एप्स सञ्चालनमा टेलिकमले एक महिना नि:शुल्क सेवा दिने

काठमाडौं । नेपाल टेलिकमका मोबाइल फोन प्रयोगकर्ताले अब लाइभ टिभी, मुभी र विभिन्न विधाका भिडियो तथा एफएम एउटै मोबाइल एप्समार्फत हेर्न तथा सुन्न सक्ने भएका छन् । ‘वाउटाइम’ एप्स सञ्चालनमा आएपछि यो सेवा उपलब्ध भएको टेलिकमले जनाएको छ ।

टेलिकम र विन नेपाल प्रालिको सहकार्यमा सो एप्स सञ्चालनमा आएको हो । सो एप्समार्फत लाइभ टिभी, मुभी तथा भिडियो हेर्न र एफएम सुन्न सकिने जनाइएको छ । लाइभ टिभीमा नेपाली, हिन्दी तथा विदेशी भाषाका विभिन्न विधाका १३० च्यानल हेर्न सकिन्छ । भविष्यमा च्यानलको संख्या आवश्यकता अनुसार थप्दै जाने योजना रहेको टेलिकमले जनाएको छ । त्यसैगरी विभिन्न विधाका मुभी, म्युजिक भिडियो तथा टिभी शो पनि हेर्न सकिने र एफएम रेडियो समेत यही एप्समार्फत सुन्न सकिने जनाइएको छ ।

यो सेवा नेपाल टेलिकमका जीएसएम तथा सीडीएमएका प्रिपेड, पोष्टपेड ग्राहकलाई मात्र उपलब्ध हुने जनाइएको छ । हाललाई दशै तिहारको अवसरमा पहिलो एक महिनाको लागि एप्स सब्स्क्रिप्सन गर्दा लाग्ने उपभोक्ता शुल्क नलिने पनि टेलिकमले जनाएको छ । एक महिनापछि भने ग्राहकले शुल्क तिरेर दैनिक, साप्ताहिक वा मासिक रुपमा सेवा प्राप्त गर्न सक्नेछन् । यो मोबाइल एप्समार्फत उपलब्ध हुने सेवा वाइफाई प्रयोग गरेर तथा मोबाइल डाटा प्रयोग गरेर पनि उपयोग गर्न सकिने जनाइएको छ ।

मोबाइल एप्स गुगल प्ले स्टोर तथा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सकिन्छ । मोबाइल एप्स मोबाइलमा डाउनलोड गरी आफ्नो नाम र मोबाइल नम्बर हाल्ना साथ प्राप्त हुने पिन नम्बरलाई भेरिफाई गरी रजिष्ट्रेसन गरेपछि यसको प्रयोग गर्न सकिने जनाइएको छ ।

Loading...