उम्मेदवार छनोट गर्न नेकपाले बोलायो बैठक

काठमाडौँ, १६ पुस। सभामुख र राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारबारे निर्णय गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा० ले सचिवालय बैठक बोलाएको छ । बैठक पुस १७ गते ४ बजे बस्ने नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।

महासचिव पौडेलका अनुसार भोलिको बैठकमा विशेषगरी आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारबारे छलफल हुने छ । ‘राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार छनोट र सभामुखको उम्मेदवार छान्ने विषयमा छलफल हुन्छ’, महासचिव पौडेलको भनाइ छ । मङ्गलबार प्रधानमन्त्री केपी ओली र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सभामुखको उम्मेदवार छनोट गर्न छलफल भएपनि सहमति जुट्न सेकेको थिएन ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले यहि पुस २० गते बिहान १० बजेदेखि ३ बजेभित्र मनोनयन दर्ता गरिसक्नुपर्ने निर्वाचन आयोगले कार्यातालिका सार्वजनिक गरिसकेको छ । निर्वाचनका लागि आयोगले पुस १५ गते सातै प्रदेशमा निर्वाचन कार्यलय स्थापना गरेको जनाएको छ । माघ ९ गते राष्ट्रिय सभामा रिक्त हुने १८ सदस्यका लागि निर्वाचन हुदैछ ।

यसअघि गत आइतबार बसेको बैठकले सभामुखको उम्मेदवार छनोट गर्ने भनिएपनि नेताहरुबीच कुरा नमिल्दा निर्णय हुन सकेको थिएन । बरु नेकपा केन्द्रले प्रदेश सभाको अधिकारमाथि हस्तक्षेप गर्दै प्रदेश नम्बर ३ को राजधानी हेटौँडा र नाम वाग्मती राख्न निर्देशन दिएको थियो ।

नेकपाको उक्त निर्देशनपछि नेकपाकै कतिपय प्रदेश सांसदहरुले विरोध जनाएका छन् । उनीहरुले संविधान र प्रदेश सभाको अधिकार हनन गर्न खोजेको भन्दै पार्टी सचिवालयको निर्णय नमान्ने चेतावनी दिएका छन् । प्रदेश ३ को राजधानी हेटौडा कुनै हालतमा नस्वीकार्ने बताएका उनीहरुले प्रदेश सभामा मतदानमार्फत् राजधानी टुङ्ग्याउने जनाएका छन् ।

Loading...