लिम्पियाधुरा–लिपुलेक–कालापानीसहितको नयाँ नक्सा तत्काल बनाएर सार्वजनिक गर्न र पाठ्यक्रममै राख्न सरकारलाई निर्देशन

काठमाडौं, २५ कार्तिक । संघीय संसदको राज्य व्यवस्था समितिले सरकारलाई लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन दिएको छ । त्यसैगरी समितिले नयाँ नक्सालाई पाठ्यक्रमहरुमा समेत सुधार गरेर राख्न पनि निर्देशन दिएको छ ।

आज सोमवार सिंहदरवारमा बसेको बैठकमा व्यापक छलफल गरी समितिले यस्तो निर्देशन दिएको हो । सो बैठकले काली नदी नै सीमा मानेर नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ ।

बैठकपछि कुरा गर्दै समितिकी सभापति शशी श्रेष्ठले भनिन्, ‘यो नक्सा त्रुटिपूर्ण छ, त्यसलाई सरकारले पनि स्वीकार गरेको छ । त्यसैले लिम्पयाधुराको काली (स्थानीय भाषामा कुटीयांदी) नदीलाई सीमा मानेर नयाँ नक्सा सार्वजजिक गर्न दिर्नेशन दिएका हौं ।’

राज्य व्यवस्था समितिले आम नेपालीहरु एकतावद्ध भई भारतीय अतिक्रमणको विरोध गरिरहेको बेला नेपाल भारतबीच रहेका अन्य स्थानका सीमा विवाद समाधान गर्न तत्काल पहल गर्न सरकारलाई निर्देशन दिएको छ । साथै भारतीय अतिक्रमणविरुद्ध एकजुट भएर अगाडि बढ्न पनि समितिले अपील गरेको छ ।

समितिले नेपाल भारत प्रवुद्ध व्यक्ति समूहको प्रतिवेदन तत्काल बुझाएर सार्वजनिक गर्न पनि भनेको छ । साथै यो प्रतिवेदन कार्यान्वयन गर्न पनि समितिले सरकारलाई सुझाव तथा निर्देशन दिएको सभापति श्रेष्ठले जानकारी दिइन् ।

Loading...