करारका शिक्षक हटाउन नसक्ने भन्दै पूर्वीचौकी गाउँपालिकाले स्थायी शिक्षकलाई हाजिर गराएन

डोटी । स्थानीय तहले करारमा राखेका शिक्षक हटाउन नसक्ने भन्दै स्थायी नियुक्ति पाएर सिफारिस भएका शिक्षकहरुलाई हाजिर नगराउँदा शिक्षकहरु बिचल्ली परेका छन् ।

शिक्षा विकास तथा समन्वय इकाइ डोटीले मंसिर ८ गते स्थायी नियुक्ति दिएर ९ गते स्थानीय तहमा सिफारिस गरेर पठाएपनि स्थानीय तहले हाजिर नगराएपछि शिक्षकहरु समस्यामा परेका हुन् ।

इकाइले सिफारिस गरेर पठाएका १९ शिक्षकमध्ये १४ जनालाई हाजिर गराएपनि पूर्वीचौकी गाउँपालिकाले करारका शिक्षक हटाउन नसक्ने भन्दै ५ जना शिक्षकहरु हाजिर नगराएको हो ।

शिक्षक सेवा आयोगको खुला प्रतिस्पर्धाबाट स्थायी बन्न सफल पर्शुराम–८, डडेल्धुराका भिमबहादुर कामी, बेलौरी–१०, कञ्चनपुरका जयराम सुनार र कविलासी–७ सर्लाहीका उमेश रायलाई गाउँपालिकाले हाजिर नगराएको हो । यस्तै, विजयनगर–३ कपिलवस्तुका दिनेशकुमार चौधरी र बाघेबसैन–३ सप्तरीका टेकनारायण साहलाई पनि गाउँपालिकाले हाजिर नगराएको हो ।

इकाईले स्थायी नियुक्ति दिएर पदस्थापनका लागि पालिका रोजाएर सिफारिस गरेको भएपनि पूर्वीचौकी गाउँपालिकाले पहिल्यै करारमा नियुक्त गरेको शिक्षक हटाउन नसक्ने भन्दै हाजिर गराउन आनाकानी गरेपछि शिक्षकहरु बिचल्लीमा परेका हुन् ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख अमरप्रसाद भट्टलाई हाजिर नगराएको बारे गुनासो गर्दा आफुहरुले सिफारिस गरेर पठाइसकेकाले केही गर्न नसक्ने जवाफ दिने गरेको पीडित शिक्षक भिमबहादुर कामीले जानकारी दिए । इकाई प्रमुख भट्टले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशन अनुसार सिफारिस गरेर पठाएकाले अब हाजिर नगराए मुद्दा गर्न सुझाब दिने गरेको पीडित कामीको भनाइ छ । ‘शिक्षा इकाइले गाउँपालिका जाऊ भन्छ, गाउँपालिकाले शिक्षा इकाई जाऊ भन्छ, हामी कहाँ जाने हो ?’ कामी भन्छन्, ‘हामी शिक्षक सेवा आयोगले तोकेका सबै मापदण्डहरु पूरा गरेर आएका हौं, फेरि पनि यस्तो किन ?’

‘कहिले गाउँपालिका त कहिले इकाई धाउदा धाउदा हैरान भइयो’–पीडित शिक्षक जयराम सुनारले भने । पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले करारमा राखेका शिक्षक हटाएर हाजिर गराउन नसक्ने भन्दै उनले पनि मुद्दा हाल्न चेतावनी दिने गरेको शिक्षक सुनार बताउछन् ।


गाउँपालिकामा शिक्षाका कुनै कर्मचारी नरहेको र प्रशासकीय अधिकृत टेकबहादुर खड्काले पनि गापा अध्यक्ष बोगटीकै बोलीमा लोली मिलाउँदा आफूहरु समस्यामा परेको अर्का पीडित शिक्षक उमेश राय बताउछन् । उनी भन्छन्, ‘लामो समयदेखि घर छोडेर यहाँ बसेका छौं, बोकेको पैसा पनि सबै सकियो ।’ जागिर खान आएको मान्छे घरबाट पैसा मगाउन पनि अप्ठेरो लागेको उनी बताउँछन् ।

पूर्वीचौकी गाउँपालिकाले योग्यताक्रम सूची मिचेर पदस्थापन गरेको शिक्षकहरुको गुनासो छ । योग्यताक्रम भन्दा पनि स्थानीयलाई नियुक्ति दिएको जयराम सुनार बताउँछन् । तर गाउँपालिका भने मापदण्ड अनुसार नै पदस्थापन गरिएको दाबी गर्छ ।

गत साउन १९ गते शिक्षक सेवा आयोगले डोटीको प्राथमिकतहको स्थायी शिक्षकहरुको अन्तिम नामावली प्रकाशित गरेको थियो । शिक्षा इकाईले स्थायी भएका ११७ शिक्षकहरुलाई मंसिर ८ गते पालिका रोजाएर स्थायी नियुक्ति दिँदै ९ गते स्थानीय तहमा सिफारिस गरेको थियो ।

किन हाजिर गराइएन ?

नेपालको संविधानले आधारभूत र माध्यामिक शिक्षा स्थानीय तहको अधिकार क्षेत्रभित्र राखेपछि पूर्वीचौकी गाउँपालिकाले २०७४ मा शिक्षा ऐन पास र्गयो । ऐनमा गाउँपालिका भित्रका विद्यालयमा कुनै कारणले दरवन्दी रिक्त भएमा गाउँपालिकाले नै नियुक्त गर्ने प्रावधान राख्यो । सोही अनुसार गाउँपालिकाले २०७४ र २०७५ मा शिक्षक भर्ना र्गयो, तर शिक्षा इकाइले ती शिक्षकहरुको अभिलेख जनाउन मानेन ।


इकाइका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र विषय विज्ञले परीक्षा लिएर नियुक्त गरेका शिक्षकहरुलाई मान्यता दिनु पर्ने अडान गाउँपालिकाको छ । ‘हामीले संवैधानिक अधिकार क्षेत्रभित्र रहेर शिक्षा ऐन बनाएका छौं, सोही ऐन अनुसार शिक्षक नियुक्त गरेका हौं,’ गाउँपालिकाका अध्यक्ष दिर्घराज बोगटी भन्छन्, ‘शिक्षा इकाइले हामीलाई नटेर्दा यस्तो समस्या भएको हो ।’

२०७५ साल चैत २२ गते जिल्ला समन्वय समिति प्रमुख, प्रमुख जिल्ला अधिकारी, इकाइ प्रमुखलगायतको संयुक्त बैठकमा ती शिक्षकहरुको अभिलेख जनाउने निर्णय भएपनि इकाइले उक्त निर्णय लत्याएको बोगटी बताउँछन् । उनले भने, ‘अरु ठाउँमा २०७६ साल असार १४ गते यता नियुक्ति पाएका करार शिक्षकहरु मात्रै अवकास हुने गरी खटाउने तर पूर्वीचौकीमा २०७४ मा नियुक्ति पाएको शिक्षकलाई पनि विस्थापित गर्ने गरी गरिएको निर्णय हाम्रालागि स्वीकार्य छैन ।’

उनले अन्य जिल्लाहरुमा विद्यालय व्यवस्थापन समितिले आफैं परीक्षा लिएर करार शिक्षक नियुक्त गर्ने गरेको तर डोटीमा शिक्षा इकाइले करार शिक्षक नियुक्त गरी पठाउने गरेकोसमेत आरोप लगाए । उनी थप्छन्, ‘करार शिक्षक नियुक्ति गर्दा पनि आर्थिक चलखेल हुन्छ भन्ने सुनेको छु, सत्य कति हो थाहा भएन ।’

बोगटीले गाउँपालिकाले कनिष्ठ र खाली स्थानमा शिक्षक हाजिर गराएपनि २०७४ र ०७५ मा करारमा नियुक्ति पाएका शिक्षकहरु हटाउन नसक्ने स्पष्ट पारे । ‘पूर्वीचौकी गाउँपालिकासँग कुनै समन्वय र परामर्श नगरी हावामा इकाईले शिक्षक सिफारिस गर्न पाउँछ ?’ उनले प्रश्न गरे ।

एकमहिना देखि इकाइ प्रमुख बेपत्ता

कात्तिक २१ गते कार्यालयको कामले काठमाडौं जाने भन्दै हिँडेका शिक्षा इकाइ प्रमुख अमरप्रसाद भट्ट हालसम्म जिल्ला फर्केका छैनन् । उनी कहाँ छन् भन्ने जानकारी छैन कार्यालयलाई । न उनले फोन नै उठाउछन् । शिक्षा इकाइ प्रमुख भट्टसँग टेलिफोनमा कुरा गर्न खोज्दा उनले बोकेको कार्यालयको नम्बर र उनको व्यक्तिगत नम्बर दुवै स्वीच्ड अफ छन् ।

Loading...