बन्दीपुर ९तनहँु०, २८ भदौ । पदयात्रा पर्यटनमा विश्वव्यापी चासो र चर्चा कमाएको नेपालको हिमाल, पहाड र तराई जोड्ने गरी बुद्ध शान्ति पदमार्गको अवधारणा अघि सारिएको छ । गण्डकी प्रदेशस्थित हिमालपारीको जिल्ला मनाङदेखि प्रदेश नं ५ को बुद्ध जन्मस्थल लुम्बिनीसम्म जोड्ने गरी बुद्धशान्ति पदमार्गको अवधारणा अघि बढाइएको हो ।
हिमाल, पहाड र तराईका साथै आदिकवि भानुभक्त आचार्य, बेदशास्त्रका जन्मदाता महर्षी बेदव्यास र शान्तिका अग्रदूत भगवान् बुद्धको जन्मस्थल जोड्ने गरी सो पदमार्ग सञ्चालनमा ल्याउन लागिएको हो । उक्त पदमार्गअन्तर्गत गण्डकी प्रदेशको मनाङ, तनहुँ, स्याङ्जा, लम्जुङ र प्रदेश नं ५ का पाल्पा तथा रुपन्देही जिल्ला पर्दछन् । मनाङको टिमाङभ्यालीबाट शुरु भई लमजुङ, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको लुम्बिनी पुगेर सकिने यसको लम्बाई करीब ३५० किलोमिटर छ ।
विभिन्न जातजातिको खुला सङ्ग्रहालय जस्तै रहेको पदमार्ग क्षेत्रमा गुरुङ, मगर, नेवार, तामाङ, दुरा, दरै, थारु, मुस्लिम, बाहुन, क्षेत्री, ठकुरी, खाँड, दलितलगायतका जातजाति बस्दछन् । ती जातजातिका संस्कार संस्कृति पनि यस क्षेत्रका पर्यटनका विशिष्टता हुन् । पदमार्गअन्तर्गत तनहुँको ढोरदेखि स्याङ्जाको कोल्मा बराहाचौरसम्म सहस्राब्दी पदमार्गका रुपमा विकास भइसकेको छ भने रानीघाट हुँदै पाल्पा र स्याङ्जालाई जोड्ने रानीमहल ट्रयाकमा पनि पर्यटकको आगमन शुरु भइसकेको छ ।
पदमार्गअन्तर्गत मनाङको चामे, लम्जुङको मस्र्याङ्दी, क्होलासोंथर, बेंसीशहर र सुन्दरबजार, तनहुँको भानु, व्यास, बन्दीपुर, म्याग्दे र शुक्लागण्डकी स्थानीय तह पर्दछन् । त्यस्तै स्याङ्जाका पुतलीबजार, भिरकोट, वालिङ र कालिगण्डकी, पाल्पाको तानसेन, रुपन्देहीको बुटवल र लुम्बिनी स्थानीय तह पर्दछन् । पदमार्ग सम्बन्धमा जानकारी गराउँदै यसको समग्र विकासका लागि राष्ट्रिय, अन्तरराष्ट्रिय, सरकारी एवं गैरसरकारी सङ्घसंस्थाको सहयोग, सहभागिता र प्रतिबद्धता जनाउने उद्देश्यका साथ तनहुँको व्यास नगरपालिकाले सक्रियता अघि बढाएको छ ।
पदमार्गमा पर्ने स्थानीय तहका प्रमुख एवं प्रतिनिधि तथा सरोकारवालालाई बन्दीपुरमा भेला गरी नगरपालिकाले यसको विकासका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय एवं सहकार्यका लागि वातावरण तयार गर्न पहल थालेको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । पदमार्गमा पर्ने स्थानीय तह एवं सरोकारवालाबीच यसको समग्र विकासलाई लक्षित गरी छलफल एवं अन्तक्र्रिया गरिएको उनले बताए ।
प्राकृतिक एवं सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण तथा प्रवद्र्धन गरी ग्रामीण पर्यटन विकासका लागि स्थानीय समुदायको समृद्धि र उनीहरूको जीवनस्तर अघि बढाउन पदमार्ग बहुउपयोगी बन्ने विश्वास लिइएको छ । मध्यनेपाल पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङका अनुसार बुद्धशान्ति पदमार्गको विकासका लागि नेपाल भ्रमण वर्ष सन् २०११ मा जिल्ला प्रशासन कार्यालय तनहुँको आयोजना तथा पर्यटन विकास समितिको समन्वयमा स्थलगत अवलोकन भ्रमण गरिएको थियो ।
जिल्ला विकास समितिको सहयोगमा आव ०७२÷७३ मा तनहुँ र लमजुङको सिमाना कुञ्छा भञ्ज्याङदेखि स्याङ्जाको कोल्मा बराहाचौरसम्म १०९ किमी विस्तृत अध्ययन सम्पन्न भइसकेको गुरुङले जानकारी दिए । जिल्ला विकास समितिकै सक्रियतामा विसं २०७२ असार १८ र १९ गते तनहुँमा बुद्धशान्ति पदमार्गका सम्बन्धमा स्थानीय निकाय अन्तरजिल्ला समन्वय बैठक सम्पन्न भएको थियो ।
सो पदमार्गले नेपालका भौगोलिक प्रदेशलाई मात्र नभई विभिन्न छोटो दूरीका पदमार्गसमेतलाई जोडेको छ । यस पदमार्गमा मनाङ र लम्जुङको नामुङ भञ्ज्याङ पास, बन्दीपुर–दमौली पदमार्ग, दमौली–मानहुँकोट पदमार्ग, सहस्राब्दी पदमार्ग र रानीमहल ट्रयाक जोडिएका छन् । हिमाल, पहाड हुँदै तराई जोड्ने सो पदमार्ग स्वदेशी एवं विदेशी दुवै पर्यटकका लागि आकर्षक गन्तब्य बन्नसक्ने भए पनि यसको निजी क्षेत्रको सहभागिता र सहकार्य अपरिहार्य भएको नेपाल पर्यटन बोर्ड योजना तथा अनुगमन महाशाखाका वरिष्ठ प्रबन्धक लीला बानियाँ बताउछिन् ।
पदमार्गको माथिल्लो भेग विशेष गरी विदेशी पर्यटकको रोजाइमा पर्ने र पहाडी क्षेत्र स्वदेशी आन्तरिक पर्यटकको रोजाइमा पर्नसक्ने देखिएको उनले बताइन् । प्रस्तावित पदमार्गमा निजी क्षेत्रलाई आकर्षित गर्दै लगानीअनुसारको प्रतिफल आउन सक्ने किसिमको वातावरण निर्माण हुनुपर्ने उनको भनाइ छ ।
पदमार्गको योजनाबद्ध कार्यक्रमले गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन वर्ष २०१९ र २०२२ मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यलाई समेत पूरा गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलिया विभिन्न ऐतिहासिक एवं सांस्कृतिकस्थलका साथै हिमालदेखि तराई जोड्ने यो पदमार्गले प्रकृति र संस्कृतिका विविध पक्षलाई समेट्ने बताए ।