संकटकाल बिर्साउने गरी सरकारले गिरफ्तार गर्न थाल्यो: बिप्लव

काठमाडौ, १६ पुस । विप्लव नेतृत्वको नेकपाले वर्तमान सरकारमाथि ‘संकटकाल बिर्साउने गरी’ आफ्ना कार्यकर्ता गिरफ्तार गर्न थालेको आरोप लगाएको छ । पार्टीका पूर्वी केन्द्रीय कमाण्ड विषमले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीका केन्द्रीय सदस्य तथा मेची–कोशी व्युरो इन्चार्ज उमा भुजेलसहित मेची–कोशी व्युरो सचिव सुमन सिंह, मोरङ जिल्ला इन्चार्ज नरेश चौलागाई लगायत ९ जनालाई सुनसरी र मोरङबाट गिरफ्तार गरिएको जनाएका छन् ।

पार्टी कामको सिलसिलामा रहेका बेला आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई हतियारधारी सुरक्षाकर्मीले संकटकाललाई बिर्साउनले गरी गिरफ्तार गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । हाम्रो पार्टी केपी सरकारको उक्त रवैयाको घोर भत्र्सना र निन्दा गर्दै गिरफ्तार गरिएका कमरेडहरुलाई विना शर्त रिहाइको माग गर्दछ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘भारतीय हस्तक्षेपविरुद्ध आन्दोलन गर्दा प्रहरी दमन गर्ने सरकार विदेशी शक्तिका सामु लम्पसार परिरहेको छ ।

राष्ट्रियता रक्षाको आन्दोलनमा आवाज उठाउँदा आफ्ना पार्टीका नेता–कार्यकर्ताहरुलाई गोली हान्ने, झुठा मुद्दा लगाउने, जेल–हिरासतमा पठाउने कार्यले वर्तमान सरकार वास्तविक शान्तिका पक्षमा नभएको बुझ्न सकिने पनि सो पार्टीले प्रष्ट पारेको छ ।सरकारद्वारा प्रतिवन्धित नेकपाका पूर्वी केन्द्रीय कमाण्ड विषमले गिरफ्तार गरिएका आफ्ना पार्टीका नेता–कार्यकर्ताको विनाशर्त रिहाइ माग गर्दै रिहा नगरे त्यसबाट निस्कने परिणामको जिम्मेवार स्वयं सरकार हुने चेतावनीसमेत दिएका छन् ।

Loading...