शान्ति र सद्भावका लागि बौद्ध साहित्य आवश्यक

काठमाडौँ, २६ कात्तिक । अन्तरराष्ट्रिय तहमा शान्ति र सद्भाव कायम गर्न बौद्ध साहित्य तथा दर्शनको उपयोग गर्नुपर्नेमा जोड दिइएको छ । नेपाल बौद्ध गेलुक सङ्घले महायानी बौद्ध परम्पराअन्तर्गत गेलुक सम्प्रदायका संस्थापक चोङ्खापको ६०० औँ स्मृति दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रमका सहभागीले अहिलेको समाजमा बढ्दै गएको अराजकता र हिंसालाई न्यूनीकरण गर्न बौद्ध दर्शनको महत्व रहेकाले त्यसको प्रवद्र्धनमा जोड दिएका हुन् ।

बौद्ध गुरु खेन्छेन ठंगु रिन्पोछेले बौद्ध साहित्यमा मानव जीवन दुर्लभ मानिने हुँदा संसारभरका जीव, जीवात्मा तथा प्राणी रक्षाका काम गर्नसकेमा मात्र पुण्य सञ्चय हुने विश्वास गरिएको बताउँदै मानिसको मनमा हुने चन्चलतालाई नियन्त्रण गरी सत्कर्ममा लाग्नुपर्नेमा जोड दिए ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले समाजलाई नैतिकवान बनाउन धार्मिक साहित्यको महत्व हुने बताउँदै बौद्ध दर्शनले समाजमा खुशी ल्याउन अहिंसा, शान्ति, करुणा, मित्रताजस्ता विषयलाई जोड दिइएकाले त्यसबारे नयाँ पुस्तालाई सिकाउनुपर्ने विचार व्यक्त गरे । बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु कौडण्य, सङ्घका उपाध्यक्ष तेन्जिन लामालगायतले देशमा भएका बौद्ध साहित्य तथा धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थलबारे अन्तरराष्ट्रिय तहमा प्रचार गरी भ्रमण वर्षमा पर्यटक ल्याउन सकिने बताए ।

बौद्ध विद्वान् टीका शेर्पाले पुरानो बौद्ध शिक्षा तथा ज्ञानमा आधारित भई नयाँ विधि र शासन अपनाउने क्रान्ति शुरुआत गरेका चोङ्खापले धार्मिक कार्यबाट समाजमा सेवा गरेको बताए । उनका अनुसार चोङ्खापले लोभलालचबाट मुक्त हुने वैराग्य उत्पादन, अरुको हितका लागि क्रियाशील रहन बोधिचित्त र कुनै पनि वस्तुको स्वतन्त्र सत्ता हुँदैन भन्ने शून्यताको शिक्षा दिएका थिए ।

सङ्घका अध्यक्ष गेशे टाशी थुन्डु शेर्पाले चोङखापलाई मन्जुश्रीको एक अवतारका रुपमा लिइएको जानकारी दिँदै बुद्धधर्मसम्बन्धी सूत्र, तन्त्रबारे धेरै वर्ष अध्ययन अनुसन्धान गरी आफ्नो अध्ययनपश्चात् आत्मबोध, अनुभवमा नयाँ विधि, अनुशासन कायम गर्न तथा नयाँ पुस्तामा बुझाउन उक्त सम्प्रदाय स्थापना भएको बताए ।

चोङ्खापको जन्म १४ औँ शताब्दीमा तिब्बतको खाम चोङखा भन्ने गाउँमा भएको र तीन वर्ष भएपछि उनले शाक्य सम्प्रदायका गुरुसँग मध्यम पञ्चशील ग्रहण गरी धर्मको यात्रा शुरु गरेको विश्वास छ । यस सम्प्रदायले आस्था प्रकट गर्ने ठूलो तीर्थस्थल लाब्राङ गुम्बा चीनको उत्तर पश्चिमी भागमा अवस्थित छ । काठमाडौँ उपत्यकाका १० वटा गेलुक सम्प्रदायका गुम्बा आबद्ध भएको उक्त सङ्घले विभिन्न समयमा राष्ट्रकल्याणको कामना गर्दै पूजा तथा समाजसेवासम्बन्धी काम गर्दै आएको छ ।

Loading...