भारतको विस्तारवादी नीतिकै कारण भारतसंग जोडिएका सीमा असुरक्षित् भएको निष्कर्ष

भारतले हालै सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूभाग समेत समावेश गरेपछि देशव्यापीरुपमा त्यसको बिरोध हुँदै आएको छ । यसैबीच भक्तपुरको वागीश्वरी कलेजमा पनि उक्त विषयमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

वागीश्वरी कलेजको आयोजनामा शुक्रवार नेपालको लिम्पियाधुरा (कालापानी र लिपुलेक) मा भारतले गरेको सीमा अतिक्रमणविरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी संघका केन्द्रीय अध्यक्ष सविन ख्याजूले उक्त विषयाम प्रस्तुती दिएका थिए ।भारतीय शासक वर्गको विस्तारवादी नीतिकै कारण भारतसंग जोडिएका सीमा सुरक्षित नरहेको भन्दै उनले त्यसको प्रतिवाद गर्न जरुरी भएको भनेका थिए । नेपालसंग मात्र नभई अन्य देशहरुसित पनि उसको सीमा विवाद रहेको जिकिर गर्दै ख्याजूले भारतको निती नै विस्तारवादी भएकोले उ त्यत्तिकै पछि नहट्ने बताए ।

नेपाल सरकारको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कसैको नाम उल्लेख नहुनु र सरकारले यस सम्बन्धमा तात्काल ठोस कदम नाचाल्नुले भारतीय विस्तारवाद सामू गरेको आत्मसमर्पण भएको उनको आरोप छ ।

शासक दलहरु यस सम्बन्धमा सुस्त देखिएकोले जम्मुकाश्मिर, सिक्किम र भुटानको जस्तै नेपालको नियती नहोस भन्न खातिर सम्पूर्ण जनता सङ्घर्षको मैदानमा आउनुपर्ने विद्यार्थी नेता ख्याजूले आवश्यकता औल्याएका थिए ।

उक्त अवसरमा वागीश्वरी कलेजका राजनीतिशास्त्रका शिक्षक विकल प्रजापतिले नेपालको भूमी अतिक्रमण गर्ने भारतीय ज्यादतीलाई नेपालले कुटनीतिक रुपमा पहल गर्न नसकेको र यसलाई अन्तर्राष्ट्रियकरण गर्न समेत नसकेकोले नेपाल भारतीय हेपाइमा परिरहेको बताए ।

कलेजका प्राचार्य धनकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थी रञ्जन फाजू लगायतले बिचार व्यक्त गरेका थिए ।

Loading...