दूरसञ्चार प्राधिकरणको अनुरोध, टावर हान्ने काम बन्द गर्नुस!

काठमाडौं, २९ पुस। सोमबार काठमाडौंका दुई स्थानमा रहेका एनसेलका टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका छैमले र तारकेश्वर नगरपालिकामा रहेको टावरमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगजनीको जिम्मा अहिलेसम्म कसैले पनि लिएको छैन ।

एनसेलका अनुसार सन् २०१९ मा मात्रै ३० जिल्लाका ५० भन्दा बढी टावरहरुमा आगजनी भएको छ । “सन् २०१९ मा मात्र एनसेलका ३० जिल्लामा रहेका ५० भन्दा बढि टावरहरुमा आगजनी गरी क्षति पुर्याईका थिए । यसका कारणले गर्दा २५० भन्दा बढी टावरहरुले प्रदान गर्ने दूरसञ्चार सेवा प्रभावित भएको थियो,” एनसेल स्रोतले भन्यो ।

प्रहरी प्रवक्ताले दिएको जानकारीअनुसार एनसेलको टावरहरुमा लगातार आक्रमण विप्लव समूहले नै गरेको पाइएको छ । “एनसेलका टावरहरुमा लगातार आक्रमण गर्ने समूह विप्लव समूह नै हो भन्ने हाम्रो जानकारीमा आएको छ,” प्रवक्ता डीआईजी शैलेश थापा क्षेत्रीले भने । उनका अनुसार प्रतिबन्धपछि मात्रै विप्लव समूहका १३५७ जना पक्राउ परिसकेका छन् ।

त्यसमा केही एनसेलको टावरमा क्षति पुर्‍याउनेहरु पनि रहेको उनको भनाई थियो । तर उनीहरुलाई अन्य मुद्दा पनि रहेकाले क्षति पुर्‍याउनेको संख्या भन्न नसकिने उनको प्रतिक्रिया थियो । “विप्लवका केही मान्छेहरुलाई पक्राउ गरेका छौं । कानुनी दायरामा ल्याउने काम जारी छ,” डीआईजी क्षेत्रीले भने ।टावरमा क्षति पुग्दा सरकारले अत्यावश्यक भनि मानेको दूरसञ्चार सेवा प्रयोग गर्नबाट बञ्चित हुनुपरेको छ ।

“दूरसञ्चार सेवाका टावरहरुमा आगजनी गर्नु सार्वजनिक अपराध हो र यस्ता कार्य दूरसञ्चार एनेमा पनि वर्जित गरिएको छ,” नेपाल दूरसञ्चार प्राधिकरणका एक उच्च अधिकारीले भने, “यद्यपि प्रत्येक वर्ष जस्तो एनसेलका टावरहरुमा क्षति पुर्याई मानिसहरुमा डर, त्रास पैदा गराउने, आम जनमानसलाई सेवाबाट बन्चित गर्ने, व्यवसाय गर्ने वातावरणलाई दुरुत्साहन गर्ने लगायतका कार्यहरु भई रहेका छन् ।”

उनले यस्ता कार्यले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न सशंकित बनाएको भए पनि सरकारले कारबाहीको दायरामा ल्याउन नसकेको बताए । पछिल्लो दुई हप्तामा तनहुँ, बारा, गोर्खा, सुर्खेत, नुवाकोट, ललितपुर लगायतका जिल्लामा रहेका एनसेल टावरहरुमा आगजनी गरिएको छ ।

“यी घटनाहरुले सरकारले शान्ति सुरक्षाको प्रत्याभुति दिन नसकेको, आम उपभोक्ताहरु सञ्चार जस्तो अत्यावश्यक सेवाबाट बन्चित भएको, कानुन बमोजिम स्थापनन भई संचालनमा रहेको कम्पनीको भौतिक पुर्वाधारमा क्षति पुर्याएको स्पष्ट हुन्छ,”प्राधिकरणका ती अधिकारीले भने ।
यसअघि एनसेलले कर नतिरेको हुँदा टावरहरुमा आगजनी गर्ने गरेको पाइएको थियो । एनसेल स्रोतले दिएको जानकारीअनुसार यस आर्थिक वर्षमा विभिन्न शीर्षकमा एनसेलले ३४ अर्बभन्दा बढी कर दाखिला गरेको जनाएको छ भने स्थापनादेखि अहिलेसम्म २१० अर्ब कर तिरेको जनाएको छ ।

सर्वोच्च अदालतको फैसला र ठूला करदाता कार्यालयले निर्धारण गरे बमोजिम पुँजीगत लाभकर पनि पहिलो किस्ताका रुपमा रु ४ अर्ब ५० करोड दाखिला गरिसकेको छ । ठूला करदाता कार्यालयका अनुसार एनसेलले बाँकी रहेको पुँजीगत लाभकर यसै आर्थिकवर्षभित्रै बुझाउनुपर्नेछ । उता नेपाल दूरसञ्चार प्राधिकरणले मंगलबार एक विज्ञप्ति जारी गर्दै टावरहरुमा पुर्‍याएको क्षतिका सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।

“विगत केही समयको अन्तरालमा मोबाइल सेवाका टावरहरुमा क्षती पुर्‍याइ सेवा अवरुद्ध गर्ने कार्य भएको प्रति यस नेपाल दूरसञ्चार प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ,” जारी विज्ञप्तिमा भनिएको छ, “दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाको रुपमा स्थापित भैसकेको सन्दर्भमा यसरी सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर आम नेपाली उपभोक्ताहरुमा पर्ने हुन्छ । नेपाली जनतासँग प्रत्यक्ष सरोकार राख्ने अति आवश्यक दूरसञ्चार सेवाको पूर्वाधारका रुपमा रहेका टावरलगायतका प्रणालीमा क्षती नपुर्‍याउन र त्यस्तो कार्य तत्काल बन्द गरी निर्वाध रुपमा दूरसञ्चार सेवा सञ्चालन गर्ने वातावरण बनाउन सम्बन्धिक सबैमा अनुरोध गरिन्छ ।”

Loading...