बेझाड, पाल्पा, ६ कात्तिक । रामपुर नगरपालिका वडा नं ५ स्थित रामतुलसी माविमा पाँच/सात वर्ष पहिले महिनावारीका बेला धेरै छात्रा विद्यालय नै जाँदैनथे । कतिपय बीचमै कक्षा छाडेर घर फर्कन्थे । आफ्नो समस्याबारे खुल्न लाज मान्ने उनीहरू घर फर्कन विभिन्न बहाना बनाउँथे । यसको कारण हो – विद्यालयमा छात्रामैत्री शौचालयको अभाव ।
सिधै शिक्षकसामु आफ्ना समस्या खुलेर बताउन नसक्दा छात्राहरु घरायसी काम, बिसञ्चो जस्ता समस्या बताउँथे र घर जान्थे । त्यसकारण विद्यालयमा उनीहरुको उपस्थिति टुट्न पुग्थ्यो । अहिले समय बदलिएको छ, यो समस्या सधंैका लागि टरेको देखिएको छ । छात्रामैत्री शौचालय विद्यालयले निर्माण गरिदिएपछि अहिले महीनावारीका समय विद्यालयमा छात्राहरुको अनुपस्थित हुने दर शून्यमा झरेको छ ।
कक्षा १० मा अध्ययनरत छात्रा सन्ध्या अधिकारीलाई महीनावारीको समस्या आएपछि निकै पिरोल्थ्यो तर, अहिले शौचालयको राम्रो प्रबन्ध भएपछि महीनावारीका समय भए पनि उनि अप्ठेरो मान्दिनन र नियमित विद्यालय जान्छिन । “महिनावारी भएपछि नचाहँदा नचाहँदै पनि घरमै बस्नुपर्ने बाध्यता हुन्थ्यो,” उनले भनिन – “अहिले छात्रामैत्री शौचालय बनेपछि नियमित विद्यालय जान थालेकी छु ।”
सोही कक्षामा पढ्ने अर्पणा खनाल पनि महीनावारीका बेला बीचमै विद्यालय छाडेर घर फर्कने गर्दथिन । उनलाई महीनावारीको समय बिताउन निकै कष्ट पथ्र्यो । विद्यालयमै सेनेटरी प्याडको व्यवस्था र छात्रामैत्री शौचालय बनेपछि भने उनि नियमित विद्यालय जाने गरेकि छन । “विद्यालयमै सेनेटरी प्याड र बालिकामैत्री अत्याधुनिक सुविधा सहितको शौचालय बनेको छ, छात्रालाई महीनावारीका समय सहज भएको छ” उनले भनिन ।
महीनावारीका बखत विद्यालयमा सेनेटरी प्याडको व्यवस्था र छात्रामैत्री शौचालय नहुँदा कक्षा टुटाउने उहाँ आफूसँग अन्य साथी पनि अहिले सँगसँगै नियमित विद्यालय आउने जाने गरेको बताईन । महीनावारीका समय दुईदेखि तीन दिनको समय छात्राहरु विद्यालयमा अनुपस्थित हुने गर्थे । महिनावारीका समयमा छात्राहरु बीचमै कक्षा छाड्ने र विद्यालय नआउने गरेको पाएपछि विद्यालयले छात्रामैत्री शौचालय निर्माणमा ध्यान दिएको हो ।
विद्यालयले छात्राहरुले मात्र प्रयोग गर्ने गरी करीव २३ लाखको लागतमा १५ कोठासहितको अत्याधुनिक छात्रामैत्री शौचालय निर्माण गरेको छ । यो सहित अहिले २० कोठाको छात्रामैत्री शौचालय छात्राहरुले मात्र दैनिक प्रयोग गरिरहेको प्रधानाध्यापक बालकृष्ण लम्सालले बताए । “पर्याप्त छात्रामैत्री शौचालय, सेनेटरी प्याडको व्यवस्था लगायतको सुविधासम्पन्न शौचालय भवन बनेको छ, यहाँ छात्राहरुका लागि छुट्टै शौचालय बनेपछि महीनावारीको पर्वाह नगरी नियमित रुपमा विद्यालय आउन थालेका छन्” – उनले भने ।
विद्यालयमा हाल ४० कोठासहितको शौचालय दैनिक प्रयोगमा छ जहाँ एकै पटकमा १२५ जनाले प्रयोग गर्न सक्छन् । छात्राहरु महीनावारी भएका बेला पहिला पेट दुखेको, टाउको दुखेको जस्ता अत्तो थापेर घर जाने गरेको पाइएपछि विद्यालयमै सेनेटरी प्याडको व्यवस्था गर्न थालेको शिक्षिका विनिता भट्टराईले बताईन ।
उनका अनुसार अझै पनि दश प्रतिशत छात्राहरुले आफै सेनेटरी प्याड माग्न हिच्किचाउने र साथीहरुमार्फत माग्न लगाउने गरेका छन् । त्यसैगरी, रामपुर नगरपालिका–८ स्थित गंगा माविमा छात्रालाई लक्ष्य गरी ३ वर्ष अघिदेखि छात्रामैत्री शौचालय निर्माण गरी प्रयोगमा ल्याइएको छ । शौचालय बनेपछि छात्राहरु नियमित रुपमा विद्यालय आउँछन्, कक्षा त्याग्दैनन् । छात्राको बीचमै घर फर्कने प्रवृत्तिमा कमी आएको प्रधानाध्यापक देवराज देवकोटा बताए ।
विद्यालयले एकैपटकमा १५ जनाले प्रयोग गर्न मिल्ने खालको छात्रामैत्री शौचालय भवन बनाएको छ । तीन वर्ष अगाडि धेरैजसो छात्रा हरेक महिना दुई÷तीन दिन घरमै बस्ने र विद्यालय गएका बखत महीनावारी भए बीचमै पढाइ छाडेर घर फर्कने गरेकामा अहिले यो अवस्थामा राम्रो सुधार आएको छ ।
विद्यालयमा छात्राहरुका लागि छुट्टै शौचालय आफूहरुलाई सहज भएको कक्षा १० मा पढ्ने छात्रा अमिशा ढुंगानाले बताईन । पाल्पा जिल्लामा सामुदायिक र संस्थागत गरी जम्मा ४९३ विद्यालय सञ्चालित छन् । हाल ३०३ विद्यालयमा छात्रामैत्री शौचालय निर्माण भइसकेको थाहा भएको छ ।
जिल्ला शिक्षा समन्वय कार्यान्वयन इकाई समिति पाल्पाका प्रमुख रमेशराज पौडेलका अनुसार १८५ विद्यालयले व्यवस्थित तरीकाले सेनेटरी प्याडसहितको अत्याधुनिक शौचालय सञ्चालनमा ल्याइसकेका छन् । “छात्रामैत्री शौचालय र सेनेटरी प्याडको व्यवस्था गरेका विद्यालयमा छात्राहरुको उपस्थिति राम्रो रहेको पाइएको छ, यो व्यवस्था सबै विद्यालयमा अनिवार्य गर्न जोड दिइरहेका छौँ” – उनले भनिन ।
केही विद्यालय आफैंले सेनेटरी प्याडको प्रबन्ध गरेको छ भने केही विद्यालयमा विद्यार्थी बालमञ्च र रेडक्रसको सहकार्यमा प्याडको व्यवस्था गरिएको पाइएको छ । कात्तिक १ गतेदेखि नेपाल सरकारले सबै विद्यालयमा निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरेको हो । ग्रामीण भेगका केही विद्यालयमा भने अझै पनि शौचालय प्रवन्ध हुन नसक्दा छात्राहरू महीनावारीका बेला घरमै बस्ने गरेका छन् ।