अर्बौंको सरकारी जग्गा भूमाफियाको कब्जामा: १४४ बिघा शृंखलाबद्ध रूपमा व्यक्तिको नाममा दर्ता

काठमाडौं, १ मंसिर । भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा बर्दिया सोरहवामा रहेको अर्बौं रुपैयाँबराबरको झन्डै १ सय ४४ बिघा सार्वजनिक जग्गा शृंखलाबद्ध रूपमा व्यक्तिका नाममा दर्ता गराइएको खुलासा भएको छ । माफियाहरूले बर्दिया जिल्ला साविकको सोरहवा गाविस–८ मा रहेको कित्ता नम्बर ४४२ अन्तर्गत रहेको १४३ बिघा ९ कट्ठा पर्ती जग्गा माफियाले वर्षौंसम्म योजनाबद्ध प्रयासबाट कित्ताकाट गरी विभिन्न व्यक्तिका नाममा दर्ता गराएको पाइएको हो ।

बाँके साविक इन्द्रपुर गाविस ८ बस्ने गयाप्रसाद कुर्मी, उनका छोरा बर्दिया सोरहा–८ का सावितराम कुर्मी तथा मालपोत कार्यालय बर्दियाका तत्कालीन मालपोत अधिकृतहरू मुक्तिबहादुर स्वाँर, शंकरप्रसाद भेटुवाल, नायब सुब्वा प्रकाशचन्द्र बुढाथोकी र खरिदार धुव्रप्रसाद भण्डारीको मिलिमतोमा यो काम भएको हो । विभिन्न समयका मालपोतका प्रमुख, अधिकृत तथा कर्मचारीले भूमाफियासँगको मिलेमतोमा योजनाबद्ध रूपमा सरकारी जग्गा व्यक्तिको नाममा गराएका हुन् । भूमाफियासँग साँठगाँठ राख्ने ती कर्मचारीले अकुत सम्पत्ति आर्जन गरेको आशंका गरिएको छ ।

भूमाफियाहरूले जग्गा हत्याउन २०४० सालबाट योजनाबद्ध प्रयास सुरु गरी २९ मंसिर २०५५ सम्म आइपुग्दा १ सय ४३ बिघा ९ कट्ठा सरकारी जग्गा पूर्ण रूपमा व्यक्तिको नाममा बनाउन सफल भएका थिए । सो जग्गा हालसम्म आइपुग्दा विभिन्न ६२ जनाको नाममा नामसारी भइसकेको पाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

१ सय ४३ बिघा जमिन भूमाफियाको कब्जामा गएको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय बर्दिया र जिल्ला प्रहरी कार्यालय बर्दियासमेतले विस्तृत अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा जिल्ला प्रशासन र प्रहरीले समेत मालपोत कार्यालयका कर्मचारी र माफियाको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा गएको ठहर गर्दै आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइने तयारी गरेको बताइएको छ ।

६२ व्यक्तिका नाममा यसरी दर्ता भयो अर्बौंको सरकारी जग्गा
मालपोत कार्यालयको रेकर्डअनुसार २०४० सालसम्म साविक बर्दिया जिल्ला सोरहा ८ ‘क’अन्तर्गत कित्ता नम्बर ४४२ मा १ सय ४३ बिघा ९ कट्ठा क्षेत्रफलमा सरकारी पर्ती जग्गा थियो । भूमाफियाहरू गयाप्रसाद कुर्मी, उनका छोरा सावितराम कुर्मी र मालपोत कर्मचारीको मिलेमतोमा सो जग्गा ३१ जेठ २०४० मा मालपोत कार्यालय बर्दियाको आदेशबाट कित्ता बदर गरी कित्ता नम्बर ६४० र ६४१ कायम भयो ।

कित्ता नम्बर ६४० अन्तर्गत ८४ बिघा १६ कट्ठा १२ धुर र कित्ता नम्बर ६४१ अन्तर्गत ५८ बिघा ११ कट्ठा ८ धुर पर्ती जग्गा कायम हुन पुग्यो । त्यसपछि भूमाफियाको योजनाअनुसार कित्ताकाट पछि मालपोतद्वारा माफियाकै आदेशअनुसार पर्ती जग्गाका रूपमा रहेको कित्ता नम्बर ६४१ लाई १३ असार २०५३ मा बदर गरी १०२४, १०२५ र १०२६ कित्ता कायम गरियो ।

त्यसपश्चात् १०२४ कित्ताको ३६ बिघा ६ कट्ठा १२ धुर जग्गा सावितराम कुर्मीका नाममा कायम गरियो । तत्पश्चात् कित्ता नम्बर १०२५ र १०२६ को जग्गा भने पर्ती नै रहन गएको भए पनि विभिन्न व्यक्तिका नाममा दर्ता भएको र बचेकामध्ये केही अन्य व्यक्तिले उपयोग गरिरहेका छन् । जब कि १३ पुस २०६४ मा नापी शाखाको फिल्डबुकमा कित्ता नम्बर ४४२ पर्ती जग्गा ऐलानी भनी निमित्त नापी अधिकृतले हस्ताक्षर गरेको समेत पाइएको छ ।

पर्ती जग्गा हत्याउने योजनाअनुसार २९ मंसिर २०५५ मा मालपोतले जमुनीका रूपमा रहेको कित्ता ६४० लाई समेत बदर गरी १०६४ देखि १०८० कायम ग¥यो । त्यसपछि सो जग्गा समेत क्रमशः विभिन्न व्यक्तिका नाममा कायम हुन पुगेको देखिन्छ । १४ कात्तिक २०५९ को पत्रले निमित्त नापी अधिकृतको हस्ताक्षर रहेको पत्रमा साविकको कित्ता नम्बर ३१७, ३१८ र हालको कित्ता नम्बर ४३५ र ४४२ भएको भनी २००४ को नक्सासँग भिडाएको र सो जग्गा सरकारी भएको स्पष्ट देखिन्छ ।

तत्पश्चात् ६ पुस २०६४ मा मालपोत कार्यालयका सुब्बा प्रकाशचन्द्र बुढाथोकी र खरिदार धु्रवप्रसाद भण्डारीले स्थलगत सर्जमिन गरी सो जग्गा गयाप्रसाद कुर्मीका हकदारकै नाममा रहेको र अन्य कसैले दाबी नगरेको भन्दै सर्जमिन गरी मुचुल्का उठाएर कुर्मीलाई जग्गा हत्याउने योजनामा साथ दिएका थिए । त्यस्तै, २२ कात्तिक २०६४ मा मालपोत कार्यालयले नै योजनाबद्ध रूपमा दैनिक पत्रिकामा सूचना जारी गर्दा कित्ता ६४१ को १०२४ मा समेत कसैले दाबी नगरेको भन्दै सूचना टाँस गरेको थियो ।

सोही योजनाअनुसार २० पुस २०६४ मा मालपोत कार्यालय बर्दियाका कार्यालय प्रमुख शंकरप्रसाद भेटुवालको टिप्पणी आदेशले सो जग्गा सवितराम कुर्मीलगायत चार जनाको नाममा दर्ता गराइयो । यसरी कित्ताकाट हुँदै गएको सरकारी जग्गा हाल ६२ जनाको नाममा दर्ता हुन पुगेको छ ।नापी कार्यालयको रेकर्डअनुसार २०६४ सालको आगलागीबाट स्रेस्ता नष्ट भएको भन्दै नयाँ कित्ता नम्बर १८ कायम गरी विभिन्न नयाँ कित्ताकाट भएको देखिन्छ ।

अख्तियारले कहिले कारबाही गर्ला ?
२०४० सालदेखि २०६४ सालसम्मका बर्दियाका मालपोत अधिकृत तथा कर्मचारीहरू जग्गा हिनामिना प्रकरणमा जोडिएको पाइएको छ । अख्तियारले ती कर्मचारीमाथि छानबिन गरी कारबाही गर्न सक्ला भन्ने प्रश्न सिर्जना भएको छ । यस प्रकरणमा प्रमुख दोषीका रूपमा बाँके साविक इन्द्रपुर गाविस–८ बस्ने गयाप्रसाद कुर्मी, उनका छोरा बर्दिया सोरहा ८ का सावितराम कुर्मी तथा मालपोत कार्यालय बर्दियाका तत्कालीन मालपोत अधिकृतहरू मुक्तिबहादुर स्वाँर, शंकरप्रसाद भेटुवाल, नायब सुब्वा प्रकाशचन्द्र बुढाथोकी र खरिदार धु्रवप्रसाद भण्डारी छन् । विभिन्न समयका मालपोतका प्रमुख, अधिकृत तथा कर्मचारीहरूले भूमाफियासँगको मिलेमतोमा योजनाबद्ध रूपमा सरकारी जग्गा व्यक्तिको नाममा गराएका हुन् । भूमाफियासँग साँठगाँठ राख्ने ती कर्मचारीले अकुत सम्पत्ति आर्जन गरेको आशंका गरिएको छ ।

छानबिनमा ठूला जग्गा प्रकरण
देशभर सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणको विषय बाहिरिएसँगै सरकारले ललिता निवास जग्गा प्रकरण, विभिन्न स्थानमा महन्थहरूले गरेको गुठी जग्गा अतिक्रमणका सम्बन्धमा छानबिन गरिरहेको छ । ठूला जग्गा अतिक्रमणका खुलासा भएसँगै देशभर विभिन्न स्थानका जग्गा हिनामिनाका घटना सार्वजनिक भइरहेका छन् । सरकारले समेत यस्ता जग्गाका सम्बन्धमा छानबिनका लागि उच्चस्तरीय भूमि आयोग गठन गरी अनुसन्धान गरिरहेको छ । राजधानी दैनिकबाट।

Loading...