काठमाडौं, १ माघ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा कुकर बम विष्फोट भएको हुनसक्ने देखिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले कुकर बम विष्फोट भएको हुनसक्ने देखिएको हो नागार्जुन–१ नर्सरी चोकस्थित घटनास्थलमा पुगेका महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले कुकरका टुक्राहरु भेटिएको अनलाइनखबरलाई बताए । उनले भने, ‘थप अनुसन्धान गरिरहेका छौं ।’
काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार ढकालको घरमा बम राखिएको १० सेकेण्डमै विष्फोट भएको थियो । ‘खुला रहेको ढोकामा राखेर तीन जना व्यक्ति भागेको देखेको प्रत्यक्षदर्शीले बताएका छन्’, ती अधिकृतले भने, ‘सायद बममा टाइमर फिट गरिएको थियो ।’
विस्फोटपछि बम राखिएको ढोका उछिट्टिएको थियो भने आवाजले झ्याल पनि फुटेको डीआईजी पोखरेलले बताए । नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार अहिले सेनाको पोष्ट ब्लास्ट इन्भेस्टिगेसन पीबीआई टोली पनि घटनास्थलमा पुगेको छ । र, अनुसन्धान थालेको छ ।
ललिता निवासको जग्गा कब्जा गरेको विप्लव समूहको घोषणा
काठमाडौंका प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार घटनामा कुनै मानवीय क्षति भएको छैन । बालुवाटारमा पनि बम राखिएको हल्ला गरिए पनि केही नभेटिएको उनले बताए । बालुवाटारमा पनि शंकास्पद वस्तु रहेको भनिएपछि प्रहरीले कुकुर शाखाबाट विष्फोटक पदार्थ भएको स्थान पत्ता लगाउन सक्ने तालिम प्राप्त कुकुर परिचालन गरेको थियो । तर, केही फेला नपरेको बताइएको छ ।
विस्फोट हुँदा ढकालको परिवारका सदस्यहरु घरमै थिए ।
विप्लव समूहले विस्फोटको जिम्मा लिएको छ । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव समूहले जनाएको छ ।