१० दिन उपचार गराउँदा ओलीको खर्च साढे २ लाख

काठमाडौं २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन अस्पतालमा उपचार गराउँदा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका निर्देशक डा। उत्तमकृष्ण श्रेष्ठको अनुसार शल्यक्रिया, आईसीयू बेड र औषधि उपचारमा २ लाख ५५ हजार रुपैयाँ खर्च भएको हो ।

यो अस्पतालमा प्रधानमन्त्रीलाई १० दिन आईसीयूमा राखिएको थियो । यहाँ आईसीयू बेडको एक दिनको शुल्क १२ सय ५० रुपैयाँ छ । डा।श्रेष्ठले भने, ‘हामीले एकमुस्ट रकम हिसाब गरेर यो खर्च निकालेका हौं । उहाँलाई सामान्य नागरिकसरहकै शुल्क लिइएको हो ।’

१० दिनअघि एपेण्डिसाइटिसको अप्रेसन गरेका प्रम ओली १० दिनपछि आज डिस्चार्ज भएका हुन् । गत वर्ष छातीमा ‘इन्फेक्सन’ भएर ५ दिन मनमोहन सेन्टर बस्दा साढे २५ हजार रुपैयाँ लागेको थियो । निर्देशक श्रेष्ठले भने, ‘यो पटक अप्रेसन गरेको भएकाले उपचार खर्च बढेको हो ।’ उपचारमा संग्लग्न एक चिकित्सकका अनुसार प्रम ओली अस्पतालको सेवा सुविधाप्रति खुशी भएका छन् ।

Loading...