हिमाली क्षेत्र मनमोहक

रसुवा, २४ कात्तिक । हिजो आज हिमाली क्षेत्रको मौसम सफा रहने भएकाले प्रकृतिपे्रमीहरूका लागि सफा प्राकृतिक दृश्य अवलोकन गर्न र पदयात्रा गर्न सहज भएको छ । नजिकै देखिने लाङटाङ हिमाल, हरियाली वनजङ्गल, उडिरहने पन्छी, छङछङ गर्ने झर्नाजस्ता सम्पदाले जिल्लाकोे भ्रमण गर्ने आन्तरिक एवं बाह्य पर्यटकको आवागमन बढ्न थालेको छ ।

स्थानीय पर्यटन व्यवसायीका अनुसार प्राकृतिक दृश्यावलोकनका लागि अहिले दिनदिनै एक सयभन्दा बढी पर्यटकले भ्रमण गरिरहेका छन् । मोटर यात्रापश्चात् गोसाइँकुण्ड जाने पर्यटकले धुञ्चेबाट र लाङटाङ जाने पर्यटकले स्याफ्रुबेँसीबाट पैदलयात्रा गर्ने गरेको होटल व्यवसायी राम पौडेलले बताए ।

आन्तरिक एवं बाह्य पर्यटक तामाङ सम्पदा मार्गअन्तर्गत पार्वतीकुण्ड, तातोपानी र नाकथलीसमेतको भ्रमण गर्ने र ठाउँठाउँका घरवास होमस्टे तथा होटल सञ्चालकले खाना खुवाउन र बस्न सहज गराएकाले पर्यटककोे आगमन बढ्दै गएको गतलाङका होमस्टे सञ्चालक फुर्पु सिङ्गी तामाङले बताए ।

गोसाइँकुण्ड र लाङटाङतर्फ भने होटल तथा लजको व्यवस्था छ । सन् २०२० को नेपाल भ्रमण वर्ष सफल पार्न यहाँका होटल व्यवसायीले पूर्वाधार विस्तार गरिरहेको पर्यटन व्यवसायी सुब्बा तामाङले जानकारी दिए । चन्दनबारी क्षेत्रमा रेडपान्डा रातोहाब्रेसमेत अवलोकन गर्न सक्ने भएकाले त्यहाँ पर्यटकले थप एक दिन बसाइँ लम्याउने गरेको बताइएको छ ।

काठमाडौँबाट रसुवाको भ्रमण शुरु गरेपछि सात दिनमा उत्तरी क्षेत्रको भ्रमण गर्न सकिने र तामाङ सम्पदा मार्गमा स्थानीय मकै तथा कोदाको ढिँडो, सागसब्जी र कालो मुसुरोको दालजसता परिकार खुवाउँदा पर्यटक सन्तुष्ठ हुने गरेको गत्लाङका होमस्टे सञ्चालकहरु बताउँछन् । पर्यटन वर्ष २०२० लाई सफल पार्न र रसुवामा पनि थप पर्यटक भित्र्याउन यहाँका स्थानीय सरकारले थप सुधारका कदम चालिसकेको र भइराखेका होटललाई सुदृढ बनाउन थालेको जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्टले जानकारी दिए ।

Loading...