ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट, गाडी समेत तोडफोड

चितवन, ११ असोज । भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा देखिएका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट भएको छ । चितवनमा आयोजना गरिएको एक कार्यक्रममा गएका शाहीमाथि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताहरुले शाहीमाथि निर्घात कुटपिट गरेका हुन ।

शाही ‘नेपालका लागि नेपाली’ अभियानमा सक्रिए छन । उनले पछिल्लो समय सरकारका विभिन्न तहमा भएका भ्रष्टाचार र बेरुजुहरुको भण्डाफोर गर्दै आएका छन् । यही क्रममा उक्त अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा आयोजना गरेको थियो ।

नेपालका लागि नेपाली अभियानले आयोजना गरेको उक्त खबरदारी सभालाई नेकपाका कार्यकर्ताहरुले विथोलेका छन् । कार्यक्रम विथोल्ने कार्यमा नेकपा समर्थित विद्यार्थीहरुको ठूलो सहमूह सहभागी भएको थियो । उनीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै नारावाजी समेत गरेका थिए । विद्यार्थीहरुले कार्यक्रमको स्टेज भत्काउनुको साथै ब्यानर समेत च्यातिदिएका थिए । 

कार्यक्रम विथोलेपछि उनीहरुले ज्ञानेन्द्र शाहीमाथि कुटपिट गरेका हुन् । स्थिति बिग्रिएपछि शाही चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएका थिए । तर, विद्यार्थीहरुको समूहले उनलाई निर्घात कुटपिट गरी उनको गाडी समेत तोडफोड गरेको छ । आक्रमणमा शाही चढेकाे गाडी क्षतिग्रस्त बनेको छ । शाहीमाथि कुटपिट हुँदै गर्दा प्रहरीले उनको उद्धार गरेको थियो ।

कार्यक्रम विथोल्ने र शाहीमाथि कुटपिट गर्ने कार्यमा सम्लग्न भएका एकजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

Loading...