य भागमा वर्षा भइरहेको छ,’ मौसमविद् पोखरेलले भनिन् ।
महाशखाले शुक्रबार बिहान ८ः४५ बजेसम्म गरेको मापनअनुसार, सबैभन्दा बढी दाङमा २९ मिलिलिटर पानी परेको छ । त्यसपछि वीरेन्द्रनगर, पोखरा र काठमाडौंमा बढी वर्षा भएको छ । महाशाखाका अनुसार, वीरेन्द्रनगर, पोखरा र काठमाडौंमा अहिलेसम्म क्रमशः २४, २३ र २१ मिलिलिटर पानी परेको छ । सिमरामा १८, नेपालगञ्जमा १० र डडेल्धुरामा ८ मिलिलिटर वर्षा भएको महाशाखाको रेडर्कमा उल्लेख छ ।
वर्षा र हिमपातले देशको जनजीवन प्रभावित भएको छ । काठमाडौंमा बिहानैदेखि वर्षा भएपछि आमनागरिकले कठिनाइ झेलेका छन् । देशको उच्च भागमा परेको हिमपातले जनजीवन थप कष्टकर बनेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिनभर बदली र वर्षाको श्रृंखला चलिरहनेछ । शनिबारबाट भने मौसम विस्तारै सुधारिँदै जाने मौसमविद्को प्रक्षेपण छ । ‘आज दिनभर बदली र वर्षाको श्रृंखला चलिरहे पनि भोलिबाट भने मौसम सुधारिँदै जाने देखिन्छ,’ मौसमविद् विभूति पोखरेलले अनलाइनखबरसँग भनिन् ।
मौसममा बारम्बार किन भइरहेको छ बदलाब ?
यस वर्षको हिउँदमा मौसम छिटो–छिटो परिवर्तन भइरहेको छ । केही दिन घाम लाग्ने र त्यसपछि फेरि वर्षा हुने क्रम चलिरहेको छ । मौसमविद् वरुण पौडेलका अनुसार, मौसमी प्रणाली भित्रिने र बाहिरिने क्रम छिटो–छिटो भइरहेकाले घाम लाग्ने र पानी पर्ने शृंखला चलिरहेको छ ।
अघिल्ला वर्षहरूको हिउँदमा बढीमा ४र५ वटा मौसमी प्रणाली भित्रिने गरे यस वर्ष छिटो–छिटो मौसमी प्रणाली फेरिएकाले वर्षा र हिमपात भइरहेको उनको भनाइ छ । नेपालमा भित्रिने मौसमी प्रणालीको स्रोत भूमध्य सागर हो । यहाँबाट बहने हावा सोझै नेपालतर्फ बहँदा त्यसको असर बढी पर्ने र अन्यत्र मोडिँदा प्रभाव कम हुने मौसमविद् बताउँछन् ।