लामो समयदेखि एउटै तलबमा काम गर्नुपरेको भन्दै विद्यालय कर्मचारी र इसिडी शिक्षक आन्दोलित

नुवाकोट। नुवाकोटका विभिन्न जिल्लामा कार्यरत पूर्वप्राथमिक तहका शिक्षक र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । लामो समयदेखि एउटै तलबमा काम गर्नुपरेको जनाउँदै उनीहरुले तलब बढाउन माग गरेका हुन् ।

सरकारले चालु आर्थिक वर्षदेखि सरकारी कर्मचारीलाई बढाएको २० प्रतिशत तलब नपाएको गुनासो उनीहरुको छ । आन्दोलन अन्तर्गत उनीहरुले विदुरको बट्टारवजारबाट सुरु गरेको र्‍याली शिक्षा विकास तथा समन्वय इकाईमा पुगेर इकाई प्रमुख अर्जुनबहादुर श्रेष्ठलाई तलब बढाउन माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका छन् ।

आन्दोलनमा एकैपटक नुवाकोटमा कार्यरत ३ सयभन्दा बढी बालविकास कार्यकर्ता र विद्यालय कर्मचारीको सहभागिता रहेको थियो । हाल बाल विकास कार्यकर्ताले मासिक ६ हजार र विद्यालय कर्मचारीले मासिक ११ हजार ५ सय तलब पाउदै आएका छन् ।

उनीहरुले श्रम ऐनको सम्मान गर्दै न्यूनतम तलब दिन माग गरेको नेपाल विद्यालय कर्मचारी समितिका संयोजक झंकबहादुर सडौलाले बताए । बालविकास सहयोगी कार्यकर्ता समाजकी जिल्ला अध्यक्ष शोभा अधिकारीले सरकारले अत्यन्त कम तलब सुविधामा काम लगाएर शोषण गरिरहेको गुनासो गरिन् ।

Loading...