प्रधानमन्त्री ओलीले उद्‌घाटन गरेका तर सञ्चालनमा नआएका पाँच काम

मेची पुल उद्घाटन

निर्माण सम्पन्न भएपछि देशका कार्यकारी प्रमुखले उ‌द्घाटन गरेका त्यस्ता निर्मित संरचना नियमित काममा आउँछन् भन्ने सर्वसाधारणलाई लागेको हुन्छ।

कार्यकारी प्रमुखले उ‌द्घाटन गरेको मात्र नभई सम्पन्न भएका विकासका संरचना सञ्चालनमा आउनै पर्छ।

नेपालमा भने त्यस्ता धेरै संरचना छन् जहाँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगेर उ‌द्घाटन गराइएका छन् तर काममा भने करिब एक वर्ष पुग्न लाग्दा पनि आउन सकेका छैनन्।

प्रधानमन्त्री ओलीले उ‌द्घाटन गरेका तर काममा नआएका विकासका कामहरूः

बिजुली बस

१. काठमाण्डूमा उ‌द्घाटन गरिएका बिजुली बस

गत वर्ष कार्तिक ६ गते लुम्बिनीमा सञ्चालन गर्नका लागि भनेर ल्याइएका बिजुली बसको उ‌द्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए।

उनले ‌उ्दघाटन मात्र गरेनन् त्यही बसमा चढेर सिंहदरबारको यात्रा पनि गरेका थिए।

तर तिनै बस अहिले थन्किएर बसेका छन्।

ती बस एशियाली विकास ब्याङ्कको सहयोगमा खरिद गरिएका हुन्।

पर्यटन मन्त्रालयका अनुसार ती बस गुणस्तरीय छैनन्।

मन्त्रालयका उपसचिव गोपीचन्द्र भण्डारीका अनुसार बसका पार्टपुर्जा र ‘बडी’ फरक/फरक देशमा बनेको पाइएकोले ती बस सञ्चालन गर्ने पक्षमा मन्त्रालय छैन।

उनले भने, ‘हामी बस नै फिर्ता लगेर अरू गुणस्तरका बस ल्याउनुपर्छ भन्दा ठेकेदारले मर्मत गरिदिन्छु भनेकाले कुरा मिलेको छैन।’

मन्त्रालयले खोजेको गुणस्तरका बस ल्याउन नसकेको अवस्था ठेक्का तोड्ने मनस्थितिमा मन्त्रालय पुगेको बताइएको छ।

मन्त्रालयका अनुसार अहिले त्यस्ता पाँचवटा बस ग्यारेजमा थन्किएका छन्।

मन्लालयले खोजेको गुणस्तरको बसको मूल्य करिब डेढ करोड नेपाली रुपैयाँ पर्ने मन्त्रालयका उपसचिव भण्डारीले बताए।

२. विराटनगर नजिकको कृषि बजार

विराटनगरनजिक कटहरी गाउँपालिका १ मा बनेको कृषि बजार प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत ३ गते उ‌द्घाटन गरेका थिए।

उनले उ‌द्घाटन गरेको ६ महिना बितिसक्दा पनि उक्त बजार सञ्चालनमा आएको छैन।

स्थानीय जनप्रिय माध्यमिक विद्यालयको ५ बिघा २ धुर जग्गामा १३ करोड ७६ लाख ५४ हजार ७ सय १० रुपैयाँ लागतमा उक्त बजार निर्माण भएको हो।

कटहरी गाउँपालिका कार्यालयका अनुसार उक्त बजार कस्ले सञ्चालन गर्ने भन्ने विषय नै टुङ्गो लागेको छैन।

गाउँपालिकाकी उपप्रमुख मन्जिताकुमारी सरदारले निर्माण गर्ने कम्पनीले जिम्मा नलगाएका कारण उक्त बजार उ‌द्घाटन भए पनि प्रयोगमा आउन नसकेको बताइन्।

उनले भनिन्, ‘अहिले त त्यो विषयमा चर्चा पनि छैन।’

मेची पुल

३. विराटनगरको बायोग्यास प्लान्ट

गत साल भदौ ५ गते विराटनगरको श्रीकृष्ण गौशालाले निर्माण गरेको बायोग्यास प्लान्ट उ‌द्घाटन गर्दा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘अब घर/घरमा पाइपबाट ग्यास।’

उनले उक्त बायोग्यास प्लान्ट उ‌द्घाटन गरेपछि अन्य कुनै पनि घरमा ग्यास जडान भएको छैन।

उ‌द्घाटनका बेला ३२ घरमा उक्त प्लान्टबाट ग्यास जडान गरिएको थियो।

अहिले पनि त्यति नै रहेको गौशालाका अध्यक्ष शङ्करलाल अग्रवालले बताए।

उनले भने, ‘हामीले जे सोचेर बायोग्यास उ‌द्घाटन प्रधानमन्त्री ओलीबाट गरायौँ। सो अनुसारको काम अगाडि बढेन। जहाँ थियो त्यहीँ छ। हाम्रो क्षमता चाहिँ करिब ७० घरधुरीको हो।’

अग्रवालले सर्वसाधारणले चासो नदिएकाले पनि ग्यास वितरणको प्रक्रिया अगाडि बढ्न नसकेको बताए।

४. भद्रपुरमा बनेको मेची पुल

भारतको पश्चिम बङ्गाल र बिहार तथा पूर्वी दक्षिण झापा जोड्ने भद्रपुरमा मेची नदीमा बनेको पुल गत माघ १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे पनि अहिलेसम्म उक्त पुलमा सवारी सञ्चालन हुन सकेको छैन।

बाइक, टेम्पो तथा हल्का सवारी साधन सञ्चालन भए पनि अन्य ठूला यात्रु तथा मालवाहक सवारी साधन सञ्चालन भएका छैनन्।

३५ करोड ९५ लाख रुपैयाँको लागतमा नौ वर्षमा उक्त पुल बनेको हो।

भारतीय पक्षले पुल जोड्ने करिब ४०० मिटर सडक नबनेको र नेपालतर्फ बन्ने सडकमा मुआब्जा विवाद रहेको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताए।

उनले भने, ‘यस्ता संरचना बन्नलाई धेरै वर्ष लाग्ने गर्छ। त्यसबीचमा बाटो बनाउन सकिन्थ्यो। हाम्रै अदूरदर्शिताका कारण समस्या भयो। प्रधानमन्त्रीले उद्घाटन गर्नुभयो तर सञ्चालन गर्न सकिएन।’

दमकको जनावर बजार

५. प्रधानमन्त्रीकै निर्वाचन क्षेत्रको पशु बजार

प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा बनाइएको पशु बजार उनले नै गत साल चैत्र १८ गते उद्घाटन गरेका थिए।

नयाँ आर्थिक वर्ष शुरू भएर तीन महिना बित्न लाग्दा पनि उक्त बजार सञ्चालनमा आएको छैन।

दमक नगरपालिका वार्ड नं ७ स्थित पशुहाट परिसरमा रहेको करिब १५ करोड लागतमा व्यवस्थित पशुपक्षी बजारका लागि कम्पाउण्ड घेरा गरी बनाइएको भवन तथा अन्य संरचना प्रयोगविहीन छन्।

विश्व ब्याङ्कको सहयोगमा व्यवसायिक कृषि तथा व्यापार आयोजनाले निर्माण गरेको पशु बजार प्रयोगमा आउन ढिलाई भएको मात्रै छैन पशुहाट परिसरबाहिर हरेक बुधवार सडकमा आवागमनमै अवरोध हुने गरि पशुपक्षी किनबेचका लागि राखिँदा सर्वसाधारणको आवागमनमा असहज हुने गरेको छ।

दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सिनाका अनुसार उक्त भवन उद्घाटन भए पनि प्रयोगमा आउनेगरी बनाउन केही काम बाँकी रहेकाले प्रयोगमा ल्याउन नसकिएको हो।

उनले भने, ‘ठेकेदारले पानी निकास, बिजुली जडानलगायत केही काम गर्न बाँकी रहेकाले प्रयोगमा आउन नसकेको हो।’

बिबिसिबाट

Loading...