को हुन महाकवि देवकोटाको विश्वचर्चित निबन्ध के नेपाल सानो छ मा प्रयुक्त पात्रहरु ?

१. विषयप्रवेश

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ ?’ निबन्ध त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको स्नातक तहमा पढाइ हुन्छ । लक्ष्मी निबन्ध संग्रहमा संकलित यो निबन्धमा देवकोटाले विश्वप्रसिद्ध लेखक, कलाकार, दार्शनिक, संगीतकार, खेलाडी आदि व्यक्तिहरुको नाम प्रयोग गरेका छन् । निबन्धगत सौन्दर्य र भावलाई सघन बनाउन यस्ता नामहरुले निकै सहयोग पु¥याएको पाइन्छ । यो देवकोटाको भिन्न साहित्यिक प्रवृति नै रहेछ । यो आलेखमा त्यस्ता पात्रहरुका बारेमा चर्चा गरिएको छ ।

क. लर्ड म्याकाले

प्रसिद्ध ब्रिटिस इतिहासकार तथा उदारवादी राजनीतिकर्मी लर्ड म्याकालेको जन्म सन् १८०० अक्टुबर २५ का दिन ब्रिटेनमा भएको थियो । उनी प्रसिद्ध कवि, निबन्धकार तथा समीक्षक पनि थिए तर उसको ख्याति भने इतिहारकार व्यक्तित्व मै रहेको पाइन्छ । उनको पूरा नाम थोमस बैबिङ्गटन म्याकाले हो । नेपालीमा कतै म्याकाले कतै मेकाउले भन्ने गरिन्छ । शायद नेपाली जिब्रोले अङ्ग्रेजी उच्चारण गर्नुपरेकाले होला । उनी सन् १८३४ देखि १८३८ सम्म भारतमा बोर्ड अफ कन्ट्रोलको सेक्रेटरी भएर काम गरे । सन् १८३४ मै उनले ब्रिटिस संसदमा तत्कालीन भारतको ब्रिटिस कम्पनी सरकारको आगामी शिक्षानीति सम्बन्धीे ‘माइन्युट अफ इन्डियन एजुकेसन’ भन्ने एक कार्यपत्र पेश गरे । यो कार्यपत्रले भारतमा ब्रिटिसले अपनाएको शिक्षा नीतिमा पूरै परिवर्तन ल्याइदियो ।

त्यतिबेलासम्म भारतमा संस्कृत भाषा सिकाउने र भारतकै विभिन्न सांस्कृतिक र शैक्षिक परम्पराहरुमा तालिम दिने गरिन्थ्यो । सन् १८३४ पछि भारतीयहरुलाई अङ्ग्रेजी भाषा र संस्कृतिको तालिम दिने परिपाटी चल्यो । (उप्रेती : २०६८, पृ. १९३) यसरी भारतमा अङ्ग्रेजी भाषा, संस्कृति र सभ्यताको बिजारोपण गर्ने कार्यको सुरुवात म्याकालेले गरे । म्याकालेको चार भागमा प्रकाशित पुस्तक ‘दि हिष्ट्री अफ इंगल्यान्ड’ अर्थात ‘इंग्ल्यान्डको इतिहास’ (सन् १८४८–१८५८) निकै चर्चित छ । धेरै बिक्री भएको यो पुस्तक युरोपका विभिन्न भाषामा प्रकाशित भएको छ । म्याकालेको मृत्यु २८ डिसेम्बर १८५९ मा भएको थियो ।

ख. कालिदास

संस्कृत साहित्यका महाकवि हुन्, कालिदास । संस्कृत साहित्यको काव्य इतिहासलाई आर्ष महाकाव्य काल, कलात्मक महाकाव्य काल र विचित्रमार्गी महाकाव्य काल गरेर तीन चरणमा बाँडेर अध्ययन गर्ने चलन छ । (शर्मा : २०६३, पृ.९५–९६) उल्लिखित चरणहरु मध्ये कालिदास दोस्रो चरणको कलात्मक महाकाव्य परम्परामा देखापरेका हुन् । कालिदासको जन्म समय र स्थानका बारेमा विद्वानहरुमा एकमत नभए पनि धेरैजसो विद्वान उनको जन्म ईशाको चौथो शताब्दीमा भएको र जन्मस्थान उज्जैन भएको कुरामा सहमत छन् । (ऐजन : २०६३, पृ.१०१–१०२) संस्कृत साहित्यका महाकवि कालिदास विश्वप्रसिद्ध नाटककार पनि हुन् ।

उनका बारेमा रोचक किम्बदन्ती पाइन्छ । कालिदास रूखको हाँगाको टुप्पोतिर बसेर फेद काँटने जस्ता मुर्ख र गवाँर थिए । विदुषी विद्यावतीको घमण्ड नाश गर्न केही मानिसहरुले कालिदास ठूला विद्वान हुन् भनी झुक्याएर उनीसँग विद्यावतीको विवाह गराइदिए । आफ्ना श्रीमान् कालिदास मूर्ख र गवाँर भन्ने चाल पाएपछि विद्यावतीले उनलाई अपमानपूर्वक घरबाट निकालिदिइन् । अपमानबाट कालिदासको मनमा ठूलो चोट प¥यो । चोटलाई इखमा बदलेर कालिदासले वनमा गई कालीको उपासना गरी उनको वरदान पाएर ठूला विद्वान बने ।

त्यसपछि घर आई आफ्नी श्रीमती विद्यावतीलाई ढोका उर्घान भन्दा उनले प्रश्न गरिन्, ‘अस्ति कश्चिद् वाग्विशेषः।’ ‘अस्ति’बाट ‘कुमारसंभव’, ‘कश्चित’बाट ‘मेघदूत’ र ‘वाग्’बाट ‘रघुवंश’ महाकाव्य कालिदासले रचेका हुन् भन्ने कथन छ । (खनाल : २०६३, पृ.३८) कालिदास रसवादी कवि हुन् । हिन्दू धर्म दर्शनमा आस्था राख्ने कालिदासले प्रकृति र नारी सौन्दर्य निकै राम्रो चित्रण गरेको पाइन्छ । प्रेमप्रणयको राम्रो चित्रण गर्ने उनलाई उपमा अलङ्कारमा सिद्धि प्राप्त थियो । त्यसकारण उनको यही सिद्धिलाई संङ्केत गर्दै ‘उपमा कालिदास्यस्य’ तथा ‘दीपशिखा कालिदास’ पनि भन्ने गरिन्छ । कालिदासको प्रसिद्ध महाकविका रुपमा मात्रै सीमित छैन, उनी त विश्वप्रसिद्ध नाटककार पनि हुन् । उनको ‘अभिज्ञानशाकुन्तलम्’ यस्तै प्रसिद्ध नाटक हो । यसैलाई ‘शाकुन्तल’ वा ‘शकुन्तला’ नाटक पनि भन्ने गरिन्छ ।

ग.शेक्सपियर

अङ्ग्रेजी साहित्यका प्रसिद्ध नाटककार तथा कवि विलियम शेक्सपियरको जन्म इंग्ल्यान्डको स्ट्रयाट्फोर्ड अपन एभनमा सन् १५६४ अप्रिल २३ तारिखका दिन भएको थियो । तर उनका जन्ममितिको तथ्य पनि आफैमा रहस्यमै छ । इंग्ल्याण्डका राष्ट्रिय कवि शेक्सपियरले आफ्नै नगरको ग्रामर स्कुलमा माध्यमिक तहसम्मको शिक्षा हासिल गरेका थिए । अन्ना हाथवेसँग बिहे गरेका उनका दुई छोरी र एक छोरा थिए । विलियम शेक्सपियरका जीवनीसम्बन्धी अनेकौं विस्मयकारी कथाहरु छन् । भनाइ के छ भने उनी आफ्नो गाउँबाट भागेर घुमन्ते नाट्यमण्डलीको पछि लागेर लन्डन पुगेका थिए ।

कसैले उनी लन्डनमा नाटक हेर्न आउने भलाद्मीहरुका घोडामा लगाम समातेर नाटक नसिद्धिन्जेल बाहिर कुरिरहन्थे भन्दछन् भने कसैले नाटकमा प्रयोग हुने पर्दाको डोरी तान्ने काम गर्दथे भन्दछन् । तर धेरैजसो विद्वानहरुको मत शेक्सपियर पहिले ससानो अभिनयको काम गर्थे र पछि अभिनयमा प्रगति गर्दै गएर आफै नै नाट्यमण्डलीहरुलाई नाटक लेखेर खेलाउन थाले भन्ने रहेको छ । (शर्मा, २०६२, पृ.३०) उनले के काम गरे भन्ने बारेमा जसरी भिन्नभिन्न मतहरु पाइन्छ, त्यसैगरी उनको लेखन क्षमताको सम्बन्धमा पनि अनेकौं शंका र विवादास्पद मतहरु पाइन्छन् । त्यस्ता मतहरु के भन्दछन् भने शेक्सपियरका भनिएका रचनाहरु उनका नभई अरु कसैका हुन् । कसैले उनका भनिएका नाटक फ्रान्सिस बेकनले लेखेका हुन् भन्छन् भने कसैले बेन जोन्सन तथा एड्वर्ड द भेरले लेखेका हुन् भन्छन् ।

यसैगरी उनका भनिएका रचनाहरु पेम्ब्रु ककी काउन्टेस र शेक्सपियरका समकालीन प्रसिद्ध नाटककार क्रिष्टोफर मार्लोले लेखेका हुन् भन्नेहरु पनि छन् । (ऐजन, पृ.३१) त्यसकारण शेक्सपियरका लेखनी विवादित रहेको पाइन्छ । जे भए पनि उनी संसारका अंग्रेजी भाषामा लेख्ने महान् नाटककार तथा कवि हुन् भन्ने कुरा नस्वीकारी सुखै छैन । महान् नाटककार शेक्सपियरले सुरुमा सुखान्त र ऐतिहासिक नाटक लेखे ।

त्यसपछि ओथेलो, ह्याम्लेट, किङ् लिअर, म्याकवेथ जस्ता महान् दुखान्त नाटकहरु लेखे र अन्तिम वा पछिल्लो चरणमा दुःख सुखान्त नाटकहरु लेखे । उनका जम्माजम्मी ३८ नाटकहरु, १ सय ५४ चौध हरफे कविता, दुई लामा आख्यानात्मक कविता उपलब्ध छन् । यिनै रचनाहरुले शेक्सपियरलाई महान बनाए । उनको मृत्यु आफ्नै नगरमा आफू जन्मिएकै दिन सन् १६१६ अप्रिल २३ मा ५२ वर्षको उमेरमा भएको मानिन्छ ।

घ. मिल्टन

जोन मिल्टन प्रख्यात अंग्रेजी कवि तथा विद्वान हुन् । उनको जन्म सन् १६०८ डिसेम्बर ९ तारिखका दिन ब्रिटेनको लन्डनमा भएको हो । उनको समयमा ब्रिटेन धार्मिक परिवर्तन तथा राजनीतिक अस्थिरताबाट गुज्रिएको थियो । यही समयमा ब्रिटेनले गृहयुद्ध झेल्यो । राजतन्त्रको अन्त्य र पुर्नस्थापना पनि भयो । यो कुराको प्रतिबिम्ब उनको ‘ब्लाङ्क भर्स’ (Blank Verse) शैलीमा लेखिएको प्रसिद्ध महाकाव्य कृति ‘प्याराडाइज लस्ट’(Paradise Lost पाइन्छ । यो कृति उनले १६५८ देखि १६६४ सम्ममा लेखे र यसको प्रतिलिपि अधिकार १६६७ मा प्रकाशकलाई बिक्री गरेको देखिन्छ । यो कृति मिल्टनको संघर्षपूर्ण जीवनयात्रा र ब्रिटेनको क्रान्तिको उतारचढावसँग गाँसिएको छ । मिल्टन अभिव्यक्ति र प्रेस स्वतन्त्रताका पक्षधर हुन् ।

वैयक्तिक विचार वा चिन्तनको अभिव्यक्ति पाइने उनको लेखनमा स्वतन्त्रता र आत्मनिर्णयको अधिकारप्रति गहिरो आस्था पाइन्छ । प्रकाशन पूर्वनै प्रतिबन्ध लगाउने कुराप्रति उनले घोर विरोध गरेका छन् । उनले १६४४ मा दिएको एक सम्भाषण अभिव्यक्ति स्वतन्त्रताको घोषणापत्रकै रुपमा विश्वप्रसिद्ध छ । कवि जोन मिल्टनलाई अङ्गे्रजी, ल्याटिन, ग्रिक र इटालियन आदि भाषाको ज्ञान थियो । उल्लेखित सबैजसो भाषामा यिनी लेख्न सक्दथे । राजनीतिक विचारका हिसाबले उनी गणतन्त्रका पक्षधर हुन् । उनको कलम गणतन्त्रको रक्षाकवच बन्न पुगेको देखिन्छ ।

गणतन्त्रवादी भएकै कारणले उनले आफ्नो जागिर पनि गुमाउन पुगेको छन् । सन् १६६० मा आफ्ना आँखा गुमाएका उनको चर्चित कृति ‘प्याराडाइज लस्ट’को पहिलो प्रकाशन सन् १६६४ मा भयो । ‘प्याराडाइज लस्ट’ ब्रिटेनको तात्कालिन समग्र राजनीतिक इतिहासको प्रतीकात्मक दस्तावेज बन्न पुगेको छ । क्रान्तिको असफलताको चित्रण कृतिमा गरिएको छ । वैचारिक आस्थाका कारण मिल्टनले भोग्नुपरेको संघर्षको प्रतिबिम्ब पनि यो महाकाव्यमा आएको मानिन्छ । मिल्टनलाई ब्रिटेनका शेक्सपियरपछिका सबैभन्दा महत्वपूर्ण कविका रुपमा लिइन्छ । उनको मृत्यु १६७४ मा लन्डनमै भयो ।

ङ गेटे

आइस्टाइन, माक्र्स र फ्रायड जस्ता विश्वचर्चित व्यक्तिहरुको जन्मस्थान रहेको जर्मनीका महाकवि हुन्, जोहान उल्फगाङ् भान गेटे । गेटे होमर, दाँते र शेक्सपियरजस्तै प्रसिद्ध छन् । बहुमुखी प्रतिभाका धनी उनी कवि, नाटककार, उपन्यासकार, आलोचक, दार्शनिक, वैज्ञानिक, चित्रकार आदि थिए । गेटेको जन्म सन् १७४९ अगस्त २८ तारिखका दिन जर्मनीको फ्रयाङ्फर्ट नगरका भएको थियो । उनको जन्म शिक्षित र धनी परिवारमा भएको थियो । उनका बाबु वकिल थिए भने आमा कथा सुनाउन औधी रुचाउँथिइन् ।

पारिवारिक वातावरण शिक्षित र साहित्यिक भएकाले गेटेले भाषा साहित्यप्रतिको रुचि सानैदेखि बढाउने अवसर पाए । उनी सानै छँदा उनको नगर फ्रायङ्फर्ट फ्रान्सेलीहरुको आधिपत्यमा परेको थियो । सोही आधिपत्यका कारण फ्रान्सेली नाट्यकलाबाट समेत प्रभावित हुन पुगे । त्यसैले उनका प्रारम्भिक नाटकहरु फ्रान्सेली नौलो शास्वतवादबाट पूर्ण रुपले प्रभावित छन् । (शर्मा ः २०६२, पृ.४४) १६ वर्षको उमेरमा गेटे लाइप्त्सिक विश्वविद्यालयमा ऐन पढ्नका लागि भर्ना भए तर उनी भने ऐनका पाठ्यपुस्तक नपढेर साहित्यिक रचनाहरु रच्थे । यही समयमै उनले ‘फाउस्ट’ भन्ने कृति रचनाको सुरुवात गरे । यो कृति पुरा गर्न उनलाई पचास साठी वर्ष लाग्यो । यो उमेरमा उनको दुई बानी थिए ः कविता लेख्ने र प्रेममा फस्ने । आत्मपरकता उनका कृृतिको विशेषता बनेको पाइन्छ ।

१७७१ मा उनको श्ट्रास्र्बुकमा जर्मनका दार्शनिक, कवि तथा प्रगतिशील देशभक्त हेर्डरसँग भेट भयो । हेर्डरले उनलाई साहित्यिक परम्परा र लोककवितासँग परिचय गराउँदै साहित्यमा भावनाको इमान्दारिता र जीवनको सम्पूर्णता व्यक्त हुनुपर्ने कुराको बोध गराए । हेर्डरकै प्रभावमा लेख्न थालेपछि गेटे ‘स्टुर्म् उन्ट ड्राङ’ (आँधी र जोड) भन्ने साहित्यिक आन्दोलनको नेता बनेर फ्रान्सेली शास्वतवादबाट मुक्त भई स्वच्छन्दतावादी रचना लेख्न थाले । गेटेको ‘तन्नेरी भेर्टरका व्यथाहरु’ शीर्षकको चर्चित उपन्यास यसैको उदाहरण बन्न पुग्यो । उनले प्रशस्त प्रेमविषयक कविताहरु पनि लेखे ।

सन् १७७५ मा उनी भाइमारका राजाका निम्तोमा त्यहाँ पुगे । केही दिनका लागि गएका उनले पछि त्यही बस्ने निधो गरे । झण्डै दश वर्ष त्यो देशको प्रशासनिक निकायमा समेत बसेर कार्य गरेका उनी त्यसपछि इटाली लागे । इटालीको भ्रमणपश्चात् उनी भाइमारको स्वच्छन्दतावादी भावुकता र आवेगबाट मुक्त हुँदै पुनः फ्रान्सेली शास्वतवादतर्फ उन्मुख भए । यसबेलाका उनका रचनामा ‘रुपको लयात्मकता र मानसिक शान्ति’ पाइन्छ । उनले इटालीमा ‘टकर््िवटो टासो’ नामक नाटक लेखे । यो इटालेली कविलाई आधार मानेर लेखिएको नाटक थियो ।

१७९० मा गेटेले आफ्नो महान् रचना ‘फाउस्ट’को एक टुक्रा छापे, जसको पहिलो भाग सन् १८०८ र दोस्रो भाग १८३२ मा प्रकाशित भयो । यसपछि उनको भेटे शिलरसँग भयो । उनीसँग मिलेर गेटेले एक पत्रिका पनि चलाए भने आफ्नो विचारलाई परिष्कृत र सन्तुलित पनि तुल्याइराखे । पछिल्ला वर्षहरुमा गेटेले कविता, आत्मकथा र गीतिकविताहरु पनि रचना गरे । गेटेको मृत्यु त्रियासी वर्षको उमेरमा १८३२ मार्च २२ मा जर्मनीको भाइमार भन्ने ठाउँमा भयो ।

च. वाग्नर

विलियम रिचार्ड वाग्नर जर्मनीका एक महान् संगीतकार मात्र नभएर पश्चिमी आधुनिक संगीतका जन्मदाता पनि हुन् । उनको ‘त्रिस्तान उड इजोल्ड’ भन्ने पुस्तकबाट पाश्चात्य आधुनिक संगीतको सुरुवात भएको हो । उनको जन्म सन् १८१३ मे २२ मा जर्मनीको लाइप्त्सिकमा भएको हो । उनी नाट्य निर्देशक तथा संगीतकर्मी हुन् । वाग्नरले ओपेरा (गीति नाटक) का क्षेत्रमा महत्वपूर्ण योगदान दिएको मानिन्छ । उनले ओपेराका माध्यमबाटै कलासाहित्यका क्षेत्रमा संगीतको समेत प्रवेश गराए ।

अर्थात वाग्नरले कला र संगीतलाई एक आपसमा जोड्ने काममा सफलता पाए । साहित्यकलाका क्षेत्रमा संगीतलाई भित्र्याउन उनले ओपेरालाई माध्यम बनाए । वाग्नर एक वर्ष पनि नपुग्दै उनका बाबु मरे । बाबु मरेपछि उनकी आमा उनका बाबुका साथी लुडविग गेअरसँग बस्न थालिन् । गेअर लेखक तथा अभिनेता थिए, जसको प्रत्यक्ष प्रभाव र प्रेरणा वाग्नरले प्राप्त गरेर आफूलाई नाटकका क्षेत्रमा प्रवेश गराए । वाग्नर संगीतकर्मी पनि हुन् । उनले पश्चिमी आधुनिक संगीतकै जग बसाले । उनको मृत्यु १८८३ फेब्रुअरी १३ तारिखका दिन भयो ।

छ. टिसियन

टिसियन इटालीका चर्चित चित्रकार हुन् । उनको समय पश्चिमेली पुर्नजागरण कालको मानिन्छ । उनको जन्म इटालीको भिनिटो क्षेत्रमा पर्ने बेलुनोमा भएको हो । उनको जन्म ठ्याक्कै यही समयमा भएको हो भनेर मिति किटान गर्न नसकिए पनि सन् १४८८ देखि १४९० का बीचको कुनै वर्ष भएको अनुमान लगाइन्छ । उनको इटालेली नाम टिजियानो भिसिलिओ (TiZiano Vecellio) हो भने अङ्ग्रेजी नाम टिसियन हो । उनी नौ/दश वर्षको उमेरमा निकै सम्पन्न देश गणतान्त्रिक भेनिस गएका थिए । त्यहाँ टिसियनलाई उनका दुई दाजुहरुले कसरी चित्र कोर्ने भन्ने बारेमा सिकाए । दाजुहरुको प्रेरणाबाट चित्रकारितामा लागेका टिसियन सन् १५१३ मा आइपुग्दा युरोपभर एक सफल चित्रकारका रुपमा स्थापित भइसकेका थिए ।

त्यहाँ चाल्र्स पाचांैका समयमा चित्रकारकै रुपमा उनले सरकारी जागिर र सम्पति समेत प्राप्त गरेका थिए । सन् १५४५ मा पोपले उनलाई रोम आमन्त्रण गरे । टिसियन चित्रकारितामा प्रख्यात भएका कारण मानिसहरुले उनलाई ‘साना ताराहरु माझका सूर्य’ भन्ने उपमा दिएका थिए । उनले आफ्नो जीवनकालमा छ सयभन्दा बढी चित्रहरु कोरे । उनी आफ्नो समयका एक बहुमुखी प्रकृतिका चित्रकार हुन् । उनका चित्रकारितामा परिवेश, चित्र, पृष्ठभूमि, विषयवस्तु वा भाव आदिको समान उपस्थिति रहेको पाइन्छ ।

मिथक तथा धार्मिक क्रियाक्लापलाई अभिव्यिक्ति दिने भावलाई प्रस्तुत गर्नु उनको कलाकारिताको विशेषता थियो । उनको चित्र कोर्ने र रङ्गको विशिष्ट प्रयोग गर्ने शैलीले केवल इटालीको भावी चित्रकारितालाई मात्र प्रभाव पारेन, पूरै पश्चिमी चित्रकलाका क्षेत्रमा समेत गहिरो प्रभाव पारेको मानिन्छ । त्यसैले उनी संसार चर्चित बन्न पुगे । उनले आफ्नो प्रौढ जीवनमा चित्र कोर्ने तौरतरिकामा निकै परिवर्तन ल्याए पनि रङ्गसँगको उनको मोह भने घटेको थिएन । उनको मृत्यु करिब ८८ वर्षको बुढ्यौली उमेरमा सन् १५७६ मा भएको हो ।

ज. टर्नर

टर्नरको पूरा नाम राल्फ लिले टर्नर हो । उनको जन्म सन् १८८८ अक्टुबर ५ मा बेलायतमा भएको थियो । उनी भाषाविद् हुन् र उनका इन्डो–आर्यन भाषासँग सम्बन्धित तुलनात्मक शब्दकोशहरु प्रकाशित छन् । त्यसो त उनी रोमन भाषाका पनि विज्ञ हुन् । सन् १९१३ मा उनले ‘क्वीन कलेज वनारस’मा लेक्चररका रुपमा काम थाले । त्यसो त उनले शिक्षामा मात्र नभएर सैनिक सेवामा पनि काम गरेको देखिन्छ । उनले १९१५ देखि १९१९ सम्म गोर्खा राइफल्समा काम गरेका थिए ।

त्यसपछि पुनः विश्वविद्यालयमै सेवामै फर्किए । सन् १९२० देखि १९२२ सम्म वनारस हिन्दु विश्वविद्यालयका प्राध्यापकका रुपमा कार्यरत रहे । त्यसपछि उनले संस्कृत भाषाका प्राध्यापकका रुपमा लन्डन विश्वविद्यालयमा काम गर्न थाले । उनको नेपाली भाषासँग सम्बन्धित शब्दकोश A Comparative and Etymological of Nepali Language प्रकाशित छ । नेपाली भाषाको पहिलो बृहत्तर भाषावैज्ञानिक यस कोशमा २६ हजार मात्र नेपाली शब्दहरु समाविष्ट भए पनि तिनको पूर्ण र साङ्गोपाङ्गो कोशवैज्ञानिक अध्ययन गरिएको छ । (शर्मा र लुइटेल, २०६०, पृ.२८१) टर्नरको मृत्यु सन् १९८३ अप्रिल २२ मा भयो ।

झ. सोक्रेटिज

सुकरात पनि भनिने सोक्रेटिज प्राचीन गिस्रेली दार्शनिक प्लेटोका पनि गुरु हुन् । उनको जन्म इशापूर्व ४६९ भएको मानिन्छ । उनका कुनै पनि कृति उपलब्ध छैनन् तर गिस्रेली गुरु शिष्य परम्परामा सोक्रेटिजका शिष्य प्लेटोले आफ्नो संवादात्मक कृति ‘इयन’मा गुरुका विचारलाई प्रस्तुत गरेका छन् । ईशापूर्व चोथौ पाँचौ शताब्दीतिर ललितकला तथा साहित्यको निकै समृद्ध परम्परा भए पनि वाङ्मय अन्तर्गत पर्ने ज्ञान विज्ञानका शाखाहरुमा खास बौद्धिक परम्परा सुढृढ नभएको ग्रीसमा सत्यको खोजी र बौद्धिक क्रान्तिका अगुवाका रुपमा सोक्रेटिज देखापरे ।

(त्रिपाठी, २०५८, पृ.१४) यसबाट के बुझिन्छ भने सोक्रेटिजको समयमा ग्रीसमा कला साहित्य परम्परा आफूमा समृद्ध थियो तर समालोचनाको उदय भने भइसकेको थिएन । समालोचनाको पृष्ठभूमि निर्माण गर्ने काम सोक्रेटिजनै गरे । उनले नै मानवीय चेतनाको विकासका लागि केवल साहित्य अपर्याप्त हुने मान्यता अघि सार्दै बौद्धिक चिन्तनको सुरुवात पनि गरेको देखिन्छ । सोक्रेटिजले कला साहित्यलाई दैवी प्रेरणा वा उन्मादका क्षणमा कविले रचना गर्ने हुँदा सत्यताभन्दा टाढा हुने बताएका छन् ।

त्यसकारण यो बुद्धि वा विवेक विपरीतको हुन्छ । प्लेटोले पनि सोक्रेटिजका मान्यतालाई सकारेको पाइन्छ र उनी पनि आवेगभन्दा विवेककै पक्षमा देखिन्छन् । यसरी प्राचीन ग्रिसेली दार्शनिक सोक्रेटिजले ग्रिसेली कला साहित्य मानदण्ड निर्धारणको सुरुवात कला साहित्यको क्षेत्रमा बौद्धिकताको सूत्रपात गरे । अर्थात कला साहित्य कस्तो हुनुपर्छ भन्ने कुराको चिन्तन सोक्रेटिजबाट सुरु भयो । दार्शनिक सोक्रेटिजको मृत्यु ईशापूर्व ३९९ मा भएको मानिन्छ ।

(ञ) सान्डो

सान्डोको वास्तविक नाम फ्रेडिरिक विलियम मुलर हो । तर उनी खेलकुदका क्षेत्रमा भने युगेन सान्डोका नामले विख्यात भए । सान्डो ‘बडी बिल्डर’ हुन्, उनीबाट नै आधुनिक शारीरिक सुगठनसम्बन्धी खेलको विकास भएको मानिन्छ । सान्डोको जन्म प्युरेसिया अर्थात हालको रसियामा सन् १८६७ अप्रिल २ का दिन भएको हो । उनका बाबु जर्मन र आमा रसियन थिए । सान्डो १८८५ मा प्युरेसियाबाट युरोप आए अनि एथ्लेटिस्कमा चर्चित बने । ब्रसेल्समा शारीरिक सुगठनका लागि जिम जान्थे ।

सन् १८८९ मा लन्डन पुगेका सान्डोले राष्ट्रिय सुगठन सम्बन्धी खेलमा भाग लिई त्यसको च्याम्पियन बने । त्यसपछि उनको ख्याति लन्डनभर फैलियो । त्यहाँ उनले दर्शकको माग बमोजिम आफ्नौ खेलकला तथा शारीरिक प्रर्दशन गरे । सन् १८९३ मा विश्व कोलम्बियन च्याम्पियनसिप भएको थियो । यो च्याम्पियनसिप क्रिस्टोफर कोलम्बसले नयाँ मुलुक पत्ता लगाएको चार सय वर्षको उपलक्ष्यमा आयोजना गरिएको थियो । त्यो प्रतियोगितामा सान्डोले शारीरिक प्रर्दशनीको प्रस्तुतीकरण गरी चम्किन सफल भए । पछि उनले त्यस्तो प्रस्तुति क्यालिफोर्नियामा पनि दिए ।

सान्डोको शरीर ग्रिक र रोमका मूर्तिहरुजस्तै थियो, जसले मानिसहरुलाई आश्चर्यचकित तुल्याउँथ्यो । उनको शारीरिक सुगठनलाई लिएर फिल्महरु पनि बने । अमेरिकाबाट फर्केपछि सान्डोले शारीरिक सुगठनका विषयमा कक्षाहरु पनि दिए भने पछि गएर मासिक रुपमा लेखहरु पनि लेखे । भित्री पोसाकका रुपमा लगाइने स्यान्डो टिसर्ट पनि उनकै नामबाट विकसित भएको मानिन्छ । सान्डोको मृत्यु १९२५ अक्टुबर १४ मा ५८ वर्षको उमेरमा ब्रेन ह्यामरेजका कारण भएको मानिन्छ ।

(ट) हेलेन केलर

संसारका फरक क्षमता अर्थात अपाङ्गहरुका लागि प्रेरणाकी स्रोत हुन्, चर्चित अमेरिकी लेखिका हेलेन केलेर । त्यसो त उनी लेखिका मात्र होइनन्, राजनीतिक नेतृ, सीमान्ककृतहरुका आवाज बुलन्द गर्ने अधिकारकर्मी र प्राध्यापक समेत हुन् । जन्मेको १९ महिनामा लागेको एक अज्ञात रोगका कारण उनले आफ्ना दुवै आँखाको ज्योति र कानको श्रवण शक्ति गुमाएकी थिइन् । तर निरन्तर अध्ययन र संघर्षको परिणाम उनी पछि गएर विश्वचर्चित लेखिका, राजनीतिकर्मी र प्राध्यापक पुगिन् । केलरले संसारका मजदुर, महिला, गैरसैनिक नागरिक, अपांगहरुको अधिकारको पक्षमा आवाज उठाइन् ।

उनी अमेरिकाको समाजवादी पार्टीकी नेतृ थिइन् भने विश्व औद्योगिक संगठनको समेत सदस्य थिइन् । अन्य संघ संस्थासँग समेत उनको आबद्धता थियो । केलरको जन्म २७ जुन १८८० मा अमेरिकाको अल्बामामा भएको थियो । १९ महिनामै आफ्ना दुवै आँखाको ज्योति र दुवै कानको श्रवणशक्ति गुमाएकी केलरलाई सुरुमा ६ वर्षकी उनकी दिदीले सहयोग गर्दथिन् । आँखा र कानको क्षमता गुमाए पछि उनले घरायसी व्यवाहरका लागि संकेतहरुको प्रयोग गर्न थालिन् । ६ वर्षको उमेरमा उनले घरायसी व्यवाहरका लागि ६० वटा जति संकेत प्रयोग गर्न थालिन् । पछि उनकी आमाले चाल्र्स डिकेन्सको आँखा नदेख्ने र कान नसुन्ने एक महिलाको शैक्षिक सफलताका बारेमा लेखिएको एक लेख पढेपछि केलरलाई पनि शिक्षा दिने उपायको खोजी परिवारले गर्न थालेको देखिन्छ । त्यसक्रममा १८९४ मा केलरलाई विद्यालय भर्ना गरियो । सानै उमेरदेखि उनकी सहयोगी शिक्षिका अन्ना सुलिभान थिइन् । सन् १९०४ मा केलरले स्नातक पूरा गरिन् । उनी फरक क्षमता भएकाहरु मध्ये संसारकी पहिलो स्नातक हुन् ।

केलरको साहित्यिक प्रतिभा अष्ट्रेलियाका दार्शनिक तथा शिक्षाविद् विल्लेहम जेरुसेलमसँगको पत्राचारबाट खुलेको थियो । अरुहरुसँग कुराकानी गर्ने क्षमता आर्जन गरेपछि उनको अधिकांश समय भाषण तथा व्याख्यानमा बित्न थाल्यो । फ्रि इन्साइक्लोपेडियामा उल्लेख गरिए अनुसार उनका १२ वटा पुस्तककार कृतिहरु प्रकाशित छन् भने भने अनेकौं लेखहरु प्रकाशित छन् । उनको पहिलो कृति दि फरस्ट किङ हो । यो कृतिमाथि चोरीको आरोप समेत लागेको थियो । केलरले यो कृति ११ वर्षको उमेरमा लेखेकी थिइन् ।

त्यस्तै उनका अन्य कृतिहरुमा ‘दि स्टोरी अफ माइ लाइफ’ (आत्मकथा), ‘दि वल्र्ड आइ लिभ इन’, ‘माइ रिलिजन’, ‘लाइट इन माइ डार्कनेस’ लगायतका छन् । उनको मृत्यु सन् १९६८ जुन १ का दिन भयो । उनको जन्मदिन जून २७ लाई अमेरिकी सरकारले हेलेन केलर डे का रुपमा मनाउँदै आएको छ ।

(ठ) सावित्री

मदनमणि दीक्षितको ‘श्रीः शास्वत नारी’मा उद्धृत गरिएको ‘महाभारत’को कथा अनुसार सावित्री मद्र देशका राजा अश्वपति र तिनकी रानी मालतीकी छोरी हुन् । सावित्री यौवनवस्थामा पुग्दा नपुग्दै अति देदीप्यमान सुन्दरी थिइन्, त्यसैले उनीसँग बिहे गर्न कुनै पनि राजकुमारले साहस गर्न सकेनन् । त्यसकारण उनका बाबुले आफ्नो श्रीमान् खोज्नका लागि सावित्रीलाई आज्ञा दिए । बाबुको आज्ञा अनुसार उनी श्रीमान् खोज्दै शाल्व देश पुगिन्, जहाँ आफ्नो राज्य गुमाएर द्युमत्सेन परिवारका साथ वनमा बसेका थिए ।

उनी राजा हुँदा नै उनका एक छोरा थिए । उनी पनि आफ्ना बाबुआमाका साथ त्यही वनमा हुर्कदै थिए । घोडा मन पराई घोडाका चित्र कोर्ने हुँदा बालकको नाम चित्राश्व राखिएको थियो । सावित्रीले चित्राश्वलाई आफ्नो पति बनाउने निर्णय गरिन् । चित्राश्वकी आमा सत्यवादी र चित्राश्व स्वयं पनि सत्यवादी भएकाले मानिसहरुले उनको नाम सत्यवान् राखेका थिए । सावित्रीले आफ्नो निर्णय बाबु अश्वपतिलाई सुनाउँदा क्रृषि नारदसँगै थिए । नारदले उक्त युवक अनेक गुणहरुले युक्त भए पनि अल्पायुको भएकाले उसको आयु अब एक वर्ष भएको बताइदिए । अल्पायु भएकाले अश्वपतिले छोरी सावित्रीलाई अर्को पति खोज्न आग्रह गरे तर सावित्री आफ्नो निर्णय बदल्न तयार भइनन् । अन्ततः सावित्रीको बिहे सत्यवान्सँग नै भयो ।

सावित्रीले नारदको मुखबाट सत्यवान्को आयुका बारेमा थाहा पाएकाले निकै सचेत थिइन्, उनको मृत्युका बारेमा । वर्षदिन पुग्न चार दिन बाँकी रहँदादेखि उनले निराहार व्रत थालिन् । व्रतको चौथो दिन पनि सूर्यास्तपछि मात्र आफूले भोजन ग्रहण गर्ने कुरा सावित्रीले आफ्ना ससुरालाई बताइरहेका बेला सत्यवान् दाउरा काट्न भनेर बञ्चरो लिई वनतिर लाग्न थाले तर सावित्रीले उनलाई एक्लै वन जान दिइनन् । आफू पनि पतिसँगै वन जान ससुरासँग अनुमति मागिन् । सावित्री आशंका र त्रासका कारण सत्यवान्लाई एक्लै वन जान नदिई आफू पछि लागेकी थिइन् । दाउरा काट्दा काट्दै पसिनाले निथु्रंक्क भिजेका सत्यवान् अस्वस्थ भई पल्टन लागे ।

त्यसरी पल्टन लागेका पतिलाई सावित्रीले आफ्नो काखमा सुताइन् । आफ्नो काखमा सुतेका पतिको प्राणहरण गर्न स्वयम् यमराज आएको सावित्रीले चाल पाइन् । त्यसपछि पतिको टाउको भूईंमा राखेर उनी यमराजसँग कुरा गर्न थालिन् । यमराजले सत्यवान्को प्राण खिचेर लिई हिडे । सावित्री पछि लागिन् । सावित्रीले पति सत्यवान्को चरित्र, आफ्ना ससुराको अवस्था, आफ्नो सौभाग्यको कुरा बताएर पति फिर्ता गरिदिन यमराजसित अनुनय गरिन् । तर यमराजले मृत्यु टार्न सम्भव छैन भनेर सावित्रीलाई फर्कन अनुरोध गरे पनि सावित्री मानिनन् ।

सावित्रीका कुराबाट प्रभावित भएर यमराजले वर माग्न भने । सावित्रीले सय वटा छोरा पाउने वर मागिन् । यमराजले वर दिए । सावित्रीले आफ्ना पतिलाई फिर्ता नगरि दिए कसरी छोरा जन्मछन् भनेपछि यमराजलाई वचनमा चुकेको थाहा भयो । अन्ततः उनले सत्यवान्लाई फिर्ता गरिदिए । त्यसपछि सावित्रीले सत्यवान्को शिर आफ्नो काखमा लिइन् । सत्यवान् उनकै काखमा ब्यँुझिए । (दीक्षित ः २०६६, पृ.१७१) सावित्रीले वनमा भएको घटना अर्को दिन आफ्ना सासु, ससुरा र श्रीमान्लाई बताएकी थिइन् ।

(ड) ठाकुर बाबा

बंगलादेश र भारतका राष्ट्रिय गानका रचियता रवीन्द्रनाथ ठाकुर भारतका कवि, कथाकार, नाटककार, उपन्यासकार, चित्रकार तथा दार्शनिक हुन् । उनी बंगाली साहित्यकार हुन् । उनलाई रवीन्द्रनाथ टैगोरका नामले पनि चिनिन्छ । पाँच वर्षको उमेरबाटै कविता लेख्न थालेर मानिसहरुलाई चकित पार्ने ठाकुर एसियाबाट साहित्यका लागि नोबल पुरस्कार जित्ने पहिलो व्यक्ति पनि हुन् । उनको जन्म सन् १८६१ मे ७ का दिन कलकत्ताको जोडासाँघु भन्ने ठाउँमा शिक्षित र सम्पन्न परिवारमा भएको थियो । शिक्षित परिवार भएकाले ठाकुरको घरमा साहित्य, सङ्गीत र चित्रकला सम्बन्धी गतिविधि हुन्थे ।

घरका त्यस्ता गतिविधिहरुमा गहिरो चाख राखेको परिवारले थाहा पाए पछि उनलाई घरमै पढ्ने र सङ्गीत सिक्न सक्ने व्यवस्था मिलाएको थियो । एघार वर्षकै उमेरमा ठाकुरले ‘पृथ्वी पराजय’ नामको नाटक लेखे भने चौध वर्षको उमेरमा ‘वनफूल’ नामको कविता पनि लेखी मानिसहरुलाई विस्मित पारिदिए । यसरी उनले आफ्नो साहित्यिक प्रतिभाको परिचय दिए । केही समय लन्डनमा अध्ययन गरेर फर्किएपछि आफ्ना दाजुसँग मिलेर उनले ‘भारती’ पत्रिकाको सम्पादन गरे भने भाउजूको प्रेरणामा बाल पत्रिका पनि निकाले । असमायिक रुपमा आमा, भाउजू, श्रीमती, छोरी लगायतलाई गुमाउन पुगेका ठाकुरले आफूलाई सम्हालेर साधनामा लगाइरहे ।

सन् १९०१ मा उनले स्थापना शान्ति निकेतन नामको विद्यालय उनकै जीवनकालमा विश्वविद्यालय बन्न पुग्यो । उनको ‘गीताञ्जली’ नामको कविता कृति निकै चर्चित छ । यसमा उनले प्रकृतिको आन्तरिक र बाह्य सौन्दर्यको चित्रण गर्दै प्रकृति, ईश्वर र मानवका बीचमा घनिष्ट सम्बन्ध देखाएका छन् । यो कृति उनी स्वयंले अङ्ग्रेजीमा समेत अनुवाद गरे । यही कृतिले नै सन् १९१३ नोबल साहित्यिक पुरस्कार जित्यो । उनले दार्शनिक नाटक, छोटा कथा, उपन्यास, गीत, निबन्ध आदि लेखेका छन् । स्वतन्त्रता सङ्ग्रामका योद्धा समेत रहेका ठाकुरका कृतिमा प्रकृति, ईश्वर र मानवको सम्बन्धलाई देखाइएको हुन्छ । उनको मृत्यु १९४१ अगस्ट ७ मा कोलकत्तामा नै भयो ।

३. निष्कर्ष

देवकोटाले ‘के नेपाल सानो छ ?’ संसारका उल्लिखित ख्यातिप्राप्त इतिहासकार, साहित्यकार, संगीतकार, चित्रकार, कुस्तीबाजहरु जस्ता मानिसहरु नेपालमै पनि छन् । तिनीहरु उचित अवसर नपाएर प्रकाशमा आउन सकेका छैनन् । त्यसकारण नेपाल कुनै पनि तरिकाले सानो छैन भन्ने कुरालाई पुष्टि गर्न चर्चित चर्चित मानिसहरुका नामलाई आफ्नो निबन्धमा प्रयोग गरेका छन् ।