काठमाडौं ५ मंसिर । तत्कालिन एमालेमा गोकर्ण बिष्ट र लालबाबु पण्डित मन्त्री बनेपछि चर्चित र सफल बनेका थिए । तर वर्तमान नेकपाको सरकारमा उनीहरुलाई असफलताको ट्याग लागेको छ । झलनाथ खनाल प्रधानमन्त्री हुँदा बिष्ट उर्जामन्त्री थिए । उनले उर्जामन्त्रालय र बिद्युत प्राधिकरणलाई सिस्टममा मात्र ल्याएनन्, लोड्सेडिड पनि घटाएका थिए । तत्कालितरुपमा उनले गरेको काम निकै चर्चामा आएको थियो । बिष्टकै कारण खनाल सरकार सफल भएको दावी पनि गरिएको थियो ।
त्यसपछि बिष्ट केपी ओली नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बने । मन्त्री बिष्टले मलेसिया र दुवईसँग नयाँ श्रम सम्झौता गरेर नेपाली कामदारलाई शून्य लागतमा पठाउने ब्यवस्था गरे । कामदारका नाममा ठगी धन्दालाई बन्द गराए । तर लामो समयदेखि नेपालीहरुको पहिलो रोजगार गन्तब्य मलेसिया बन्द हुँदा केही आलोचना पनि भयो ।
बिष्टले बैदेशिक रोजगारीमा हुने ठगी धन्दालाई अन्त्यमात्र गरेनन्, सामाजिक सुरक्षा कार्यक्रम पनि लागू गराएउ । तामझामका साथ शुरु गरिएको सामाजिक सुरक्षा कार्यक्रम आंशिकरुपमा लागू भएपनि पूर्णरुपमा भने लागु हुन सकेको छैन । अन्यमन्त्री भन्दा उनले सक्रियतापूर्वक राम्रो काम गरेकै थिए । तर प्रधानमन्त्री केपी ओलीको नजरमा उनी असफल मन्त्री बनेका छन् ।
त्यसैगरी डिवीधारी कर्मचारीलाई कारवाही गरेर चर्चामा आएका लालबाबु पण्डित ओली सरकारमा पनि संघिय मामिला तथा सामान्य प्रशासनमन्त्री बने । पण्डितले सामान्य प्रशासन मन्त्रालय समाल्दा परिस्थिति असमान्य थियो । कर्मचारीलाई समायोजनमा पठाउन निकै चुनौति थियो ।
उनले ४४ हजार कर्मचारीलाई समायोजनमा पठाए । कर्मचारीलाई सजाय र पुरस्कारको ब्यवस्था गरी ठुलो समस्या सामधान पनि गरे । तर सिंहदरवारमा बर्षौदेखि राज गरेका कर्मचारीका लागि भने उनी टाउको दुखाईको बनेका थिए । प्रधानमन्त्री ओलीले उनलाई पनि सफल मन्त्री मानेनन् र पण्डित दण्डित बने ।