अशोकविनायकबाट कमलादीसम्म गणेश रथयात्रा

काठमाडौँ, १७ भदौ । गणेश चतुर्थी पर्वका अवसरमा राष्ट्रिय धर्मसभा नेपालले वसन्तपुरस्थित अशोकविनायकबाट कमलादी गणेशस्थानसम्म गणेश रथयात्रा गरेको छ ।

शङ्ख, घण्टको ध्वनि एवं सांस्कृतिक झाँकीसहित दुःख विनाशक मानिने भगवान् गणेशको रथयात्रा गरिएको हो । विसं २०६५ देखि धर्मसभाले गणेश रथयात्रा शुरु गरेको थियो । भाद्र शुक्ल चतुर्थीका दिन व्रत बसी प्रथम पूजाको अधिकार पाउनुभएका भगवान् गणेशको पूजा गर्ने र पञ्चमीका दिन रथयात्रा गर्ने परम्परा छ ।

धर्मसभाका अध्यक्ष प्रा डा माधवप्रसाद भट्टराईले देशमा शान्तिको कामना एवं समृद्धिको सङ्कल्पले सोमबार विभिन्न मन्दिरमा पुगी संस्थाका तर्फबाट गणेशको पूजा आराधना गरी आज रथयात्रा निकालिएको जानकारी दिए । विसं २०६५ मा धर्मसभाले शुरु गरेपछि उपत्यकालगायत देशभरका गणेश मन्दिरमा रथयात्रा हुन थालेको छ । विसं २०६५ पछि भाद्र शुक्ल चतुर्थीका दिन बृहत्रूपमा पूजा आराधना शुरु भएको छ ।

यस अवसरमा उपत्यकाका सबैजसो गणेश मन्दिर विशेषरूपमा सजाएर महोत्सव गरिएको छ । धर्मसभाले देशमा कुनै पनि प्रकारको विघ्न नहोस्, राष्ट्रमा शान्ति कायम होस् भन्ने कामनाले गणेश रथयात्रा शुरु गरेको जनाएको छ ।

अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधनासहित अघ्र्य दिएर आज बिहानै यस वर्षको गणेश चतुर्थी व्रत समापन गरिएको थियो । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।

यस वर्ष तिथिको घटबढका कारण गणेश चतुर्थी व्रत सोमबार हरितालिका (तीज) कै दिन परेको थियो । यस अवसरमा आज पनि उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजासहित गणेशको जन्म महोत्सव मनाइएको छ । गणेशलाई लड्डु, दुबो, रातो फूललगायत चिज प्रिय लाग्छ भन्ने विश्वास छ ।

भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन तथा सुखशान्तिको कामना गरेका व्रतालुले चतुर्थीका दिन जीवनमा विघ्न नआओस् भनी कामना गर्न गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।

व्रत समापनको दिन मङ्गलबार परेकाले पनि गणेश मन्दिरमा भक्तजनको भीड छ । मङ्गल चतुर्थी पर्व नपरेका बेला पनि मङ्गलबार सबै गणेश मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । मङ्गल चतुर्थीसमेत भनिने यस पर्वका अवसरमा नेवार समुदायले चथा पर्वका रूपमा मनाएका छन् । यस दिन बालबालिकालाई ‘छुस्यामुस्या’ बाँड्ने चलन रहेको छ ।

Loading...