जितियाका व्रतार्थीद्वारा नहाय खाय र तेलखरी विधि गरिदैँ

जनकपुरधाम, ३ असोज ९ । मैथिल र थारु समुदायका महिलाको महान् लोक पर्व जितियाको अवसरमा व्रतार्थीले आज नहाय खाय र तेलखरी विधि गरिरहेका छन् ।  सो विधिअन्तर्गत व्रतार्थीहरू जलाशय स्नानादी गरी घिरौलाको पातमा तोरी वा सस्र्यूको तेल र पिना खरी चढाएर जिमुतवाहन देवताको पूजा गर्दछन्, जसलाई तेलखरी भनिन्छ । यो तेलखरी प्रसादस्वरूप घरका सबैले टाउकामा लगाउने गर्दछन् । आजकै दिन सधवाले कोदो मरूवा रोटी र माछा खाने गर्दछन् , जसलाई माछमरूवा भनिन्छ । शाहाकारी हुनेले गम्हरी कोसा भित्रै फल्ने धान को खीर वा भात पनि खने चलन छ ।

नहाय खाय र तेलखरि विधिमा घिरौलाको पातमा नैवेद्य चढाइने गरिन्छ । नैवेद्यमा गहुँको पिठो र गुड सक्कर मिसाएर पकाइएको पकवान, चामल, दाल, दही, च्यूरा, खीर, रोटी, दूध, चीनीजस्ता वस्तुहरू कुलबंश, रीति र परम्परा अनुसार चढाइने गरिन्छ । नैवेद्यमा पान, सुपारी, काँक्रो, केराउ अँकुरी र अक्षत चामल पनि चढाइने गरिन्छ । यसमा चिल र स्यालका भागहरू राखिन्छन् । यसका साथै दिवंगता महिला पितृ वर्गका लागि नैवेद्यका भागहरू राखिने चलन छ ।

सोही तिथिको रातिको अन्तिम पहरमा व्रतार्थी दही, च्यूरा, फल, मिष्ठान आदि खाने गर्दछन्, जसलाई ‘ओठङ्न’ भनिन्छ । यसरी खाइसकेपछि व्रतार्थी जलपात्रमा जल लिई घरको ढोकाको दैलोको छेउमा भित्तामा अडेस लगाएर पानी पिउने गर्दछन् । जितिया व्रत अष्टमी तिथिको व्रत भएकाले अष्टमी तिथि रहुञ्जेलसम्म निराहार बसिन्छ । नवमी तिथिमा स्नानादी गरी पवित्र भई पूर्ववत् जिमुतवाहनलाई नैवेद्य अपर्ण गरी प्रसाद ग्रहण गरिन्छ । यसरी व्रतको पारण गरिन्छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टासम्म निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले यो पर्वलाई कठोर पर्वका रुपमा पनि लिइन्छ ।

पण्डित गणेश झाका अनुसार असोज ३ गते शुकबार तेलखरी, पितराइन र रातिको अन्तिम पहरमा ९४ बजेदखि ५ः३० बजेभित्र ओठङ्न विधि र सूर्योदय भएपछि अष्टमी तिथिमा शनिबार व्रत शुरू भई आइतबार दिउँसो ३ देखि ४ बजेपछि पारण गरिने योग रहेको छ । मिथिला पचाङ्गअनुसार जितियामा प्रदोष व्यापनी अष्टमीको प्रधानता रहेका कारण यो व्रत यसपटक षष्ठी उपरान्त सप्तमीका दिन शुक्रबार रातिको अन्तिम पहरमा गरिने विधि ओठङ्न रहेको छ । पहाडी समुदायका महिलाले दर खाने झैँ मैथिल महिलाले ओठङ्न विधि गर्दछन् ।

जितिया पर्व मैथिल संस्कृततिको पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ । सन्तानको सुखशान्ति र चिरायुका लागि यो पर्व मनाउने चलन छ । जितिया पर्व यसकारणले पनि प्रसिद्ध छ कि यसको नियमपूर्वक पूजा गर्नाले आफ्नो सन्तानको आयु वृद्धि हुने जनविश्वास रहेको छ ।

जिमुतवाहनको पूजा

अष्टमीका दिन व्रतालुले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अर्घ अपर्ण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गर्छन् र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरा लगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । मध्याह्नतिर टोलभरिका महिलाले एक ठाउँमा भेला भएर जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ, जिमुतवाहन देउताका बारेमा एउटी व्रतालु महिलाले कथावाचन गर्छन् र सबैले कथा श्रवण गरेपछि आ–आफ्ना घर फर्किन्छन् । साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरेर एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ ।

त्यो पोखरीको डिलमा पाकडी रुखको सानो हाँगा गाड्नुका साथै हाँगामा माटोकोे चिलको आकृति र हाँगामुनि स्यालको आकृति बनाउँछन् । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रतालु महिलाले पूजापाठ गर्छन् ।

जिमुतवाहन को हुन् ?

भविष्य पुराणमा वर्णन गरेअनुसार शालिवाहन राजाका पुत्र जिमुतवाहन थिए । उनीमाथि महादेवको सीमकृपा रहेकाले नियमनिष्ठाले व्रत गर्ने महिलालाई सन्तान दीर्घायु हुने वरदान भगवान्बाट प्राप्त गरेका थिए ।

चिल र स्यालको पनि पूजा

हिन्दूधर्मको विभिन्न पर्वमा कतिपय चरा र जनावरलाई विशेष महत्व दिएर पूजा गरेर सम्मान दिने परम्परा रहेको छ । सोहीअनुरुप गाई, परेवा, काग, कुकुर, हाँस, बाघ, मुसोलगायतका जनावरको पूजा गरिन्छ भने जितिया पर्वमा चिल र स्यालको पूजा गर्नुपर्ने हुन्छ ।

Loading...