सुन्दा लाज हुने र रुखो बोलीका यातायात मजदुर, लुगै मैलो हुने गरी फोहोर र कपडै च्यात्ने थोत्रा सिटहरू

काठमाडौं १ माघ। रुखो बोलीका यातायात मजदुर, त्यसमाथि यात्रुको लुगै मैलो हुने गरी फोहोर र कपडै च्यात्ने थोत्रा सिटहरू काठमाडौंँ उपत्यकामा गुड्ने कतिपय सार्वजनिक सवारी साधनमा देखिएको यो ज्वलन्त समस्या हो । त्यति मात्र होइन, भाडा उठाउनकै लागि यात्रुलाई कोचाकोच गरिन्छ । ट्राफिक प्रहरी प्रमुख भीम ढकाल यसमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछन् । तर कति सम्भव होला रु यति मात्र सार्वजनिक सवारीको समस्या होइन । कतिपय सार्वजनिक सवारीमा उडुसकै आतङ्क भएको यात्रु बताउँछन् ।

उडुस नै घर पुग्ने गरी सर्छन् भने जुम्रा, उपियाँ नहुने कुरै भएन । महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकारी भन्छन्, “अनुगमनका क्रममा सिटहरू ठुस्स गन्हाउने भेटियो । उडुस भेटिएको यात्रु नै बताउने गर्छन् । धेरै सवारीका भाँचिएका, थोत्रा र मैलो सिट पनि भेटिए ।” सार्वजनिक यातायातका सवारीको बेथितिका सम्बन्धमा धेरैको गुनासो आयो, ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ढकालले भने “बारम्बार सरसफाइ र सुधारका लागि आग्रह गर्दा पनि अटेर गर्नेलाई कारबाही गर्न अनुगमनमा खटिनु परेको हो ।”

सुन्धारा क्षेत्र भएर सञ्चालन हुने करिब ३० वटा सार्वजनिक सवारी साधनलाई अनुगमन गरिएको छ । अनुगमनका क्रममा सवारी साधन तथा चालक र सहचालकमा देखिएका कमीकमजोरी २४ घण्टाभित्र सुधार गर्न प्रतिबद्धतापत्रमा समेत हस्ताक्षर गराइएको छ । अधिकांश सवारीको झ्याल र ढोका बिग्रिएर कामचलाऊ अवस्था छन् भने हप्तामा एक दिन सफा गरेको पाइएको छैन । समात्ने डन्डी तथा ह्यान्ड कच टुटेको अवस्थामा फेला परेका छन् । गाडीहरूमा यात्रुमैत्री सुविधाको धेरै नै अभाव छ ।

त्यसैगरी सार्वजनिक यातायात सेवालाई सुरक्षित, मर्यादित र यात्रुमैत्री बनाउन चालकको भूमिका महत्वपूर्ण हुने भएकाले अशोभनीय क्रियाकलाप, तुच्छ र अपशब्द प्रयोगमा प्रतिबन्ध लगाइएको छ । जुत्ता लगाएर सवारी चलाउन अनिवार्य गरिएको छ । सवारी चलाउँदा चर्को गरी गीत बजाउने र सूर्तिजन्य पदार्थ खान निषेध गरिएको छ ।

चालक तथा सहचालकले यात्रुमैत्री व्यवहार प्रदर्शन गर्न बोली, व्यवहारका अतिरिक्त साथी सङ्गीहरूसँग कुरा गर्दासमेत सचेत हुनुपर्ने छ । ट्राफिक नियमको पूर्णपालना गरी यात्रुप्रति सेवाभाव राख्न सचेत गराइएको छ । “सवारी दुर्घटना आफ्नो कारणले भन्दा अर्काको कारणले पनि हुन सक्ने भएकाले सार्वजनिक सवारीका चालकहरू निजी सवारी चालकभन्दा सचेत र जिम्मेवार हुनुपर्ने छ ।”

महाशाखा प्रमुख ढकालका अनुसार थोत्रो र मैलो सिट कभर, भाँचिएको सिट र फोहोर शब्द प्रयोग गरेको गुनासो आएमा कारबाही हुनेछ । अनुगमनका क्रममा यातायात व्यवसायीहरूले ठूलाखाले बसमा भन्दा माइक्रोबस र मिनीबसमा समस्या रहेको बताएका छन

Loading...