प्रसाईंमाथि प्रहरीको अनुसन्धान शुरु, दोषी ठहरीय १ वर्ष जेल

भक्तपुर, ३ माघ । सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीलाई घुस मागेको आरोप लगाउने बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंमाथि भक्तपुर प्रहरीले अनुसन्धान अघि बढाएको छ । आयोगका उपाध्यक्ष गिरीले बुधवार महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रसाईविरुद्ध आफूमाथि अभद्र व्यवहार गरेको भन्दै उजुरी दिएका थिए । सोही उजुरीको आधारमा प्रसाइमाथि अनुसन्धान भैरहेको परिसर प्रमुख रहेका प्रहरी उपरीक्षक सविन प्रधानले पुष्टि गरे ।

भक्तपुरको निकोसेरा नजिकै बस्ने प्रसाई विराटनगर स्थित बीएण्डसी अस्पतालका सञ्चालक हुन् । मेडिकल कजेल संचालनको अनुमति प्रक्रियाका क्रममा आयोगका उपाध्यक्ष गिरीले आफूसंग २० करोड रुपिया मागेको उनको आरोप छ । केही समय अघि नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डलाई एकसाथ मार्सी चामलको भात खुवाएर चर्चामा आएका उनले पुस २३ मा पत्रकार सम्मेलन नै गरेर घुस मागेको आरोप लगाएपछि उपाध्यक्ष गिरीले त्यसको खण्डन गर्दै आएका छन् । गिरीले प्रसाईमाथि मानहानीको मुद्दा पनि दायर गरिसकेका छन् ।

बुधवार भने उनले महानगरीय प्रहरी परिसर भक्तपुरमा प्रसाईविरुद्ध आफूमाथि अभद्र व्यवहारको उजुरी दिएका हुन् । परिसर प्रमुख सविन प्रधानले भक्तपुर पोस्टसंग भनेअनुसार प्रसाईमाथि उपाध्यक्ष गिरीको उजुरीको आधारमा अनुसन्धान भैरहेको छ । उनी दोषी करार भएमा उनीमाथि अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाइने एसपी प्रधानको भनाइ छ ।

दोषी ठहर भए १ वर्ष कैद र १० हजार जरिवाना

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानका अनुसार अभद्र व्यवहार अन्तर्गत दोषी ठहरीय १ वर्ष सम्म कैद र १० हजार रुपिया सम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको छ । प्रहरी अनुसन्धानकर्ता मात्र भएको भन्दै प्रधानले प्रसाई दोषी देखिए मुद्दा चलाउने र उनी अपराधि ठहर भएमा कानुन बमोजिम सजायको भागीदार बन्ने बताए ।

Loading...