तारेभीर पोखरीमा पर्यटकको आकर्षण

पोखरा, १९ कात्तिक । युगौँदेखि वर्षात्को पानी सङ्कलन गरी वस्तुभाउलाई खुवाउनाका साथै कृषिका लागि पनि उपयोग हुँदै आएको यहाँको एक ऐतिहासिक पोखरी यतिखेर भने पर्यटकीय गन्तव्य बनेको छ । पर्यटकीय नगरी पोखराको वडा नं २२ पुम्दीभुम्दीस्थित तारेभीर पोखरीको संरक्षण तथा आवश्यक भौतिक संरचना निर्माण पछि यो स्थलमा आन्तरिक एवं बाह्य पर्यटकको आकर्षण बढेकोे हो ।

स्थानीय ९२ वर्षीय जङ्गबहादुर गुरुङका अनुसार खानेपानीको अभाव हुने बेलामा पशुलाई खुवाउन र खेत रोप्नका लागि तारेभीर पोखरीको पानी प्रयोग हुँदै आएको थियो । गाउँको सिरानमा रहेको सो पोखरीमा वर्षभर पानी हुने भएकाले पशुलाई पोखरीमै लगेर पानी खुवाउनाका साथै भैंँसीका लागि आहाल बस्न उपयोगी भएको थियो ।

गाउँको इतिहास बनेको पोखरी यतिखेर संरक्षण र पूर्वाधार विकाससँगै पर्यटकीय गन्तव्य बनेको उनले बताए । त्यस समयमा खानेपानी भने आधा घण्टा लगाएर धाराखोलाबाट ल्याउने गरिएको जानकारी दिँदै गुरुङले अहिले भने पातलाखर्कबाट पाइपमा ल्याइएको पानीका धारा घरघरमा पु¥याइएको छ भने । समुद्री सतहदेखि लगभग एक हजार ६०० मिटरको उचाइमा अवस्थित २० मिटर लामो र १५ मिटर चाँैडा सो पोखरीको गहिराइ साढे एक मिटर रहेको वडा सदस्य चेतभक्त बरालले जानकारी दिए ।

उनकानुसार पोखरा महानगर वडा कार्यालयबाट रू दुई लाख ५० हजार र हरियो वन कार्यक्रमको रु ७५ हजार एवं स्थानीय जनसहभागिता परिचालन गरी लगभग रु चार लाखको लागतमा पोखरी पुनःनिर्माण गरिएको हो । पोखरीको चारैतर्पm पक्की पर्खाल लगाई करीब १० मिटर उचाइको तारजालीले बारेर दुई वटा ढोका राखिएकाले अहिले पोखरी संरक्षणसहित सफा र सुन्दर बन्न सहयोग पुगेको छ ।

आफू सानो हुँदा पोखरीको पानीमा पौडी खेल्ने गरेको सुनाउँदै स्थानीय डिलबहादुर गुरुङले अहिले पोखरी संरक्षणसँगै माहुरजातका आठ सय माछाका भुरा हालिएको बताए । पोखरीमा अहिले भैंँसीलाई आहाल बस्न नदिने गरी संरक्षण गरिएको बताउँदै उनले पोखरीको निकासबाट तल्लो भेगमा रहेको दश घरपरिवारको लगभग १५ हल खेतमा सिँचाइको सुविधा पुगेको जानकारी दिए ।

अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायत मनोरम हिमशृङ्खलासहित फेवाताल र केही पोखरा बजारको दृश्यावलोकन गर्न सकिने सो स्थानमा अहिले पनि दैनिक ५० देखि एक सय पर्यटक आउने गरेको उनले बताए । पोखरीबाट नजिकै रहेको पुम्दीभुम्दीको कालावाङ घडेरी घरवास कार्यक्रममा आउने पाहुनालाई उक्त रमणीयस्थलसम्म पु¥याउनका लागि पहल भइरहेको बताउँदै उनले यसको प्रचारप्रसारको आवश्यकता औंल्याए ।

दुर्गा आधारभूत विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माका अनुसार पोखरीलाई विद्यालयको आम्दानीको स्रोतका रुपमा विकास गरिनुपर्दछ । विद्यालयमा हाल ४० विद्यार्थी अध्ययनरत छन् । पोखरा–सिद्धार्थराजमार्ग खण्डको छोरेपाटनदेखि पर्यटकीयस्थल शान्ति स्तुपा हुँदै पलाइचे गाउँको सिरानमा रहेको सो पोखरीसम्म पुग्न कच्ची मोटर बाटो निर्माण गरिएको छ ।

Loading...