म जहाँ जान्छु लावालस्करले जयजयकार गर्छन
शरीर नै पुरिने गरि मालाले ढाकी दिन्छन
स्तर बमोजिमको भोज भतेर सबै हुन्छ
मेरो मन भित्रैदेखि पुलकित हुन्छ
तर जब म बिछ्यौनामा जान्छु
म त बिग्रे क्याहो भनेर धुरुधुरु रुन्छु
म त चिल्ला गाडी पनि चढ्छु
म सुटेट बुटेट पनि छु
फेरि अरुलाई नै सुकिला मुकिला नै देख्छु
मलाई चाकरी गर्नेहरुको पनि कमी छैन
मेरो दर्जा अनुसारको सलामीको पनि कमी छैन
तर जब म भाषण गर्न मञ्चमा चढ्छु
म त बिग्रे क्या हो भनी धुरुधुरु रुन्छु
म भ्रष्टाचार गर्छु, सम्पति थुपार्छु
म कमिसन लिन्छु
देशलाई टाट पल्टाउन पछि हट्दिन
तर जब म पार्टी प्रशिक्षणमा जान्छु
दलाल पुँजीवादले बिगार्यो बिगार्यो भनेर
समाजवाद सम्झेर धुरुधुरु रुन्छु
म बलात्कार गर्छु
म ब्यभिचार गर्छु
म दारु पिउछु
म डलर,भारु सबै लिन्छु
तर जब म जन-सभाहरुमा जान्छु
म त बिग्रे, नैतिकता कता हरायो भनी धुरुधुरु रुन्छु
हिजो जनताको निम्ति भनेर भूमिगत भएकै हुँ
जनताकै निम्ति भनेर युद्ध पनि गरेकै हुँ
तर, आज म त महाराज जस्तै भएको छु
जनताको झुपडी होइन महलमा बसेको छु
तर जब म सहिद, अपाङ्ग बेपत्ता परिवारहरु बीच पुग्छु
म त बिग्रे क्या हो भनी धुरुधुरु रुन्छु
खै म त उभयचर जन्तु गोही जस्तै भए क्या हो
आफ्नो शिकार देखेर धुरुधुरु रुन्छु
हो म धुरुधुरु रुन्छु