मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री महिलाको मृत्यु

भरतपुर, १५ भदौ । भरतपुरमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं २३ को कुमारीचोकमा ना २२ प ४०३ नम्बरको मोटरसाइकलले सोही ठाउँ बस्ने ६० वर्षीया हरिकला विकलाई ठक्कर दिएको हो । विकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करबाट मोटरसाइकलमा सवार पर्सा जिल्ला औरही–४ का सरेन्द्र चौधरी गम्भीर घाइते भएका छन् । चौधरीको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए ।

यसैबीच पूर्वी चितवनको रत्ननगरमा शनिबार राति ट्रकको ठक्करबाट एक अर्का पैदलयात्रीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नं ४ शिवचोकमा ना७ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्रकको ठक्करबाट ५१ वर्षीय पुरुष व्यक्तिको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । पैदलयात्रीलाई ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ भने मृतक पुरुष व्यक्तिको नाम, थर, वर्तन खुल्न नसकेको प्रहरीले जनाएको छ । मृतक पुरुषको शव भरतपुर अस्पतालमा राखिएको छ । दुर्घटना राति ११ः४० बजे भएको हो ।

Loading...