पुराना कर्मचारी सबैलाई एकैपटक बिदा दिने: प्रचण्ड

काठमाडौं २० मंसिर । नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता र कर्मचारीबीच ठूलो अन्तरविरोध चलिरहेको बताएका छन् । नेता र कर्मचारीबीचको अन्तरविरोधले राजनीतिक परिवर्तनहरु संकटमा परेको उनले बताए । ‘राणा शासन ढलेर पञ्चायत आयो, नेता फेरिए कर्मचारी फेरिएनन् ।

पञ्चायत ढल्यो बहुदल आयो, नेता फेरिए कर्मचारी फेरिएनन्, बहुदल पनि गयो गणतन्त्र नेपाल आयो, हामी नेता फेरियौ तर कर्मचारी फेरिएन’, उनले भने, ‘पुरानै मानसिकता बोकेका कर्मचारीका कारण जति राजनीतिक परिवर्तन भए पनि देश सफल हुन सकेन ।’ सुदुरपश्चिम प्रदेश पुगेका उनले पुरानो मानसिकता बोकेका कर्मचारीलाई ससम्मान बिदा नदिएसम्म परिवर्तनको महसुस जनताले गर्न नपाउने बताए ।

एउटा सामान्य कामका लागि पनि स्थायी सरकार मानिने कर्मचारीले तनाव दिने गरेको उनले बताए । ‘जब नेता कर्मचारीसँग जान्छ, कर्मचारी यो नियम, त्यो विधि भन्दै नेताहरुको दिमाग खराव बनाउँछ’, उनले भने, ‘यसरी विकास र समृद्धि हुँदैन । पुराना कर्मचारीलाई ससम्मान बिदा नै दिनुपर्दछ ।’

उनले ठुला–ठुला राजनीतिक परिवर्तन ठुलो तपस्या र बलिदानीबाट आउने तर कार्यान्वयन गर्ने कर्मचारीको मानसिकता पुरानै हुँदा सवै राज्यब्यवस्था असफल भएको बताए । ‘सानो मेहेनतबाट जनताको संविधान बनाएका होइनौ तर कर्मचारीको पुरानो मानसिकताले संविधान कार्यान्वयन हुन सकेन’ प्रचण्डले भने ।

कर्मचारीकै कारण संघियता असफलतातिर गएको टिप्पनी पनि उनले गरे । ‘संविधान र हामी परिवर्तनकारीहरु अधिकार तल दिने गरी संघियताका पक्षमा छौ तर कर्मचारीहरु बिस्तारै केन्द्रतिर सवै अधिकार ल्याउन खोजिरहनु भएको छ’, उनले भने, ‘उहाँहरु केन्द्रीकृत शासन ब्यवस्थाबाट आएको हुनाले यस्तो समस्या पैदा भएको हो ।’

उनले तोकेका ठाउँमा नजाने, प्रदेश र स्थानीय तहको नाम नै सुन्न चहाने कर्मचारीलाई सहुलियत दिएर भएपनि विदा गर्नुपर्ने बताए । कतिपय कर्मचारीका कारण संविधानले दिएको अधिकार पनि केन्द्रमा खोस्ने काम भएको भन्दै उनले आक्रोस पनि पोखे ।

‘स्थानीय तह र प्रदेशका अधिकार स्थायी सरकार भनिने कर्मचारीले केन्द्रतिर विस्तारै लिन थालेका छन् । उनिहरुको दिमाग, संघिता भन्दा केन्द्रीयतातिर गयो’, उनले भने, ‘ युद्धबाट शान्तिमा आयौ, संविधान बनाऔ, तर संविधान कार्यान्व्यन गर्न नसकेर हात्ति छिरयो, पुच्छर अड्क्यो जस्तो भएको छ ।’

Loading...